पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा गरिएका टिप्पणीहरू अस्वाभाविक रहेको भन्दै विमानस्थलको बदनाम गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।
पोखरामा आज आयोजित एक कार्यक्रममा पोखरा अन्तराष्ट्रिय विमानस्थललाई ‘सेतो हात्ती’ र भूत एयरपोर्ट जस्ता संज्ञा दिएपछि आचार्य आक्रोशित भएका थिए । यस्ता शब्दले पोखरा विमानस्थलबारे गलत सन्देश प्रवाह हुने भएकाले यसतर्फ सचेत रहनुपर्ने भन्दै गम्भिर ध्यानाकर्षण भएको पनि बताए । ‘सेतो हात्ती हो यो भुतको एयरपोर्ट हो यो खालको शब्द प्रयोग गर्न तपाईँलाई कसले अधिकार दियो ? के पोखरा यसरी हेप्ने ठाउँ हो ?’ उनले भने, ‘काठमाडौंले पोखरालगायत मोफसललाई सधैभरी गलत भाष्य सिर्जना गरी हेप्ने काम भइरहेको छ ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको आर्थिक अनियमितता राज्यको सम्बन्धित निकायको क्षेत्राधिकार र न्यायिक निरूपणको विषय भएको उनको भनाई थियो । विमानस्थलका सम्बन्धमा प्रयोग गरिएका यस प्रकारका शब्दावलीहरूले पोखरेली नागरिकहरूको योगदान, समर्पण र अपेक्षित विकासको अपमान र उपहास गर्ने उनले बताए । विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भएको भए सुरु देखि नै किन प्रश्न नउठाएको उनको प्रश्न थियो । ‘पोखराका नागरिकहरुले ५० वर्षसम्म विभिन्न आन्दोलन, अनसन बसेर आफ्नो जमिन दिएर बनाएको विमानस्थलको बदनाम गर्न पाइदैन’, उनले भने ।
चिनियाँ एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल अहिले सञ्चालनमा आएपनि नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकिरेहको छैन् । तर पोखरा विमानस्थल पूर्ण क्षमतामा चलेको र अन्तर्राष्ट्रिय उडानमात्रै नभएको भन्दै मेयर आचार्यले विमानस्थल कर्मचारीको कारणले नभइ जियोपोलिटिकल कारण अन्तराष्ट्रिय उडान हुन नसकेको बताए ।
सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसी (सेसिफ) ले बुधवार पोखरा अन्तराष्ट्रिय विमानस्थलको वर्तमान अवस्था र भविष्यको संभावना विषयक क्षेत्रीय सेमीनारको आयोजना गरेको थियो । उक्त कार्यक्रममा अनुसन्धाता सुरंगना राज्यलक्ष्मी राणाले अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अहिलेकै अवस्थामा बिमानस्थलको कमाईबाट ऋण तिर्न नेपाललाई २०६ वर्ष लाग्ने भन्दै सेतो हात्ती र भूत भनेकी थिईन ।
सेसिफका कार्यकारी अध्यक्ष विजयकान्त कर्णका अनुसार प्राविधिक सुधार गरेमा विमानस्थल वास्तविक रुपमा राम्रो हुने बताए । उनले राष्ट्रिय गौरवको आयोजनाको रूपमा यस परियोजनाको स्थान, अवसर र चुनौतीबारे बहुआयामिक दृष्टिकोणबाट विचार–विमर्श आवश्यक रहेको बताए ।
नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरेली जनताले विमानस्थलको डिजाइन, संरचना कस्तो हुन्छ भनेर धेरै माग गर्दा समेत सम्बन्धित निकायबाट स्पष्ट जवाफ प्राप्त गर्न नसकिएको सुनाए । मुल्मीले अन्तराष्ट्रिय उडानका लागि पोखराबाट शक्ति, पहँुच पु¥याउन नसक्नुमा र जियो पोलिटिकल कारण नै प्रमुख रहेको धारणा राखे । कार्यक्रममा पर्यटन बोर्ड गण्डकीका प्रमुख मणी लामिछाने, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यलगायतले आफ्नो भनाई राखेका थिए ।
कर्णले बिमानस्थल निर्माणका क्रममा भएका विभिन्न अनियमितताका प्रसंग उल्लेख गरे । भ्रष्टाचारका तथ्यहरू सतहमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जना व्यक्ति र चिनियाँ कम्पनी विरुद्ध ८.३६ अर्ब रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको र यस मुद्दामा ५ जना पूर्व मन्त्रीहरू र १० जना पूर्व सचिवहरूलाई प्रतिवादी बनाइनुले नेपालको पूर्वाधार विकासमा जवाफदेहिताको नयाँ मानक स्थापित हुने आशा जगाएको उनको भनाई छ ।
अबको भविष्यको मार्गचित्रका लागि नेपाल सरकारले चिनियाँ ऋणलाई अनुदानमा परिणत गर्न कूटनीतिक पहललाई तीव्रता दिनु अनिवार्य रहेको उनले बताए । विमानस्थललाई चलायमान बनाउन दुई वर्षका लागि ल्यान्डिङ र पार्किङ शुल्क मिनाहा जस्ता प्रोत्साहन कार्यक्रमहरू ल्याइएका छन्, यद्यपि, नियमित अन्तर्राष्ट्रिय उडानका लागि नयाँ हवाई रुटहरू प्राप्त गर्नु र छिमेकी मुलुकहरूसँगको हवाई सम्झौतामा सुधार गर्नु नै मुख्य चुनौती बनेको उनले उल्लेख गरे ।





