सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कास्कीमा भत्कियो एमालेको विरासत, रास्वपाको क्लिन स्विप

कास्कीमा भत्कियो एमालेको विरासत, रास्वपाको क्लिन स्विप

२०४८ सालदेखि नभत्किएको कास्की २ र ०६४ सालदेखि विरासत बनाएको १ र ३ पनि यस पटक नराम्ररी भत्कियो ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०८२, आइतबार

पोखरा/कास्कीमा नेकपा एमाले ठूलो धक्का पायो । एमालेको बलियो विरासत मानिने कास्कीले यस पटक परिवर्तनको कोल्टे फे¥यो । ३ वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा १ र ३ मा विभिन्न समयमा भएका निर्वाचनमा दल फेरिदैँ आए पनि क्षेत्र २ मा भने अहिलेसम्म एमालेको रजगज थियो । २०४८ सालदेखि नभत्किएको कास्की २ र ०६४ सालदेखि विरासत बनाएको १ र ३ पनि यस पटक नराम्ररी भत्कियो । कास्कीको ३ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले भारी मतान्तरले विजयी हासिल गर्दै इतिहास बनायो ।

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम अनुसार कास्की १ मा रास्वपाका गनेश पौडेल, २ मा उत्तमप्रसाद पौडेल र ३ मा विना गुरुङले जित हासिल गरेका छन् ।

वि.सं. २०४८ सालदेखि कास्की २ मा एमालेले खासै हार व्यहोर्न परेको थिएन । तत्कालीन समयको प्रतिनिधिसभा निर्वाचनमा कास्की १ मा तारानाथ रानाभाट, कास्की २ मा एमालेका तुलबहादुर गुरुङ र कास्की ३ मा सोमनाथ अधिकारी प्यासी निर्वाचित भएका थिए ।

२०५२ सालमा कास्की क्षेत्र १ बाट खगराज अधिकारी, २ मा तुलबहादुर गुरुङ निर्वाचित भएका थिए र ३ मा कांग्रेसका कृष्णबहादुर गुरुङ निर्वाचित भएका थिए ।

०५६ सालमा कांग्रेसले ३ वटै क्षेत्र जितेको थियो। १ मा तारानाथ रानाभाट, २ मा महादेव गुरुङ र ३ मा प्रकाशबहादुर गुरुङ विजयी भएका थिए । ०७४ सालमा ३ वटै क्षेत्रमा एमालेले क्लिन स्विप गरेको थियो । १ मा खगराज अधिकारी ३९ हजार २४१ मतका साथ विजयी भएका थिए । यस्तै २ मा रविन्द्र अधिकारी २७ हजार २०७ मतका साथ विजयी हुँदा ३ मा जगत विश्वकर्मा ३२ हजार ६९० मतले विजयी भएका थिए ।

०७९ सालमा समेत एमालेले ३ क्षेत्रमै जितेको थियो । १ मा मनबहादुर गुरुङले २५ हजार ७०८ मत ल्याएका थिए । २ मा विद्या भट्टराईले १६ हजार ९९८ मत ल्याइ विजयी भइन् भने ३ मा दामोदर बैरागी २२ हजार ९८० मतले विजयी भएका थिए ।

२०६४ र २०७० मा संविधान सभा सदस्यको निर्वाचन भएको थियो । २०६४ मा माओवादी–एमाले, २०७० मा कांग्रेस–एमाले र २०७४ मा एमाले–माओवादी बढी विजयी भएको थियो ।

२ वटा प्रतिनिधिसभा निर्वाचनमा क्लिन स्विप गर्दै आफ्नो विरासतलाई बढवा दिएको एमाले यस पटक भने नराम्ररी चिप्लिएको हो । यस पटक कास्कीमा एमाले तेस्रो स्थानमा रह्यो । एमालेमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धावा बोल्दै ३ क्षेत्रमै विजयी हासिल गरेको हो ।

१ लाख १६ हजार ८७८ मतदाता रहेको कास्की क्षेत्र नम्बर १ मा ७० हजार १५० मत खसेको थियो । जसमध्ये ६७ हजार ४१० मत सदर हुँदा २ हजार ७२० मत बदर भयो । रास्वपाका गनेश पौडेलले ३९ हजार ८८३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४ मत प्राप्त गरे । रानाभाटसँग पौडेलको मतान्तर २८ हजार ६४९ रह्यो । यस्तै एमालेका बैन बहादुर क्षेत्रीले १० हजार ४२९ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले २ हजार ४७९ मत प्राप्त गरे । यसअघि २०७९ सालको निर्वाचनमा यो क्षेत्रमा रास्वपाले १० हजार ९९८ मत प्राप्त गर्दै तेस्रो भएको थियो ।

८४ हजार १ सय ३४ मतदाता रहेको कास्की २ मा कुल ५२ हजार ९१९ मत खसेको थियो । कास्की २ मा रास्वपाका उत्तम पौडेलले ३१ हजार ९११ मत प्राप्त गर्दै विजयी बने । उनका निकटतम प्रतिस्पर्धी एमालेका रश्मि आचार्यले जम्मा ७ हजार ४९३ मत मात्रै पाए । पौडेल र आचार्यबीचको मतान्तर २४ हजार ४१८ रहेको छ । यो क्षेत्रमा काँग्रेसमा माधवप्रसाद बाँस्तोला (मधु) तेस्रो भए । उनले ६ हजार ५ सय मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २७६ मत प्राप्त गरे । यो क्षेत्रमा २ हजार ७४० मत बदर भएको छ । यसअघि २०७९ सालको निर्वाचनमा रास्वपा यो क्षेत्रमा ४ हजार ५ सय मतले पछाडि परेको थियो ।

यस्तै १ लाख ७ हजार ५०६ मतदाता रहेको कास्की ३ मा ६५ हजार ४०७ मत खसेको थियो । रास्वपाकी विना गुरुङ ३७ हजार ७५० मतका साथ विजयी भइन् । उनको निकटम प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत प्राप्त गरे। विना र मनोजको मतान्तर २४ हजार ९७० रहेको छ ।

दोस्रो पटक दोहोरिएका एमालेका दामोदर बैरागीले ७ हजार ९०६ मत प्राप्त गरे । कास्की ३ मा नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरिले १ हजार ४५६ मत ल्याए भने सो क्षेत्रमा कुल २ हजार ७५८ मत बदर भएको छ । बैरागीले ०७९ सालमा सो क्षेत्रबाट जितेका थिए । उनले २२ हजार ९८० मत ल्याएका थिए । त्यतिबेला रास्वपा १२ हजार १८० मत ल्याउँदै तेस्रो भएको थियो ।

३ लाख ८ हजार ५७२ मतदाता रहेको कास्कीमा १ लाख ८८ हजार ७६ मत खसेको थियो । कास्कीमा १ लाख ८० हजार ७३४ मत सदर हुँदा ७ हजार ३४२ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->