बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

व्यवसायी घराना कर्माचार्य ग्रुपद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

व्यवसायी घराना कर्माचार्य ग्रुपद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०८२, आइतबार

पोखरा/पोख्रेली व्यवसायी घराना कर्माचार्य ग्रुपद्वारा स्थापित स्व.लक्ष्मी सुन्दरी कर्माचार्य मृगौला पीडित सहयोग कोषले मृगौला पीडितलाई एकलाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

कास्कीको सार्दीखोला बस्ने ४९ वर्षीया बुद्धीशोभा गुरुङलाई उक्त सहयोग गरिएको हो । कर्माचार्य परिवारले ३० लाख रुपैँयाको कोष स्थापना गरि सो सहयोग रकम हस्तान्तरण गर्दै आएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मृगौला रोगबाट पीडितलाई गरिने यस्तो सहयोगले हौसला प्रदान गर्नुका साथै समाजलाई समेत मार्गनिर्देश गर्न प्रेरणा मिलेको बताए । आचार्यले गतबर्ष आफै अग्नी दुर्घटना परेको स्मरण गर्दै पोखरामा जलन अस्पताल यसै हप्ताबाट सुरु हुन लागेको जानकारी दिए ।

स्याङ्जाको भिरकोट नगरपालिकाका प्रमुख गोविन्द कर्माचार्यले मृगौला रोगी बिरामीको संख्या बढ्दै जाँदा पालिका अस्पतालमा डायलासिस मेसिनको आवश्यकता महसुस भएको बताए । मणिपाल अस्पतालका न्युरोसर्जन डा.बालगोपाल कर्माचार्यले नसर्ने रोगबाट मर्नेको संख्या बढ्दै गएकाले नियमित रुपमा स्वास्थ्य जाँच गर्न आग्रह गरे । उक्त अवसरमा उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले लेख्नुभएको संसार आफ्नै एक उद्यमीले बाचेको समय नामक पुस्तकको नगरप्रमुख आचार्य लगायतले लोकार्पण गरेका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुराखर अधिकारीले पुस्तकको समिक्षा गर्दै पुस्तकले उद्योग व्यवसायी क्षेत्रमा लाग्न प्रेरणादयी भुमिका दिनुको साथै समाज प्रतिको जिम्मेवारी र पारिवारीक एकताका बारेमा सचित्रण गरेको बताए । कर्माचार्यले आफ्नो सफलताको श्रेय स्व.श्रीमतीलाई दिदै पुस्तकको बारेमा भनाई राखेका थिए । स्व. लक्ष्मी सुन्दरी कर्माचार्यका छोरी रेखा कर्माचार्यले हरेक वर्ष एकजना बिरामीलाई आर्थिक सहयोग गर्ने प्रतिबद्दता जनाइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय अध्यक्ष आनन्दराज मुल्मीले राज्यले जनताको स्वास्थ्य प्रतिको जिम्मेवारी लिनुपर्ने बताउदै नसर्ने रोगको जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताए । कर्माचार्य समाज कास्कीको पाँचौ स्थापना दिवस समारोहमा सम्पन्न सो कार्यक्रममा केन्द्रिय अध्यक्ष चन्द्रेश्वर कर्माचार्य, मृगौला पिडित छनोट समितिका सदस्य कल्याण कर्माचार्य, ईश्वर कर्माचार्य, पोखरा ११ का वडाअध्यक्ष प्रेम कर्माचार्य, लगायतका वक्ताहरुले रोग लाग्नुभन्दा पनि रोग नै लाग्न नदिनु उचित हुने बताए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->