आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङको सुन्तला कुवेत पुग्यो

बागलुङको सुन्तला कुवेत पुग्यो

काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको बिहुँकोट साना किसान सहकारीले सुन्तला निर्यात गरेको हो । सहकारीले काठमाण्डौंमा रहेको ‘अल समान इन्टरनेशनल कम्पनी’सँगको साझेदारीमा सुन्तला निर्यात गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०८२, शनिबार

बागलुङ/जिल्लाका किसानले उत्पादन गरेको सुन्तला पहिलोपटक विदेशी बजारमा निर्यात भएको छ । बागलुङको काठेखोला गाउँपालिकामा उत्पादित सुन्तला खाडी मुलुक कुवेत निर्यात भएको हो । काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको बिहुँकोट साना किसान सहकारीले सुन्तला निर्यात गरेको हो । सहकारीले काठमाण्डौंमा रहेको ‘अल समान इन्टरनेशनल कम्पनी’सँगको साझेदारीमा सुन्तला निर्यात गरेको हो ।

पहिलो पटक दुई सय ५० किलो सुन्तला कुवेत पठाईएको सहकारी सचिव देविलाल कँडेल बताए । यहाँको सुन्तला सहकारीले उत्पादन र संकलन गर्ने र कम्पनीले लेवलिङ गरेपछि विदेश पठाउन सहज भएको हो । काठेखोलामा हेफर इन्टरनेशनल नेपाल र बिवाईसी बागलुङ सँगको सहकार्यमा काठेखोला सुन्तला प्रबर्धन परियोजना सञ्चालित छ ।

परियोजनामार्फत सुन्तला उत्पादन, ब्राण्डिङ, लेवलिङ, प्याकेजिङ गरिरहेका यहाँका किसानले स्थानीय बजार, देशका ठुला शहर र विदेशी बजारमा समेत सुन्तला प्रबद्र्धन थालेको काठेखोला–६ बिहुँका किसान यामलाल कँडेल बताए । यहाँको सुन्तला गत वर्षभन्दा बोटमा नै प्रतिकिलो २० रुपैयाँ बढीमा बिक्री भएको छ ।

सहकारीका अध्यक्ष भवानीशंकर कँडेलका अनुसार सहकारीले ८० देखि ९० रुपैयाँ किलोमा खरिद गरेको सुन्तला स्थानीय बजारमा ९० देखि १ सय रुपैयाँ र विदेशी बजारमा त्यहाँकै आधारभुत मुल्यमा बिक्री गरेको छ । पहिले पहिले बोटबाट सुन्तला बिक्री गर्दा किसानले ५० देखि ६० रुपैयाँ मात्र पाउँथे ।

बिहुकोट साना किसान सहकारीमार्फत सञ्चालन भएको परियोजनामा ३ सय ८५ घरधुरी सहभागि छन् । यहाँका किसानले लगाएको ६० हजार सुन्तलाका बोटमध्ये २२ हजार ३ सय ७० बोटले उत्पादन दिने गरेको काठेखोला गाउँपालिकाको तथ्यांकमा उल्लेख छ । सुन्तला उत्पादन र बिक्रीबाट हौसिएका किसानले लगभग १ हजार ७ सय ७८ रोपनीमा सुन्तलाखेती बिस्तार गरिसकेका छन् । यहाँको सुन्तला काठमण्डौंमा रहेको लु लु हाईपर सोनिक सुपरमार्केट र देशका ठुला शहरका तरकारी मण्डीहरुमा पुगेको उनले बताए ।

गत पुसमा सञ्चालन भएको बागलुङ महोत्सवमा मात्रै बिहुँकोट साना किसान सहकारीले ४ टन सुन्तला बिक्री गरेको थियो । सहकारी र समुहमार्फत यहाँका किसानले सुन्तलामा देखिने समस्या सिट्रस फ्लाईको लागि क्षेत्रव्यापी नियन्त्रण कार्यक्रम, पोस्टहार्वेस्ट ह्यान्डलिङ समर्थन कार्यक्रम, एकीकृत बगैंचा व्यवस्थापन कार्यक्रम र बजार पहुँच, प्रवद्र्धन र ब्रान्डिङ कार्यक्रम सञ्चालन गरिरहेका छन् । यस्ता कार्यक्रमले सुन्तलाको गुणस्तर, मुल्य र किसानको आम्दानी सबैमा बृद्धि ल्याउने उनीहरुको विश्वास छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->