बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ को निरयघाट, वडा नं. ४ को ओडारचौर र वडा नं. ७ को मुलपानीदेखि कालीमाटी तितौरे तर्फको सडक कालोपत्रे सम्पन्न भएको छ । यो सडक बन्दा स्थानीयले सहजै बजार आउजाउ गर्न पाएका छन् ।
विश्वबैंकको आर्थिक सहयोगमा नगरपालिकाले सहरी शासकीय क्षमता सुधार कार्यक्रममार्फत यी सडक निर्माण गरेको हो । यी सडकको कुल लम्बाइ साँढे १२ किमी छ । फेवा आशिष संयुक्त निर्माण कम्पनीले तोकेकै समयमा यो सडक बनाएको हो । सडक गत वर्षातमै सकिएपनि अन्तिम भुक्तानी भने बाँकी छ । त्यसका लागि नगरपालिकाले दातृ निकायसहित प्राविधिक र सामाजिक अनुगमन र अन्तिम मूल्यांकनको काम गरेको छ ।
ग्रामीण क्षेत्रमा नगारिक सहजै सदरमुकाम आउन नसकी सास्ती खेपेको बेला यो सडक अत्यन्तै सरल रुपमा आउन जान सकिने भएको हो । यो सडकले सदरमुकाम आउने विद्यार्थीलाई पनि सहज बनेको छ । अहिले त तितौरेसम्म तिनपाङग्रे सवारी सजिलै पुग्छन् ।
यो सडक स्थानीय तह बन्नु अघिको नगरपालिकाको चक्रपथको क्षेत्र हो । बानपा ४ को कुँडुलेदेखि धारापानी, सिमहुँदै कालीमाटी सम्मको सडक यसअघि नै कालोपत्रे भएको थियो भने मुलपानी, हर्राचौर तर्फको सडक कालोपत्रे बन्दा चक्रपथ खण्ड सहज बनेको हो । यात्रामा वर्षौदेखि सास्ती खेपेका जनताले सडक बनेर सहज यात्रा गर्न पाएको बताए । साथै गाउँका किसानले उत्पादन गर्ने कृषिजन्य सामाग्रीले बजार पनि पाएको बानपा ७ का मेघराज पाण्डेले बताए । किसानले तरकारी उत्पादन गरेर बजार पठाउन पाएका छन् ।
बागलुङ नगरपालिकाले विश्वबैंकको सहयोगमा छोटो सयमा कालोपत्रे गरिएको सडकको अन्तिम मूल्यांकनका लागि सर्वपक्षिय टोलीले अनुगमन गरिसकेको छ । गतवर्ष निर्माण भएको मुलपानीदेखि तितौरे, ओडारचौरदेखि ढोडेनी र गणेशघुम्तीदेखि निरयघाट जोड्ने सडकको दातृ निकाय, सरकारी टोली र नगरपालिकाले अनुगमन गरी सुझाव दिएको छ ।
अहिलेसम्म नगरभित्र बनेका सडकमध्ये यो सडक स्तरीय बनेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए । अन्तिम भुक्तानी अघि अनुगमन टोलीले केही मर्मतका कामहरु तत्काल पुरा गर्न सुझाव दिएको छ । यो सुझाव अनुसार काम पुरा भएपछि मात्र रकमको भुक्तानी दिइने छ । हाल बनेको सडकमा एकदुइ स्थानमा नालीको स्ल्याब पुरा नभएको पुरा गर्न सुझाव दिइएको छ । केही लिंक सडक सम्याउन बाँकी रहेको, केही स्थानमा पहिरोले सडकको खण्ड भत्केको र विभिन्न चिन्ह प्रयोग गर्न बाँकी रहेको छ ।
नगरप्रमुख बसन्तकुमार श्रेष्ठ तथा परियोजनाका निर्देशक लिला खतिवडा लगायतले ठेकेदार पक्षलाई ती काम पुरा गरेपछि सबै भुक्तानी दिने सुझाव दिएको बताए । साथै, शाखा सडकतर्फ केही काम बाँकी रहेकोले ठेकेदार पक्षलाई निर्माणका लागि आग्रह गरिएको छ ।
बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत वडा नं. ७ को मुलपानीदेखि तितौरे सम्मको साँढे ८ किमी, ओडारचौरदेखि ढोडेनी सम्मको साँढे २ किमी र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमी गरी साँढे १२ दशमलब ५ किमी सडक निर्मण गरेको हो । सडक बनाउन ठेकेदार पक्षले ४८ करोडमा जिम्मा लिएको थियो ।
अस्फाल्ट प्रविधिको यो कालोपत्रे बाटो बनेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । उनीहरुले यस्तै गुणस्तरीय अन्य योजना ल्याउन नगरप्रमुखको ध्यानाकर्षण गरेको वडा अध्यक्ष मेघराज गैरेले बताए । सडक सहज बन्दा सदरमुकामदेखि वडा नं. ७ को तितौरे सम्मको झण्डै ११ किमी खण्ड आधा घण्टामा पुग्न सकिने भएकोले उनको भनाइ छ ।
यी तीनवटै सडकहरु ६ देखि ८ मीटर चौडाइका छन् । विश्वबैंकले नेपालभर १७ वटा नगरपालिकामा सहरी शासकीय सुधार तथा पूर्वाधार विकास कार्यक्रममा सहयोग गरेकोमा बागलुङमा पनि काम भएको हो । हालसम्म वालिङ नगरपालिका र बागलुङको काम स्तरीय भएको पाइएको अनुगमन टोलीको निष्कर्ष समेत छ ।
बागलुङ नगरपालिकाले ओडारचौरदेखि ढोडेनी र गणेश घुम्तीदेखि निरयघाट जोड्ने सडक बनाउँदा कालीगण्डकीको झोलुंगे पुल तरेपछि बेनी जानेले पनि सहज महसुस गरेका छन् भने ढोडेनीका किसानले ट्याम्पो प्रयोग गरेर तरकारी बजारमा ल्याएर बेच्न सकेको स्थानीय सुदर्शन शर्माले बताए । पर्वतको फोर्से र लस्तीका किसानले दैनिक आउजाउ गर्दा छोटो बाटो प्रयोग गर्न पाएको उनको भनाइ छ । अहिले उक्त स्थानबाट बजारमा अधिक तरकारी र दूध आउने गरेको छ । बिरामी पर्दा धौलागिरि अस्पताल आउन पनि सहज भएको छ ।





