सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकीमा नयाँ शक्तिलाई जनमत

गण्डकीमा नयाँ शक्तिलाई जनमत

अहिले देशभर जसरी रास्वपाले नतिजा ल्याएको छ त्यसरी नै २०५६ सालमा कांग्रेसले ल्याएको थियो । त्यो बेलाको अभ्यास र अहिलेको अभ्यास मात्र मेल खाँदैन, नतिजा पनि करिब मेल खाएको देखिन्छ ।


  • विजय नेपाली
  • फाल्गुन २५ २०८२, सोमबार

पोखरा/प्रतिनिधि सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा गोर्खा बाहेक अन्य जिल्लाको नतिजा आइसकेको छ । गण्डकीमा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ भने नेपाली कांग्रेस दोस्रो । यस पटक गण्डकीका नागरिकले नयाँ परिवर्तन चाहेको देखिएको छ ।

भदौ २३ र २४ गते सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध र सुशासन तथा भ्रष्टाचार नियन्त्रणका लागि भएको आन्दोलनले प्रतिनिधि सभा नै विघटन भएको थियो । सांसद विहीन भएपछि २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मै भएको हो । यस पटक दलहरुले प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावी मैदानमा होमिए ।

यसरी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिएको नेपाली इतिहासमा यो दोस्रो पटक हो ।

२०५६ सालको संसदीय निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर भाग लिँदा बहुमत ल्याएको थियो । कांग्रेसले ०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दा बहुमत ल्याए पनि आन्तरिक द्वन्द्वका कारण उनले पूरा कार्यकाल काम गर्न पाएनन् । गिरिजाप्रसाद कोइरालासँगको आन्तरिक द्वन्द्वका कारण भट्टराईले एक वर्षभन्दा कम समयमै राजीनामा दिएका थिए ।

त्यसपछि २०६४ सालमा पहिलो पटक भाग लिएको चुनावमा माओवादीले प्रचण्डलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा प्रस्तुत गरे पनि प्रधानमन्त्रीको उम्मेदवार कुनै दलले घोषणा गरेका थिएनन् ।

त्यसपछि यो निर्वाचनमा नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर दलहरु निर्वाचनमा होमिएका हुन् । त्यसरी निर्वाचनमा होम्मिदै गर्दा अहिले रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रुपमा अघि सारे । बालेनले संसदीय इतिहासमै सर्वाधिक मतसहित पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराए । कांग्रेस, एमालेलगायत सबै पार्टीले प्रधानमन्त्रीकै उम्मेदवार तोके पनि रास्वपाले यस पटक सबैलाई पछारिदिएको छ ।

जसको प्रभाव गण्डकी प्रदेशमा समेत देखियो । कुल १८ वटा निर्वाचन क्षेत्र रहेको गण्डकीमा रास्वपाले जनमत पाउँदै १४ सिट हासिल गरेको छ । रास्वपाले कास्कीसहित लमजुङ, बागलुङ, पर्वत, तनहुँ, नवलपुर र स्याङजामा रास्वपाले भारी मतान्तरसहित जित हासिल गरेको छ । २ निर्वाचन क्षेत्र रहेको गोर्खाको क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा रास्वपाकै अग्रता छ । यो १ सिट जिते रास्वपाले गण्डकीमा १५ सिट हासिल गर्नेछ । कांग्रेसले २ सिट जित्दा स्वतन्त्र उम्मेदवारले १ सिट जितेको छ । रास्वपा गण्डकीमा क्लिन स्विप गर्नबाट भने चुकेको छ । मनाङ, मुस्ताङ र म्याग्दीमा भने रास्वपा पछि प¥यो । मनाङ र मुस्ताङमा कांग्रेसले जित हासिल गर्दा म्याग्दीमा भने स्वतन्त्र उम्मेदवारले जित हासिल गरेको छ । मनाङमा रास्वपाको उम्मेदवार नै थिएनन् भने म्याग्दीमा रास्वपाले स्वतन्त्र उम्मेदवार महावीर पुनलाई समर्थन गरेको थियो ।

गण्डकीमा कस्ले कति मत ल्याए ?
कास्की १ मा रास्वपाका गनेश पौडेलले ३९ हजार ८८३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४ मत प्राप्त गरे । रानाभाटसँग पौडेलको मतान्तर २८ हजार ६४९ रह्यो । यस्तै एमालेका बैन बहादुर क्षेत्रीले १० हजार ४२९ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले २ हजार ४७९ मत प्राप्त गरे । यसअघि २०७९ सालको निर्वाचनमा यो क्षेत्रमा रास्वपाले १० हजार ९९८ मत प्राप्त गर्दै तेस्रो भएको थियो ।

कास्की २ मा रास्वपाका उत्तम पौडेलले ३१ हजार ९११ मत प्राप्त गर्दै विजयी बने । उनका निकटतम प्रतिस्पर्धी एमालेका रश्मि आचार्यले जम्मा ७ हजार ४९३ मत मात्रै पाए । यो क्षेत्रमा काँग्रेसमा माधवप्रसाद बाँस्तोला (मधु) तेस्रो भए । उनले ६ हजार ५ सय मत प्राप्त गरे । नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २७६ मत प्राप्त गरे ।

कास्की ३ मा रास्वपाकी विना गुरुङ ३७ हजार ७५० मतका साथ विजयी भइन् । उनको निकटम प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत प्राप्त गरे । विना र मनोजको मतान्तर २४ हजार ९७० रहेको छ ।

दोस्रो पटक दोहोरिएका एमालेका दामोदर बैरागीले ७ हजार ९०६ मत प्राप्त गरे । कास्की ३ मा नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरिले १ हजार ४५६ मत ल्याए भने सो क्षेत्रमा कुल २ हजार ७५८ मत बदर भएको छ ।

लमजुङमा रास्वपाका धर्मराज केसीले ३३ हजार ८९८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । केसीले नेकपा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले १६ हजार ८७६ मत प्राप्त गरे । कांग्रेसका गम प्रसाद गुरुङले १६ हजार ५६९ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीका हरिजंग तामाङले ३ हजार ३७१ मत प्राप्त गरे ।

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्लेले ३८ हजार ४० मत प्राप्त गर्दै निर्वाचित भए । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत, नेकपा एमालेका भगवती न्यौपानेले ५ हजार ८३० मत पाइन् । २ मा रास्वपाकै श्रीराम न्यौपाने विजयी भए । उनले ३२ हजार ६८७ मत प्राप्त गरे । नेपाली कांग्रेसका शंकर भण्डारीले १४ हजार १३५ मत प्राप्त गरे । एमालेका केदार सिग्देलले ११ हजार ६६८ मत प्राप्त गरे ।

स्याङजा १ मा रास्वपाकै धनन्जय रेग्मी विजयी भए । उनले २९ हजार ०७१ मत प्राप्त गर्दा कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत प्राप्त गरे । एमालेका मिनप्रसाद गुरुङले १६ हजार ८०४ मत ल्याउँदा नेकपाका शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत ल्याए । यस्तै २ मा रास्वपाकै झविलाल डुम्रे २५ हजार ३५४ मतका साथ विजयी भए । कांग्रेसका भागतवप्रकाश मल्ल ले २० हजार ८०३, एमालेका खिमबहादुर थापाले १४ हजार १०८ र नेकपाका पदम बहादुर विकले ८४८ मत ल्याए ।

पर्वतमा रास्वपाका सागर भुसाल भ२६ हजार ५१६ मतका साथ विजयी भए । कांग्रेसका अर्जुन प्रसाद जोशीले १५ हजार ९५४, एमालेका पदम गिरीले १५ हजार ७५ र नेकपाका मनहरि शर्माले ४ हजार ५५७ मत ल्याए ।

बागलुङ १ मा रास्वपाका सुशील खड्का २० हजार ९२७ मत ल्याउँदै विजयी हुँदा कांग्रेसका भिमबहादुर श्रीस रानाले ११ हजार ९४४ मत ल्याए । एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० मत ल्याउँदा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा अधिकारीले ४ हजार ५२१ मत ल्याए । यस्तै २ मा पनि रास्वपाकै सोम शर्मा विजयी भए । उनले १२ हजार ६४७ मत प्राप्त गर्दा कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरे । नेकपाका ज्ञामनाथ गैरेले १० हजार ७०९ र एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत ल्याइन् ।

नवलपुर १ मा रास्वपाका राजन गौतम निर्वाचित भएका छन् । उनले ५० हजार ९४५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी बालकृष्ण घिमिरेले १६ हजार २९३ मत प्राप्त गरेका छन् । एमालेका भागिरथ सापकोटाले ९ हजार १३१ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीले १ हजार ७०२ मत प्राप्त गरेका छन् । २ मा रास्वपाकै मनिष खनाल विजयी भएका छन् । उनले ४१ हजार ३४७ मत प्राप्त गरे । एमालेका तिलकबहादुर महत क्षेत्रीले १५ हजार ७५५ मत प्राप्त गरे । कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले १ हजार ५३८ मत प्राप्त गरे ।

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भए । उनले २ हजार ४१५ मत ल्याउँदा नेकपाकी यशोदा गुरुङले ४५४ र मंगोल नेशनल अर्गनाइजेशनका राम बहादुर घलेले ९ मत ल्याए ।

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतका साथ विजयी भए । एमालेका इन्द्रधार विष्टले १ हजार ८०६ मत ल्याउँदा रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ मत ल्याए । भने राप्रपाकी कमला लालचनले १६१ मत प्राप्त गरिन् ।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेको महाविर पुन विजयी भए । उनले २२ हजार ८५० मत ल्याउँदा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत ल्याए । कांग्रेसका कर्णबहादुर भण्डराीले ६ हजार ६८३ र नेकपाका अर्जुनबहादुर थापाले ३ हजार ५२९ मत ल्याए ।

गोर्खा २ मा कविन्द्र बुर्लाकोटी २६ हजार ६६० मतसहित विजयी भएका छन् । कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७०० मत ल्याउँदा नेकपाका लेखनाथ न्यौपानेले ११ हजार ७३ र एमालेका मिलन गुरुङले ३ हजार ८७ मत ल्याए ।

गोर्खा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् । त्यहाँ कांग्रेसका प्रकासचन्द्र दवाडी दोस्रो बने । यो समाचार तयार पार्दा सम्म गोर्खा १ मा रास्वपाका सुधन गुरुङको अग्रता रहेको छ भने कांग्रेसका प्रेमकुमार खत्रीले उनलाई पछ्याइ रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->