सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सहकारी पीडित चुनावी एजेन्डा होइन रकम चाहान्छन्

सहकारी पीडित चुनावी एजेन्डा होइन रकम चाहान्छन्

‘घोषणापत्रअनुसार कसले काम गरेका छन् र ? भन्ने एउटा गर्ने एउटा, अहिले त मनै छैन भोट हाल्ने । सहकारी पीडितको बारेमा ठोस एजेन्डा केही छैन’ पोखरा–१३ आर्बाका गोपी दाहाल भने, ’अहिले विश्वास गर्न लायक कोही भेटिएन । राज्यको नीतिअनुसार राहत दिने कार्यक्रम ल्याउनुपर्छ ।’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०८२, आइतबार

पोखरा/पोखराको पृथ्वीचोकस्थित मासु पसल गर्दै आएका मंगलप्रसाद खड्कीले सूर्यदर्शन सहकारीमा व्यक्तिगत १३ लाख र संस्थाको १३ गरि २६ लाख रुपैयाँ गुमाए । भइपरि आएमा खर्च गर्ने र आफ्नो समाजको रकम समेत उनकै भरोसामा सहकारीमा जम्मा गराएका उनले अहिलेसम्म त्यो पैसा पाउन सकिरहेका छैनन् ।

अहिले निर्वाचनका लागि उम्मेदवारहरू घरदैलो गरिरहेका छन् । विभिन्न एजेन्डासहित मत माग्दै आउँदा उनलाई झर्को लाग्न थालेको छ । विभिन्न मितिमा नेताहरूले दिएको आश्वासनलाई विश्वास गरेका उनी अब भने कसैलाई विश्वास गर्ने पक्षमा छैनन् । चुनावको बेला राम्रा र चिल्ला कुरा गरे पनि चुनावपछि बिर्सने सुनाउँदै आफूलाई मतदान गर्ने इच्छा नभएको खड्गी सुनाउँछन् ।

सूर्यदर्शन सहकारी राम्रो छ भनेर रकम जम्मा गरेको सुनाउँदै खड्कीले आफ्नो सहित गुठीको रकमको समेत जिम्मा लिएर बचत गराएका थिए ।

‘कुनै बेलामा काम लाग्ला भनेर बचत गरियो । यसरी डुब्यो भन्दा हामी दङ्ग प¥यौं । मेरो १३ र गुठी समाजको म जिम्मेवारी भएर १३ लाख बचत गराएँ । अहिले एकदम सङ्कट छ । मैले विश्वासघात गरेजस्तो भएको छ’ उनले भने, ’अहिले एक महिना नपुग्दै घरभाडा माग्छन्, महिनादिनको व्यापारले भाडा तिर्न समेत पुगिरहेको छैन । सूर्यदर्शनबाट आउँछ कि भन्यो आउँदैन, नेताहरू बेइमान भए । यस्तो भएपछि चुनावमा हामीले कसरी भोट दिने ?’ चुनावमा उठेकाले रकम दिने कुरा नगर्दा मतदान गर्ने रहर हराएको उनले सुनाए । निर्वाचन भएपश्चात् कुर्सीमा बसेपछि आफूहरूको वास्ता नगर्ने उनले सुनाए ।

उनीजस्तै प्रेमबहादुर रानाले सूर्यदर्शनमै ३३ लाख रुपैयाँ गुमाए । विद्यार्थीलाई ट्युसन पढाएर नर्सरी खोलेका उनले त्यही नर्सरीको कमाइ बचत गरेका थिए । ५ वर्षयता उनले सुको फिर्ता पाएका छैनन् । आफ्नो २५ वर्ष शिक्षण र नर्सरी व्यवसायको आम्दानी सहकारीमार्फत नेताहरूले नै खाएको सुनाउँछन् ।

‘भोट माग्न आउने नेताहरू देख्दा मलाई धिक्कार लाग्छ । उनीहरू हाम्रो पीडामाथि पीडा थप्न मात्र आएका हुन् जस्तो लाग्छ,’ राना भन्छन्, ‘त्यति दुःख गरेर जम्मा परेको पैसा रातारात खाइदिँदा हाम्रो मन कति रोएको छ, तिनीहरूलाई त पाप लाग्छ ।’

पोखरा–१३ आर्बाका गोपी दाहाल पनि आफ्नो डुबेको पैसा फिर्ता गराइदिने मान्छे पाए मात्रै भोट हाल्ने बताउँछन् । सानो व्यवसाय गरेर जम्मा पारेको उनको ६ लाख यही सूर्यदर्शन सहकारीमा डुबेको छ । उनले पनि ६ वर्षदेखि पैसा फिर्ता पाएका छैनन् । बचत गर्न थालेको ९ वर्ष भए पनि चाहिएको बेला पैसा झिक्ने र राख्ने गरिरहेका थिए । पछिल्लो पटक, कोरोनाकालअघि जम्मा गरेको पैसा उनले अहिलेसम्म फिर्ता पाउन सकेका छैनन् । उनी पनि नेताहरूकै कारण आफ्नो पैसा फसेको गुनासो गर्छन् ।

‘घोषणापत्रअनुसार कसले काम गरेका छन् र ? भन्ने एउटा गर्ने एउटा, अहिले त मनै छैन भोट हाल्ने । सहकारी पीडितको बारेमा ठोस एजेन्डा केही छैन’ उनले भने, ’अहिले विश्वास गर्न लायक कोही भेटिएन । राज्यको नीतिअनुसार राहत दिने कार्यक्रम ल्याउनुपर्छ ।’

उनीहरू शनिबार पोखरा ४ नालामुखस्थित सूर्यदर्शन सहकारीको भवनअघि आएका थिए । उम्मेदवारहरूले सहकारीको रकम ठगी गरेको प्रमाणित भइसकेपछि समेत यसलाई चुनावी एजेन्डा बनाएपछि आक्रोशित हुँदै उनीहरूले विरोधसमेत जनाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवनमा सहकारी ठगीको प्रमाण मागेपछि सूर्यदर्शन सहकारी पीडितहरू आक्रोशित बनेका हुन् । सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा धरौटी बुझाएर तारिखमा छुटेका लामिछानेले सूर्यदर्शन सहकारीबाट समेत ऋण लिएको र अहिलेसम्म पनि तिरेका छैनन् ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले सहकारी ठगीको प्रसङ्ग उठाएका थिए । उनले सहकारी बचत रकम अपचलन प्रकरणमा आफू विरुद्ध प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाप्रति कटाक्ष गरेका थिए । उनले आफूलाई अन्तिम इच्छा सोधिएको पनि निकै भइसकेको भन्दै आफ्नो अन्तिम इच्छा फागुन २१ मा मतपत्रमार्फत देखाइदिन मतदातालाई आग्रह गरेका थिए ।

सोही दिन पोखरामा भएको कांग्रेसको चुनावी आमसभामा सूर्यदर्शन सहकारी पीडितले सभापति गगन थापालाई भेटेर सहकारीको रकम फिर्ता गराइदिन ज्ञापनपत्र बुझाएका थिए ।

सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठले १४ पटक सूर्यदर्शन सहकारीमा ब्याज र किस्ता तिरेको प्रमाण हुँदाहुँदै अझै पनि प्रमाण मागिरहँदा आफूहरूमाथि अन्याय भएको सुनाए ।

‘को मिल्यो मिलेन, कसले जित्यो जितेन त्यो बारे मलाई दुःख छैन । मलाई दुःख यो छ, जसले सहकारीबाट पैसा लिएर गयो तिनले तिरेनन् । यो सहकारीबाट जसजसले पैसा लगे सबैले तिरिदिने हो भने हामीलाई कुनै सरकार पनि चाहिँदैन । इमानदारिताका साथ पैसा तिरिदिने हो भने न कांग्रेस, न एमाले, न रास्वपा, न माओवादी कसैको सरकार चाहिँदैन’ उनले भने, ’भटाभट तिरिदिए हुन्छ । यहाँबाट पैसा लग्नुभयो भएन प्रमाण छ छैन थाहा छैन तर, यहाँबाट लगेको पैसाको १४ पटक ब्याज र किस्ता लगेको प्रमाण छ । पैसानै नलगेको मान्छेले ब्याज र किस्ता कसरी तिरिदियो ? उच्च र जिल्ला अदालतमा प्रमाण छ ।’

उनले निर्वाचनको समयमा यो विषयमा कुरा नउठाउन समेत चेतावनी दिए । उनले आफूहरूलाई पीडित बनाउनेलाई कुनै पनि हालतमा भोट हाल्न नहुने बताए । सूर्यदर्शन सहकारीको एक अर्ब ५१ करोड अपचलन भएको आरोपसहित मुद्दा दायर भएको थियो । १८ हजार ७ सय जना बचतकर्ता भए पनि एक हजार एक सय ५७ जनाले मात्रै किटानी जाहेरी दिएका थिए । उनीहरूको जाहेरीमा एक अर्ब १५ करोड अपचलन भएको देखिएको छ । सरकारी अनुसन्धानअनुसार ३ करोड ३७ लाख रवि लामिछानेको नाममा व्यक्तिगत बिगो कायम भएको छ भने ५ करोड ५९ लाख गोर्खा मिडियामा गएको देखाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->