सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारण लाइनको आज परीक्षण गरिंदै

तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारण लाइनको आज परीक्षण गरिंदै


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन ३ २०८२, आइतबार
फाइल तस्विर

बागलुङ/  नेपाल विद्युत प्राधिकरणले गुल्मीको तम्घासदेखि बागलुङको बुर्तिबाङसम्म निर्माण सम्पन्न १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि परीक्षणसहित सञ्चालनमा ल्याउने भएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेशनदेखि बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेशनसम्मको प्रसारण लाइनमा १३२ हजार भोल्ट क्षमताको विद्युत प्रवाह गरिने प्राधिकरणले जनाएको छ । उच्च भोल्टेजका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई प्रसारण लाइनका टावरमा नचढ्न, तार वा संरचनालाई नछुन, टावर वरिपरि नजान तथा घरेलु जनावरलाई त्यहाँ नछोड्न आग्रह गरेको छ ।

खतरा संकेत गरिएका विद्युत संरचनाबाट टाढा रहन र बालबालिकालाई समेत सचेत गराउन अनुरोध गरिएको नेपाल विद्युत प्राधिकरण बुर्तिबाङ–पोदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ के.भी. प्रसारण लाइन आयोजनाले जनाएको छ ।  परीक्षणका क्रममा कुनै स्थानमा झिल्का (स्पार्क) देखिएमा वा अन्य जोखिम देखिएमा नजिकको प्रहरी चौकी वा नेपाल विद्युत प्राधिकरणको कार्यालयमा तुरुन्त जानकारी गराउन आग्रह गरिएको छ । यो आयोजना ‘बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना’ अन्तर्गत निर्माण गरिएको हो ।

प्रसारण लाइनको रुट पर्ने स्थानहरु गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. ३, ४, र ५ ईस्मा गाउँपालिका वडा नम्बर–२ र मुसिकोट नगरपालिका वडा नम्बर– १, २ र ३ बडागाउँ, पौदीअमराई र नेटा रहेका छन् त्यस्तै बागलुङ जिल्ला वडिगाड गाउँपालिका वडा नम्बर–२, ५, ६ र ७ दगातुम्डाँडा, ग्वालीचौर र भिमगीठे ढोरपाटन नगरपालिका वडा नम्बर–२ बुर्तिबाङ रहेका छन् ।

आयोजना सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत आपूर्ति थप विश्वसनीय र सुदृढ हुने अपेक्षा गरिएको छ । कपिलवस्तुको मोतिपुरमा रहेको सव स्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौँदीअमराई भएर बाग्लुङको बुर्तिबाङसम्म पुग्नेछ । करिब २ वर्षदेखि १३२ के.भी. मार्फत अर्घाखाँची र गुल्मी को उनाएचौर सवस्टेशनबाट विद्युत वितरण भइरहेको छ । उनाएचौरबाट पौदीअमराई र बुर्तिबाङमा रहेका सवस्टेशनमा चार्ज गर्ने तथा परिक्षणको काम सुरु भएको नेपाल विद्युत प्राधिकरण बुर्तिबाङ–पोदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ के.भी. प्रसारण लाइन आयोजनाले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले अर्घाखाँची गुल्मी र बागलुङ जिल्लामा विद्युतलाई भरपर्दो तरिकाले विस्तार गर्न विभिन्न ठाउँमा सव स्टेशन निर्माणको काम गरेको हो । सब–स्टेशनले विद्युतिय ओभर लोडलाई कम गर्न मद्दत गर्ने काम गर्नेछ ।
यस आयोजनाको सम्पूर्ण कामको करिब चार अर्ब बढी लागतमा १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको काम हुँदै आएको आयोजनाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->