म्याग्दी/ मुक्तिनाथ दर्शनका लागि आएका भारतीय नागरिकहरु अब दिल्ली ३० घण्टामै पुग्ने भएका छन् । विश्वकै अग्लो स्थानमा रहेको विष्णु भगवानको मन्दिर मुक्तिनाथ धामको दर्शन गर्नका लागि भारतको दिल्लीबाट ३० घण्टामै पुगिने भएपछि पर्यटकहरुका लागि सहज हुने भएको छ ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबाट सोझै भारतको दिल्लीसम्म बस सेवा सञ्चालनमा आएसंगै मुक्तिनाथ दर्शन भारतीय हिन्दूहरुका लागि अझै धेरै सहज भएको हो । बुधवारदेखि मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले हरेक दिन विहान ६ः४५ बजे बेनी कालिपुलबाट बस मार्फत सेवा दिनेछन् । बेनी देखि छुटेको बस स्याङ्जा वालिङ, भैरहवा, अयोध्या, आग्रा हुदै नयाँ दिल्लीसम्म पुग्ने छ । भारतको दिल्लीदेखि बेनी २७ घण्टा र बेनी देखि मुक्तिनाथ पुग्न ३ घण्टा लाग्ने भएकोले भारतीय पर्यटकहरुलाई दिल्लीदेखि मुक्तिनाथ पुग्न सहजता भएको हो ।

बेनी नगरपालिका–८, कालिपुल बसपार्कबाट दिल्ली बस सेवा सुभारम्भ गर्दै बेनी नगरप्रमुख सुरत केसीले जिल्लाको धार्मिक तथा पर्यटन क्षेत्रलाई समेत टेवा पुर्याउने विश्वास गरिएको बताए । म्याग्दीमा रहेका धार्मीक पर्यटकीय स्थलहरु गलेश्वरधाम, पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ र दामोदर कुण्ड दर्शनका लागि आउने भारतीय हिन्दु पर्यटकलाई यस सेवाबाट सहज हुने भएकाले प्रचारप्रसारमा सघाउने प्रमुख केसीको भनाई छ । केसीले म्याग्दी तथा मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न, भारतीय पर्यटकलाई समेत भित्राउन भारतमा गर्ने प्रचारप्रसारमा आफूहरुले पनि सहयोग गर्ने बताए ।

बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछाने, बेनी नगरपालिका ८ का वडा अध्यक्ष तथा वसपार्क व्यवस्थापन समितिका अध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्य, धौलागिरी गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी लगायतको उपस्थिती रहेको थियो । म्याग्दीको बेनीबाट सिधै भारत जाने पहिलो यात्रु मंगला गाउँपालिका वडा नं १ भर्जुलाका उमेश किसानलाई खादा लगाएर गाडीमा पठाइएको थियो । उनलाई आगामी दिनमा पनि दिल्ली यात्रा गर्नु पर्दा हरेक यात्रामा टिकट रकममा २० प्रतिशत छुट दिने यातायात कम्पनिले जनाएको छ । बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु टिकट शुल्क पाँच हजार चार सय रुपैयाँ र नयाँ दिल्लीबाट तीन हजार दुई सय भारु भाडादर निर्धारण गरिएको सृष्टि यातायात प्र्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।
बस सेवाका लागि भारतबाट बेनी आउनेलाई भारतको सरोजनी नगरबाट हरेक दिन साझ ४ बजे छुट्ने छ । आधुनिक सुविधा रहेको बसमा यात्रा गर्ने क्रममा भारतका विभिन्न धार्मिक सहरको समेत अवलोकन गर्न सकिन्छ । छिमेकी जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरम बार्षिक १ लाखभन्दा बढी भारतीय दर्शनका लागि आउने गरेका छन् । म्याग्दीबाट भारत जान यसअगाडी पोखराबाट बस सेवा प्रयोग गर्नुपर्ने बाध्यता थियो । बेनी–दिल्लीको दुरी १४ सय किलोमिटर छ ।





