पोखरा/ गण्डकी प्रदेशमा पहिलोपटक युरो सिक्स मापदण्डको भोल्भो आइसर लक्जरी बस भित्रिएका छन् । पोखराको प्रतिष्ठित अटोवेज प्रालिले भित्राएको ती बसहरु स्विफ्ट होलीडेज प्रालिले सञ्चालनमा ल्याउने छ ।
अटोवेजका अध्यक्ष नारायण पौडेलले ती अत्याधुनिक बसको साँचो स्विफ्ट होलिडेजका प्रबन्धक निर्देशक मिलन नेपाललाई मंगलबार हस्तान्तरण गरे । युरो ६ मापदण्डका सवारी साधनले नेपालमा वातावरणमैत्री यातायात प्रणालीतर्फको महत्पूर्ण कदमको प्रतिनिधित्व गर्ने अटोवेज प्रालिको विश्वास छ । यो मापदण्डको सवारी साधनले कम उत्सर्जन, उन्नत इन्जिन प्रविधि, इन्धन दक्षता तथा उच्च सुरक्षा सुविधासहितका यी गाडीले नेपाली यातायात र पर्यटन क्षेत्रमा नयाँ मापदण्ड स्थापना गरिरहेका छन् ।
स्विफ्ट होलिडेजका प्रबन्धक निर्देशक मिलन नेपालले गुणस्तरीय, सुरक्षित र आरामदायी यात्रा सेवालाई अझ परिष्कृत बनाउन यो लक्जरी बस रोजेको बताए । करिब ४० वटा सवारी साधनहरूको सशक्त फ्लिट सञ्चालन गर्दै आएको स्विफ्ट होलिडेजको सेवामा यो बसको समावेशले नयाँ उत्साह थपेको उनको भनाई छ । अत्याधुनिक बसहरु पोखरा, लुम्बिनी र चितवनमा चल्नेछन् ।
यसअघि नै टोयोटा कोस्टर, टोयोटा हायस, अशोक लेल्यान्ड तथा टाटा मोटर्स जस्ता चर्चित ब्रान्डका सवारी साधन सञ्चालन गरिरहेको स्विफ्टले अत्याधुनिक लक्जरी बस थप गरेपछि सेवाको स्तर अझ उच्च हुने देखिएको कम्पनीले जनाएको छ । अटोवेज प्रालिका अध्यक्ष पौडेलले युरो सिक्स मापदण्डको भोल्भो आइसर लक्जरी बसको सेवाले गण्डकी प्रदेशको पर्यटन सेवामा नयाँ आयाम थपिने बताए ।
‘युरो सिक्स मापदण्डको भोल्भो आइसर लक्जरी बस सेवाले गण्डकी प्रदेशको पर्यटन सेवामा नयाँ आयाम थपिने र वातावरणमैत्री यातायात प्रणालीमा ठूलो सहयोग पुग्ने विश्वास लिएको छु,’ अध्यक्ष पौडेलले भने, ‘काठमाडौं–पोखरा र पोखरा–काठमाडौं यात्रामा यात्रुहरुलाई आरामदायी सेवाका लागि स्विफ्ट होलिडेज प्रालिमार्फत अहिले ६ वटा बस सञ्चालनमा ल्याइएको छ ।’ अध्यक्ष पौडेलका अनुसार राज्यले बनाएको नीति अनुसार १० वर्षसम्म बिक्री गर्न नपाउने र ४० सिटको मापदण्डमा रहेर बस नेपालमा भित्राइएको हो । उनका अनुसार बसको मूल्य १ करोड ३० लाख रहेको छ । नेपालले कम्पनीको आठौं वर्षको अवसर पारेर युरो सिक्स मापदण्डको भोल्भो आइसर लक्जरी बस भित्र्याएको बताए ।
‘स्विफ्ट होलिडेजले सन् २०१८ देखि काठमाडौं, पोखरा, चितवन र लुम्बिनीको प्रमुख पर्यटकीय गन्तव्य स्थलहरुमा सेवा दिइरहेको छ । युरो सिक्स मापदण्डको भोल्भो आइसर लक्जरी बस स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरी पोखरा, काठमाडौं, चितवन र लुम्बिनीमा दिवा र रात्रीकालीन सेवा सुरु गर्ने उनले बताए ।
बतास कमर्सियल भेहीकल्स प्रालिका लागि गण्डकी प्रदेश, धौलागिरि क्षेत्र तथा चितवनको अधिकृत विक्रेताका रूपमा कार्यरत अटोवेजले क्षेत्रीय बजारमा आधुनिक तथा उच्चस्तरीय सवारी साधन उपलब्ध गराउने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । अटोवेज प्रालिले भविष्यमा पनि प्रविधि सम्पन्न, सुरक्षित र दिगो सवारी साधनहरू नेपाली बजारमा भित्र्याउँदै देशको यातायात तथा पर्यटन क्षेत्रको आधुनिकीकरणमा निरन्तर योगदान पु¥याउने बताएको छ । आधुनिक इन्जिन र उत्कृष्ट सुरक्षा फिचरका कारण यो बसले नेपालको पर्यटन क्षेत्रमा कोसेढुंगा सावित हुने विश्वास लिइएको छ ।





