मुस्ताङ/ जिल्लाका स्थानीय तहमध्ये बारागुङ मुक्तिक्षेत्र गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार बारागुङ मुक्तिक्षेत्रले ७४.७९ अंक प्राप्त गर्दै जिल्लाका ५ स्थानीय तहमध्ये उत्कृष्ट स्थान हासिल गरेको हो । आयोगले विभिन्न १७ सूचकलाई आधार मानेर मुल्यांकन गर्दै आएको छ ।
६९.२९ अंकका साथ लोघेकर दामोदर कुण्ड गाउँपालिका दोस्रो स्थानमा छ । यसैगरी ६२.१६ अंक पाएर घरपझोंग गाउँपालिका तेस्रो स्थानमा रहँदा ५८.५२ अंकका साथ लोमन्थाङ गाउँपालिका चौथो र ५८.३७ अंक प्राप्त गरी थासाङ गाउँपालिका पाँचौ स्थानमा रहेको छ । आयोगले आर्थिक वर्ष २०८१/८२ को बजेट समयमै सार्वजनिक गरे÷नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था र बेरुजु जस्ता प्रशासनिक तथा वित्तीय पक्षलाई मूल्यांकनको मुख्य आधार बनाएको थियो ।
यसका साथै शिक्षा, स्वास्थ्य र सुशासनका क्षेत्रमा हासिल गरेका उपलब्धिलाई पनि आयोगले अंक प्रदान गरेको छ । कक्षा ९ मा विद्यार्थी टिकाउ दर, विद्यार्थी भर्ना दर, एसईईको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात र गर्भ जाँच गर्ने महिलाको संख्यालाई समेत मूल्यांकनको सूचक बनाइएको थियो । स्थानीय तहले असार १० भित्र बजेट सार्वजनिक गरे/नगरेको र असार मसान्तभित्र बजेट पास गरे/नगरेको विषयले नतिजामा महत्वपूर्ण भूमिका खेलेको छ ।
आयोगले घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने हिस्सा समयमै बुझाए/नबुझाएको विषयलाई पनि हेरेको छ । आगामी वर्षको बजेट प्रक्षेपण र बजेट समीक्षा समयमै गरे/नगरेको आधारमा पनि स्थानीय तहको कार्यक्षमता मापन गरिएको हो । आयोगले प्रत्येक वर्ष गर्ने यस्तो मूल्यांकनको नतिजाका आधारमा नै स्थानीय तहहरूले संघीय सरकारबाट पाउने वित्तीय समानीकरण अनुदानको परिमाण तय हुने गर्दछ ।





