सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सुन्तला उत्पादन गण्डकी प्रदेशमा बढी

सुन्तला उत्पादन गण्डकी प्रदेशमा बढी

गण्डकीमा उत्पादित अधिकांश सुन्तला स्थानीय बजारमा खपत हुन्छ भने काठमाडौं, बुटवल, नारायणघाट र कहिलेकाँही भारतसम्म पनि सुन्तला पुग्ने गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०८२, बिहिबार

फाइल तस्बिर

पोखरा/म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब ४ करोड आम्दानी गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट ३ करोड ८८ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको जानकारी दिइन् ।

यो एउटा उदाहरण मात्र हो । केही समय अघि गण्डकी प्रदेशको राजधानी पोखरा मात्र होइन, हिमालपारीका दुई जिल्ला मुस्ताङ र मनाङ बाहेक अन्य ९ जिल्लाका सदरमुकाम सुन्तलाले पंहेलपुर भए । राजमार्ग, गाउँका छाप्रे पसलदेखि शहरका डिपार्टमेन्टल स्टोर्ससम्म स्थानीयस्तरमा उत्पादित सुन्तला विक्री भइरह्यो । अझै पनि भइरहेका छन् । कतिपयले प्रदेश बाहिर पनि सुन्तला बिक्रीका लागि लगे । र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले जस्तै धेरै स्थानबाट बगैचाबाटै सुन्तला बिक्री, यति करोड गाउँ भित्रियो, एकै किसानले लाखौ कमाउन सफल भए भन्ने समाचारहरु सार्वजनिक भए । यस्ता समाचार अझै सार्वजनिक भइरहेका छन् । अझै पनि भइरहेका छन् ।

नेपालभरीमै बढी सुन्तला उत्पादन र विक्रीवितरण गण्डकी प्रदेशमा हुने गरेको छ । प्रदेशको कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार चालु वर्षको माघ मसान्तसम्ममा ३ अर्ब ८६ करोड ६८ लाख ९१ हजार ८ सय ९० रुपैयाँ बराबरको सुन्तला बिक्री भइसकेको छ । कतिपय किसानको बगैचामा अझै पनि सुन्तला रहेको र महंगोमा बिक्री हुने भएकाले यो रकम अझै बढ्ने छ । प्रतिकेजी ६७ रुपैयाँ ७८ पैसाका दरले हिसाव गर्दा यो रकम बराबरको सुन्तला बिक्री भएको पाइएको हो । तर कतिपय किसानले १८० रुपैयाँसम्ममा विक्री गर्दे आएको मन्त्रालयका सचिव बासुदेव रेग्मीले बताए । अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा प्रदेशमा ४ अर्ब ५ करोड १ लाख ३१ हजार १२५ मूल्य बराबरको सुन्तला बिक्री भएको थियो । उक्त वर्ष औसतमा ६७ रुपैयाँ २३ रुपैयाँ प्रतिकेजी सुन्तला बिक्री भएको थियो ।

चालु वर्षको माघ मसान्तसम्ममा ६१ हजार ६९ दशमलव४५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष भने ६४ हजार ६ सय १७ दशमलव ८३५ मेट्रिक टन उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी कृषि प्रसार अधिकृत राममाया कडरिया श्रेष्ठका अनुसार चालु वर्ष सबैभन्दा बढी स्याङजामा १४ सय ४० हेक्टरमा सुन्तला खेती भएको छ । त्यसैगरी तनहुँमा ९ सय ७७ हेक्टर, गोरखामा ६ सय ६३ हेक्टर, कास्कीमा ५ सय ४१ हेक्टरमा सुन्तला खेती गरिएको छ । साथै पर्वतमा ४ सय ६८ हेक्टरमा, म्याग्दीमा ४ सय ३५ हेक्टरमा, बागलुङमा ३ सय ७७ हेक्टरमा, नवलपुरमा १ सय ७५ हेक्टरमा र सबैभन्दा कम लमजुङमा ७१ हेक्टरमा सुन्तला उत्पादन हुन्छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिकाको राङखोला, करेन्डाँडा, ठुलाडिही, भीरकोट नगरपालिकाको भीरकोट, हेलु, बानथोक, अर्जुनचौपारी गाउँपालिकाको थापाथोक, बिरुवा गाउँपालिकाको गैरीस्वाँरा, कुसुम भन्ज्याङ, अर्चले, गल्याङ नगरपालिकाको सिरौसा, पेलाकोट, स्यालबास र वालिङ नगरपालिकाको पित्लेक, ऐलादी सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र हुन् । यसैगरी तनहुँको देवघाट गाउँपालिकाकाको नरम, छिपछिपे, दगारा, ऋषिङ गाउँपालिकाको दुबुङ्गा, म्याग्दे गाउँपालिकाको चाङ्ग, थानसिंङ्ग, हर्षपुर र उमाचोक, व्यास नगरपालिकाको तनहुँसुर, बेनिकोट, शुक्लागण्डकी नगरपालिकाको नाम्सिकोट, भिमाद नगरपालिकाको अक्सपाक्दी, चिहानडाँडा, खेताघर र बन्दीपुर गाउँपालिकाको बाँसपानी मुख्य पकेट क्षेत्र रहेका छन् । लमजुङको बेशिशहर नगरपालिकाकाको १, ३, ५ र ११ नम्बर वडा, दोर्दी गाउँपालिकाको २, ५, ८ र ९ वडा, मध्यनेपाल नगरपालिकाको १, ३, ८, ९, १० वडाहरु र मस्र्याङदी गाउँपालिकाको १, ३, ४ र ५ वडामा सुन्तला खेती हुन्छ ।
गोरखाको गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका, गण्डकी गाउँपालिका र वारपाक सुलीकोट गाउँपालिकाका केही वडाहरु सुन्तलाको पकेट क्षेत्र हुन । नवलपुरको बौदीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका र गैंडाकोट नगरपाकिलाका केही वडाहरुमा सुन्तला उत्पादन हुन्छ । यसैगरी बागलुङको काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, गल्कोट नगरपालिकाका विभिन्न वडाहरु, पर्वतको पैंयू गाउँपालिकाको त्रिवेणी, भोर्ले, फलेबास नगरपालिकाको लिमीठाना, ठानामौला, भंगरा, कुर्घा, पाङराङ, कुश्मा नगरपालिकाको दुर्लुङ, मोदी गाउँपालिकाकाको देउपुर र जलजला गाउँपालिकाको बाँसखर्क सुन्तलाको पकेट क्षेत्रका रुपमा परिचित छन् ।

म्याग्दीको बेनी नगरपालिकाको सुर्केमाला, बास्कुना, थामडाँडा, मरेक, भकिम्ली, राखु घतान, मालिका गाउँपालिकाको बिम, दरबाङ, अन्नपूर्ण गाउँपालिकाको घारा, दोसल्ले, दोवा, हिस्तान, मंगला गाउँपालिकाको बरंजा, खानीगाउँ, धवलागिरी गाउँपालिकाको धारापानी, रघुगंगा गापाको राखु, पिप्ले, भगवतीलगायत क्षेत्र सुन्तलाको पकेटका रुपमा रहेका छन् । त्यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिकाको झोवाङ, आङबाङ, तिखेयान, तमु, किलु, सिवाई, पोखरा महानगरपालिककाको फेदीपाटन, खाल्टे, कृस्तीलगायत स्थानमा सुन्तला खेती हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव रेग्मीका अनुसार गण्डकीमा उत्पादित अधिकांश सुन्तला स्थानीय बजारमा खपत हुन्छ । साथै काठमाडौं, बुटवल र नारायणघाट पनि र कहिलेकाँही भारतसम्म पनि पुग्ने गरेको उनले बताए । प्रदेशमा बाँसखर्क, खोकुलगायत स्थानीय जातकै सुन्तला उत्पादन हुँदै आएको छ । ‘नेपालमै सवैभन्दा बढी सुन्तला गण्डकी प्रदेशमै उत्पादन हुन्छ’, उनले भने, ‘भारत र चीनमा निर्यात गर्ने संभावना पनि छ । तर सकिएको छैन् ।’ पछिल्लो समय किसानले ढिलासम्म रुखमै राखेर महंगोमा सुन्तला बेच्न थालेको उनले सुनाए । सुरुमा ४० रुपैयाँ प्रतिकेजी बेच्ने किसानले फागुनसम्म राखेर १८० रुपैयाँसम्ममा बेचेको उनको भनाई छ ।

संघीय कृषि तथा पशुपंक्षी मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा सबैभन्दा बढी गण्डकी प्रदेशमा ५४ हजार ४१२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यसपछि कोशी प्रदेशमा ३७ हजार ९३६ मेटन, लुम्बिनीमा ३५ हजार ६१८ मेटन, बागमतीमा २८ हजार ७७३ मेटन, कर्णालीमा २२ हजार ९५९ मेटन र सुदुरपश्चिममा सबैभन्दा कम १४ हजार ८६८ मेटन सुन्तला उत्पादन भएको थियो । मधेश प्रदेशमा भने सुन्तला उत्पादन हुदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->