शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चित्रबहादुरको क्षेत्रमा राजमो उम्मेदवारको जमानत जफत

चित्रबहादुरको क्षेत्रमा राजमो उम्मेदवारको जमानत जफत

राजमोका कृष्ण अधिकारीले जम्मा ४ हजार ५२१ मत मात्रै पाए ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०८२, आइतबार

बागलुङ/ बागलुङ क्षेत्र नम्बर १ निर्वाचनका बेला सधैं प्रतिष्ठाको लडाइ जस्तै बन्ने गर्छ । यसको एउटै कारण हो, बागलुङका ब्रान्ड अर्थात् राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका सादगी नेता चित्रबहादुर केसीको निर्वाचन क्षेत्र भएर ।

राजमोको आधार इलाका रहेको यो क्षेत्र नेपाली कांग्रेसको पनि राम्रो संगठन भएकोमा गनिन्छ । यही फागुन २१ गते भएको निर्वाचनमा अन्य दल एक्लाएक्लै चुनावी मैदानमा उत्रिए । राजमो भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संग गठबन्धन गरेर निर्वाचनमा होमियो । नेकपाले राजमोका उम्मेदवार कृष्ण अधिकारीलाई सघाएको थियो भने क्षेत्र नम्बर दुईमा नेकपाका ज्ञामनाथ गैरेलाई राजमोले सघाएको थियो ।

चुनावी गठबन्धनबाट हौसिएको राजमोले केसीको विरासत धान्छकी धान्दैन भन्ने धेरैलाई लागेको थियो । तर भनेजस्तो नतीजा भने आएन । विगतमा नेता केसीले जितेको यो क्षेत्रमा अहिले भने अधिकारीले आफ्नो जमानत पनि जोगाउन सकेनन् ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशिल खड्का २० हजार ९२७ मत ल्याएर विजयी भए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीमबहादुर श्रीस रानाले ११ हजार ९४४ मत ल्याए भने एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० मत पाए । तर राजमोका अधिकारीले भने जम्मा ४ हजार ५२१ मात्रै ल्याए ।

सदर मतको कम्तीमा १० प्रतिशत मत नपाए उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ । प्रावधान अनुसार विजयी रास्वपाका खड्का, कांग्रेसका श्रीस राना र तेस्रो भएका खत्रीको मात्रै जमानत जोगिएको छ । राजमोका अधिकारीलगायत अन्य ८ जनाले जमानत जोगाउन सकेनन् । यस क्षेत्रमा सबैभन्दा कम नेपाल मानवतावादी पार्टीका भक्तबहादुर बिकले २४ मतमात्रै पाए । हर्क राईको श्रम संस्कृति पार्टीका लालबहादुर घर्तिले २५४ मत ल्याए ।

यस निर्वाचन क्षेत्रमा ९८ हजार ४६ मतदाता रहेकोमा ४८ हजार ९३२ मत खसेको थियो । त्यसमा १८७१ मत बदर भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->