सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मौसमसंगै माहौल पनि चिसै

मौसमसंगै माहौल पनि चिसै

चिसोका कारण अधिकांश मतदाताहरु जिल्लाबाहिर रहेकाले हिमालपारीका मुस्ताङ र मनाङमा चुनावी सरगर्मी बढेको छैन् । उम्मेदवारहरु पनि जिल्लाबाहिर छन् ।


  • अमृत बास्कुने
  • माघ २९ २०८२, बिहिबार

म्याग्दी/गण्डकी प्रदेशमा हिमालपारीका दुई जिल्ला मुस्ताङ र मनाङको तापक्रम निकै चिसो छ । देशका अन्य जिल्लाहरुमा चुनावी माहौल तातिरहेका बेला यी जिल्लाहरुमा भने सुनसान छ । मुलुकभर प्रचारप्रसारका तस्बिर र भिडियो सामाजिक सञ्जालमा छाइरहेका बेला यी जिल्लाका उम्मेदवारहरुले मतदातासंग गरेको भेटघाटको तस्बिर भने गुमनाम जस्तै छ ।

चिसो छल्न अधिकांश मुस्ताङी मतदाताहरु बेँसी झरेका छन् । यसले उम्मेदवार पनि जिल्लाबाहिर अर्थात पोखरा र काठमाडौं केन्द्रीत रहेर चुनावी प्रचार र भेटघाटमा व्यस्त छन् । हिमपातले गर्दा चिसो भएको मुस्ताङमा हुनुपर्ने चुनावी सरगर्मी अहिले काठमाडौं, पोखरा लागयतका अन्य जिल्लाहरुमा देखिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेकपा एमालेका इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिष्ट पार्टीबाट ङुटुक गुरूङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकाली, आम जनता पार्टीबाट अजय विक, मंगोल नेशनल अर्गनाइजेशनबाट यमबहादुर गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचन उम्मेदवार रहेका छन् ।

के छ त राजनैतिक पार्टीको प्रचार
नेकपा एमाले मुस्ताङका सचिव तिलक बिकका अनुसार अधिकांश मतदाता चिसो छल्न बेंशी झरेका छन् । एमाले मुस्ताङ जिल्ला कमिटीको बैठक नै विहीबार पोखरामा हुँदैछ । उम्मेदवार पनि पोखरामै रहेको र मतदाता भेटघाट तथा अन्य योजना बनाउने काम पनि उतै भइरहेका छन् । फागुन पहिलो सातामात्रै मतदाताहरु जिल्ला फर्कने भएकोले चुनावी प्रचार अभियान पनि त्यसपछि हुने बिकले बताए ।

नेपाली कांग्रेस मुस्ताङका सभापति तथा पूर्वमन्त्री रोमी गौचनले माथिल्लो भेकका ब्यापार र तल्लो भेकका घुमफिरका लागि बाहिर जाने हुनाले जिल्ला प्राय खाली रहेकाले चुनावी प्रचार खासै नभएको बताए । कांग्रेस उम्मेदवार यतिबेला परिवारको सदस्य बिरामी भएकाले उपचारका लागि भारत गएका छन । ‘जिल्लावासी फर्कीएपछि मात्रै प्रचार र भेटघाटमा लाग्ने हो,’ उनले भने, ‘थोरै मतदाता भएकोले एकले अर्कालाई चिन्ने र अवस्थाबारे थाहा पाउने भएकाले पनि चुनाव प्रचारै गर्न पर्छ जस्तो लाग्दैन ।’

आम जनता पार्टीका उम्मेदवार अजय बिकले अहिले आफू पोखरा रहेको र फागुन ४ गतेपछि प्रचारमा जाने बताए । अधिकांश मतदाता बाहिर रहेका र चिसोसमेत भएकाले भेटघाट, प्रचार केही नभएको उनको भनाई छ । राप्रपाकी उम्मेदवार कमला लालचनले मतदाताहरु जिल्लाबाहिर भएकाले पोखरातिरै भेटघाटमा व्यस्त भएको बताइन् । ‘मतदाताहरु जिल्ला फर्के भने म पनि जिल्ला फर्केर प्रचारमा हिड्छु’ उनले भनिन् ।

३६ मतदाता रहेको मतदानस्थल
मुस्ताङमा ३९ मतदान स्थलमा ३९ वटै मतदान केन्द्र रहेका छन् । पाँच स्थानीय तह रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ समरस्थित समर आधारभूत विद्यालय मतदान केन्द्रमा जम्मा ३६ जनामात्रै मतदाता छन् । एउटा निर्वाचन क्षेत्र रहेको जिल्लाको सबैभन्दा बढी मतदाता घरपझोङ गाउँपालिका—४ जोमसोमको जनहित मतदान केन्द्रमा ६८९ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । मुस्ताङमा ११ हजार ३२८ मतदाता छन् ।

सुरक्षा गस्ती शुरु
जिल्ला सुरक्षा समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार मुस्ताङको उच्च हिमाली क्षेत्रमा नियमित सुरक्षा गस्ती भइरहेको छ । निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना अनुरूप उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको थुर्लुङ फाँट र सदरमुकाम जोमसोममा रहेको बेसबाट नियमित गस्ती गरिरहेको छ । नेपाली सेनाको इन्द्र बक्स गण र सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना गरी नियमित गस्ती सहित चुनाव केन्द्रित गतिविधि भइरहेको प्रजिअ शर्माले बताइन् । निर्वाचनमा कोरला नाका क्षेत्रमा समेत चिनियाँ प्रहरीसँगको समन्वयमा अन्तरदेशीय गस्ती तथा सुरक्षासम्बन्धी समिक्षा भएको समेत उनको भनाई छ ।

मतदान स्थल सार्न माग
वारागुङ मूक्तिक्षेत्र गाउँपालिका ५ को साङ्तास्थित मतदान केन्द्र सार्न प्रस्ताव गरिएको छ । अत्यधिक हिमपातका कारण समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइँमा रहेको गाउँ नै खाली भएको अवस्थामा तोकिएको समयमा निर्वाचनका लागि मतदाता गाउँ फर्किने सम्भावना न्यून रहेकाले वडा कार्यालयले छिमेकी गाउँ फल्याकमा स्थानान्तरण गर्न प्रस्ताव गरेको हो ।

प्रजिअ अजिता शर्माले स्थानीय वडाबाट मतदानस्थल परिवर्तनका लागि प्रस्ताव आए पनि निर्णय नभएको जनाइन् । ‘हालसम्म छलफलकै चरणमा छ त्यसलाई के गर्ने भन्ने विषयमा कुनै पनि प्रकारको निर्णय भएको छैन’ उनले भनिन् ।

पोखरा संवाददाताका अनुसार मनाङमा जम्मा तीन जनामात्रै उम्मेदवार आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा छन् । तिनै तिनजना उम्मेदवारहरु अहिले जिल्लामा छैनन । कांग्रेसका टेकबहादुर गुरुङ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार यसोदा गुरुङ सुवेदी काठमाडौ र मंगोल नेशनल अर्र्गानाईजेशनका रामबहादुर घले आफ्नै गृहजिल्ला गोरखामा छन् ।

अधिकांश मनाङी मतदाता काठमाडौं भएकाले घलेबाहेक दुई उम्मेदवारहरु यतिबेला काठमाडौंमै मतादताको घरदैलोमा व्यस्त छन् । ७ हजार मतदाता रहेको मनाङका ७० प्रतिशत भन्दा बढी मतदाताहरु काठमाडौंमा रहेका छन् । चिसोका कारण अधिकांश मतदाता तल (वेंशी) झरेका हुन् । यसले जिल्लामा कुनै पनि चुनावी रौनक छैन । कुनै पनि उम्मेदवारका कुनै पनि चुनावी कार्यक्रम भएका छैनन् । ‘जिल्ला सुनसानै छ भन्दा पनि हुन्छ’, एक सुरक्षा निकायका प्रमुखले भने, ‘उम्मेदवारहरु जिल्लामा आउनु भएको छैन, पार्टीका गतिविधि पनि केही भएका छैनन् । काठमाडौंतिर मतदाता भेटघाटमा व्यस्त भएको भन्ने सुनिन्छ ।’ जाडो याममा मनाङीहरु चिसो छल्न काठमाडौं, पोखरा, बेंसीसहर लगायत ठाउँ झर्ने गर्छन् ।

नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले जिल्लामा निर्वाचनको प्रचारप्रसार र घरदैलोलगायत कुनै पनि कार्यक्रम नभएको बताए । ‘अहिले चिसोको मौसम छ । ७० प्रतिशत मतदाता तल छन्, उम्मेदवारहरु पनि आउनु भएको छैन् । उतैतिर घरदैलोमा व्यस्त हुनुहुन्छ’, सचिव गुरुङले भने, ‘फागुनको ५÷६ गतेतिर मात्र उम्मेदवार आउने कुरा छ । त्यसपछि जिल्लामा चुनावी माहौल बढ्ला ।’

निर्वाचन आयोगले फागुन ४ गतेदेखि मात्रै औपचारिक रुपमा चुनावी आमसभा, सम्मेलन वा ¥याली गर्न पाउने गरी उम्मेदवारलाई अनुमति दिएको छ । त्यसले पनि उम्मेदवारहरु जिल्लामा नआएका हुन् । त्यसो त संभवत सबै भन्दा कम मतदाता रहेको मनाङमा अन्य जिल्ला तथा सहरमा जस्तो भाषण, कोणसभा, आमसभा, जुलुस खासै हुँदैन । नेकपा उम्मेदवार यसोदा गुरुङ सुवेदीले अहिले आफु काठमाडौंमै मतदाताको घरदैलोमा व्यस्त रहेको बताइन् । ‘मनाङमा हिमपात पनि भएकाले सुनसान जस्तै छ’, उनले भनिन्, ‘निर्वाचन आचारसंहितालाई कार्यान्वयन गर्दै फागुन ४ गतेसम्म कुनै पनि कार्यक्रम गरेका छैनौ । फागुन पहिलो हप्तादेखि जिल्लामा पुगर चुनावी माहौलमा लाग्ने छौ ।’ अधिकांश मतदाता काठमाडौंमै रहेकाले यतै केन्द्रीत भएको उनले बताइन् ।

मौसम परिवेश र भुगोलका कारण यो समय निर्वाचनका लागि उपयुक्त नभएको स्थानीय बताउँछन् । कांग्रेस र नेकपा उम्मेदवार काठमाडौंमै बसेर चुनावी रणनीति बनाइरहेका बेला अर्का उम्मेदवार मंगोल नेशनल अर्गानाईजेशनका रामबहादुर घले भने आफ्नो गृहजिल्ला गोरखामा छन् । उम्मेदवारी दर्ता गरेदेखि उनी मनाङ छिरेका छैनन् । ‘अव २÷३ दिनपछि मनाङ गएर चुनाव प्रचार गर्छु’, घलेले भने, ‘गाउँ डुल्छु, काठमाडौंमा हुने मतदाताको सम्पर्कमा पनि पुग्छु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->