पोखरा/ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा ६ वटा महानगरपालिकामध्ये पोखरा चौथो स्थानमा परेको छ । विभिन्न १७ वटा सूचकलाई आधार मानेर गरिएको मूल्यांकनमा पोखराले ५८.७६ अंक पाएको छ ।
आयोगलको नतिजाअनुसार यस वर्ष विराटनगर महानगरपालिकाले ७८.११ अंकका साथ सबैभन्दा अब्बल देखिएको छ । यसैगरी ७६.३३ अंकका साथ ललितपुर महानगरपालिका दोस्रो स्थानमा, ६८.०४ अंक पाएर भरतपुर महानगरपालिका तेस्रो स्थानमा परेका छन् । ५४ अंकका साथ वीरगञ्ज महानगरपालिका पाँचौँ र काठमाडौं महानगरपालिका ४४.९७ अंकका साथ सबैभन्दा पुछारमा परेको छ । आयोगले स्थानीय तहहरूले १० असार साउनभित्र बजेट सार्वजनिक गरे, नगरेको र असार मसान्तभित्र बजेट पास गरे, नगरेको विषयलाई मूल्यांकनको मुख्य आधार बनाएको थियो ।
यसबाहेक आर्थिक वर्ष २०८१ /८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सञ्चित कोषमा मासिक रूपमा दाखिला गरे, नगरेको विषयलाई पनि सूचकमा राखिएको थियो । आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहितको विवरण अर्थ मन्त्रालयमा बुझाएको र कात्तिक मसान्तभित्र बजेट समीक्षा सार्वजनिक गरेको आधारमा पनि अंक दिइएको छ । राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजुको स्थिति र ‘सूत्र’ सफ्टवेयरको प्रयोगलाई पनि मूल्यांकनमा समावेश गरिएको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न पक्षहरू जस्तै विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, एसईई परीक्षाको नतिजा, गर्भ जाँच गर्ने महिलाको अनुपात र खोप लगाएका बालबालिकाको संख्यालाई समेत आयोगले कार्यसम्पादनको आधार बनाएको छ । यी विविध प्रशासनिक, वित्तीय र सामाजिक सूचकहरूमा पोखराको प्रगति औसत देखिएकाले चौथो स्थानमा चित्त बुझाउनुपरेको हो । आयोगले प्रत्येक वर्ष स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरी सोही आधारमा वित्तीय समानीकरण अनुदानको सिफारिस गर्ने गर्दछ ।





