बागलुङ/धार्मिक पर्यटकको गन्तव्य बन्दै गएको पञ्चकोटमा पर्यटकको आगमन बढेको छ । बागलुङ नगरपालिका वडा नं. ६ भान्सामा पर्यटकीय संरचना थपिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।
भान्सामा जन्मेर भारतको विभिन्न स्थानमा ख्याती कमाएका कमलनयनाचार्यको अगुवाईमा पञ्चकोटमा करोडौंका योजनामार्फत पर्यटन र धार्मिक संरचना निर्माण गरिएको छ । २०७१ फागुन ७ गतेदेखि पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नेगरी अभियान शुरु भएको थियो । पञ्चकोटको झण्डै २ सय रोपनी बढी जमिनमा ६० करोडका धार्मिक तथा पर्यटकीय संरचनाहरु बनिसकेका छन् ।
बागलुङ नगरक्षेत्रका पाँच वटा कोट मिलाएर पञ्चकोट नामाकरण भएको हो । हाल मुख्य पूर्वाधार निर्माण भैरहेको ताराजालकोट हो । ताराजालदेखि माथिल्लो कारीकोट, त्यसमथी माझकोट र रायरायकोट छन् । सबैभन्दा अग्लो पहाडमा संसारकोट छ । पाँच वटा कोटलाई नै पर्यटन र धार्मिक गन्तव्य बनाउन लागिएको हो ।
यहाँ गण्डकी माताको मन्दिर, गरुण शिला, हनुमानको विशाल मुर्ति, सिस महल, सभाहल, भोजनालय तथा हवन कुण्ड लगायतका संरचना बनिसकेका छन् । ५ हजार ५ सय ५५ केजीको घण्टी राखिएको छ । ती सबै संरचना बनाउन हरेक वर्ष महायज्ञ लगाएर रकम संकलनको काम हुँदै आएको छ । केही संरचना निर्माणमा बागलुङ नगरपालिका, गण्डकी प्रदेश र पर्यटन मन्त्रालयले पनि साथ दिएको छ ।
पञ्चकोटमा संसारकै अग्लो कलस निर्माण गर्ने लक्ष राखिएको छ । १ सय ८ फिट अग्लो कलस बनाएर यहा“का ५ वटा कोटलाई पर्यटकीय र धार्मिक गन्तव्य बनाउने योजना छ । कलसका लागि फाउण्डेसन तयार भईसकेको छ । संसारकै अग्लो कलस बनेपछि नेपाल र भारतका लाखौं पर्यटकलाई पञ्चकोटमा आर्कषित गर्न सकिने संभावना देख्छन् अभियानका अगुवा स्वामी कमलनयनाचार्य ।
कलस बनाउने अभियानलाई सघाउने गरी पञ्चकोटमा ‘ब्रम्हाण्डीय महायज्ञ’ सम्पन्न भईसकेको छ । कलस झण्डै १३ तलाको घर बराबरको हुनेगरी डिपिआर बनिसकेको छ । बाहिरी स्वरुप कलसजस्तै भएपनि भित्री खण्डमा बन्ने १६ वटा कोठामा धार्मिक गतिविधि हुनेछन् । झण्डै २ अर्व खर्च अनुमान गरिएको पञ्चकोटको बृहत पूर्वाधार निर्माणमा महायज्ञ, स्थानीयको दानमुठी र चन्दाबाट ती संरचना बनेका हुन् ।





