बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीको दोसल्लेबाट २ करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दीको दोसल्लेबाट २ करोड मूल्य बराबरको सुन्तला बिक्री


  • ढाेरपाटन संवाददाता
  • माघ २२ २०८२, बिहिबार

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब २ दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँमा गतबर्ष सुन्तलाबाट १ करोड ८० लाख भित्रिएको थियो ।

यसपाली दाना कम लागेपनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा आम्दानी भएको दोसल्ले व्यवसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिए । ‘गत वर्षको तुलनामा यसपाली बोटमा २५ प्रतिशत कम दाना लागेको छ,’ उनले भने, ‘बढी मूल्यमा सुन्तला बिक्री भएकाले गत गत वर्षकै हाराहारीमा आम्दानी भएको छ ।’ बढी मूल्य पार्नका लागि माघ महिना लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए ।

दोसल्लेको बगैचाको ६० प्रतिशत सुन्तला बजार पुगिसकेको छ । अझै ४० प्रतिशत सुन्तला बोटमै छ । किसान र ब्यापारीहरुलाई सुन्तला टिपेर, ग्रेडीङ गर्ने र बजार पठाउने चटारो छ । देशका धेरै ठाउँका बगैचा रित्तिएपछि याम सकिने समयमा सुन्तला टिप्न थालेका दोसल्लेका किसानले विगतको तुलनामा राम्रो मूल्य पाएका अगुवा किसान खगबिर पाइजाले बताए ।

अन्यत्रको सुन्तला सकिएकाले ब्यापारिले प्रतिक्रेट ३ हजार दुई सय सम्म मूल्य तिर्न तयार भएका अर्का किसान बिकास श्रेष्ठले बताए । पोखरा र काठमाडौंका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ । दोसल्लेका सबै घरले सुन्तला खेती गरेका छन् । गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइँसराइ गरेकालेसमेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् ।

दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->