बागलुङ (खर्वाङ)/२० रोपनीको सुन्तला बगैंचा । लटरम्म फलेका सुन्तला । दर्जन हाराहारी कामदार । कोही सुन्तलाको ग्रेडिङ गर्दै । कोही सुन्तला ओसार्दै । कोही बोटमै मन्द गीतको तालमा सुन्तला टिप्दै । यी सबै सुन्तलाको जिम्मा लिएका सुवास थापा चाँहि सुन्तला लिन आउँदै गरेको सवारीको प्रतीक्षामा ।
यतिबेला बागलुङको काठेखोला बिहुँ सेरेफेरोका सुन्तला पोखरा, नारायणगढका बजार लैजान ठेकेदारहरु आफ्ना कामदारसहित यहाँ आएका छन् । सुन्तलाका बोट हेरिकन उनीहरुले एक लाखदेखि १५ लाखसम्म रकम किसानलाई बुझाएर सुन्तला बोटबाटै टिपिरहेका छन् ।
काँधमा छड्के बोराको झोला भिरेर स्टिलको भ¥याङको सहायताले बोटमा चढेका ३१ वर्षिय धादिङका सुब्बा तामाङ एघार दिनदेखि काठेखोलाको किम्बोटमा सुन्तला टिप्दैछन् । यो सिजनभर म्याग्दी र बागलुङमाा सुन्तला टिप्न थालेको चाँहि तीन महिना भयो ।
दुबई मलेसियातिर पैसा कमाउन गएका उनी अचेल नेपालका विभिन्न ठाउँमा सुन्तला टिप्न जान्छन् भने कहिले भारतको हिमाचलतिर तरकारी खेती गर्न पुग्छन । अहिले सुन्तला टिपिरहेका सुब्बालाई सुन्तला बगैंचाको जिम्मा लिएका सुवास थापाले खाना बस्नसहित दिनको एक हजार ज्याला दिएका छन् ।
‘मलेसिया तीन वर्ष बसियो । दुबई दुई वर्ष । नेपालमा परिवारसँगै बसेर काम गर्न जति आनन्द विदेशमा छैन,’ सुब्बा भन्छन्,‘वरपरकाले त विदेश जान भन्छन् तर यहीँ काम गरेर महिनाको ३०/३५ हजार कमाई आफ्नै देशमा भएको छ । यसैमा खुसी छु ।’ सुब्बासँगै सुन्तला बगैंचामा भेटिएका ३० वर्षिय आदाम तामाङले पनि दुबई मलेसिया पुगेर दुःख नगरेका होइनन् । तर अहिले उनी वर्षभरि नै पूरै व्यस्त छन् । सुब्बाका छिमेकी पनि रहेका उनले दुई वर्ष बढी समय दुबईमा र मलेसिया बिताएका छन् ।
‘विदेशमा त दुखै बढी । कामको लोड मात्रै । नेपालमा आफ्ना साथीभाईसित रमाइलो गर्दै काम गर्दा काम गरेको जस्तो लाग्दैन रमाईलोमै काम सकिन्छ,’ उनले भने ‘मंसिरबाट माघ अन्तिमसम्म सुन्तला टिप्यो । फागुनमा ट्रेकिङ् गाइड भएर पर्यटकसंगै समय बिताएर चैतमा भारतमा तरकारी खेती गर्न जान्छु । अनि फेरी साउनतिर स्याउ टिप्न मुस्ताङतिर ।’
घर बनाउने कला जानेका दाङ तुल्सीपुरका खिमलाल चौधरी सन् २००९ ताका मलेसिया गए । महिनाको सत्र हजार जति कमाइ हुन्थ्यो तर त्योभन्दा बढी उनी त्यहाँ बेला बेला हुने दुर्घटना देखेर डराउँथे । भाषा पनि नबुझिने र काम अनुशारको दाम नभएपछि उनी नेपाल आए । ज्यालादारीको काम र घरमै कृषि गरिरहेका उनी फेरि सन् २०१२ तिर दुबई गए । तर श्रीमती बिरामी भएपछि मासिक ८० हजारको जागिर छोडेर एक महिनामै घर फर्किए । उनी पनि सुन्तला टिप्न हिँडेको तीन महिना भयो ।
‘हातमा सीप छ अनि नेपालमा काम । घरको खेतिपाती सकाएर मौसमी काममाा हिँड्छु,’उनले भने, ‘सुन्तला टिप्दै हिंडेको यो सिजनमा तिन महिना भयो । अरु बेला घर बनाउने काममा हिँड्छु । घरपरिवारसँगै छु । थोरधेरै कमाइ पनि छ । अहिले यतै खुसी छु ।’
म्याग्दीका सुन्तला पोखरा नारायणगढका बजारमा पु¥याएर अहिले बेनीका सुवास थापा बागलुङ काठेखोलाको किम्बोटका सुन्तला बजार लैजाँदै छन् । यस पटकको सिजनमा बागलुङ र म्याग्दीका सुन्तला किसानसँग २ करोडको कारोबार गरेका उनले किम्बोटमा मात्रै २६ लाखको सुन्तला खरिद गरेका छन् ।
‘सुन्तलाको कारोबार गर्न थालेको १२ वर्ष भयो । किम्बोटका सुन्तला रसिलो र स्वादिलो छ । गाँउका उत्पादनको स्वाद सहरमा बस्नेहरुलाई पनि चखाउन पाइएको छ । केहीलाई रोजगारी दिएर आफूले पनि केहि कमाउन सकिएको छ । यसैमा सन्तुष्ट छु,’ उनले भने ।





