शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पाहुना उमेदवार जिताइरहने बागलुङ २

पाहुना उमेदवार जिताइरहने बागलुङ २

२०४६ सालमा बहुदल घोषणा भएपछि अहिलेसम्म नेपालमा ८ वटा संसदीय निर्वाचन भए । ६ वटा निर्वाचनमा पश्चिम बागलुङबासीले पाहुना उमेदवारलाई जिताएर पठाएका छन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०८२, मंगलबार

बागलुङ/घरमा पाहुना आए भने स्वागत सत्कार गर्ने नेपालीको परम्परा छ । तर बागलुङको क्षेत्र नं. २ यस्तो छ, संसदीय निर्वाचनमा समेत पाहुना आए भने जिताउने गरेको इतिहास बनाएको छ । यो इतिहास बहुदलीय व्यवस्थाबाटै शुरु भएको हो ।

२०४६ सालमा बहुदल घोषणा भएपछि अहिलेसम्म नेपालमा ८ वटा संसदीय निर्वाचन भए । ६ वटा निर्वाचनमा पश्चिम बागलुङबासीले पाहुना उमेदवारलाई जिताएर पठाएका छन् ।

२०४८ को निर्वाचनमा कांग्रेसका उमेदवारी नभएको मौकामा कांग्रेसकै सहयोगमा स्वतन्त्र उमेदवार ओमप्रसाद गौचन निर्वाचित भए । मुस्ताङबाट बागलुङ झरेर सामाजिक सेवा, व्यवसाय र राजनीति गर्दै गौचन चुनाव लड्न तत्कालिन बागलुङ क्षेत्र नं. ३ पुगेका थिए । स्थानीय अन्य उमेदवार पराजित गर्दै गौचन विजयी बनेको इतिहास छ ।

त्यपछिका २०५१ र २०५६ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट नेता परी थापाले यो क्षेत्रमा चुनाव जिते । उनी बागलुङ क्षेत्र नं. १ का बासिन्दा हुन् । यहाँका स्थानीय पनि अन्य विभिन्न दलबाट उमेदवार थिए । तर जित हात पार्न सकेनन् ।

२०६४ मा देशभर माओवादीले जित्दा यहाँ कांग्रेसका निरज पुनले जिते । २०७० को निर्वाचनमा पनि स्थानीयबासी ज्ञानकुमारी छन्त्यालले जितिन् । उनीहरु दुवै कांग्रेसका थिए ।
२०७४ बाट फेरी यहाँ पाहुना उमेदवारले जितेका छन् । २०७४ मा एमाले–राजमोको गठबन्धनबाट माओवादी नेता देबेन्द्र पौडेल निर्वाचित भए । स्थानीय उमेदवार कांग्रेसका निरज पुन पराजित भए । २०७९ को निर्वाचनमा कांग्रेसको साथ लिएर माओवादीकै पौडेलले जिते । स्थानीय उमेदवार एमालेकी मञ्जु शर्मा पराजित भइन् ।

यो पटक पनि रास्वपाका सोम शर्मा विजयी भए । शर्माले १२ हजार ६ सय ४७ मत ल्याएर विजयी भए । यहाँ कांग्रेसका टेकराज पौडेल, एमालेकी मञ्जु शर्मा र नेपाली कम्युनिष्ट पार्टीका ज्ञाननाथ गैरे पराजित भए । ‘हाम्रो क्षेत्रमा स्थानीयलाई भन्दा बाहिरका पाहुनालाई माया गर्ने चलन पुरानो हो’ स्थानीय संगम घर्तीले भने, ‘बाहिरबाट आउनेको कुरा पत्याइदिएर मत दिने गरिएको छ ।’ चिन्दै नचिनेकाहरुले पनि पाहुनालाई मत दिने गरेको इतिहास रहेको उनले बताए ।

सोम शर्माको घर बागलुङ क्षेत्र नं. १ हो । उनी पत्रकारिता र सामाजिक अभियान्ताको रुपमा काठमाण्डौंमा धेरै बस्थे । रास्वपाको उमेदवार भएर आइपुग्दा पनि उनले सबै वडा पुग्न भ्याएनन् । तर जित उनैको भयो । वर्षौदेखि गाउँ बसेका नेताहरुले हार व्यहोरे ।

शर्माका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८ सय ६८ मत ल्याए । नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७ सय ९ मत पाउँदा एमालेकी मञ्जु शर्माले ७ हजार ८ सय ६४ ल्याइन् । पत्रकारिता र सामाजिक अभियान्ताको रुपमा लागेका शर्मा भ्रष्ट्राचार बिरोधी अभियानमा सक्रिय थिए । जेनजी आन्दोलनमा अग्रपंक्तिमा लागेका तस्बिरहरु उनका प्रसस्त देखिन्छ । साथै, माइतीघरमा हुने अन्य आन्दोलनमा पनि उनी सक्रिय देखिन्थे । उनी पहिलो पटक क्षेत्र नं. २ का अधिकांस गाउँ पुगेका थिए । उनले ती क्षेत्रको समस्या समाधानमा काम गर्ने बताएका छन् ।

क्षेत्र नं. १ मा भने लगातार कसैले जितेका छैनन् । २०४८ मा कांग्रेसका गोविन्द शर्मा कँडेलले जितेपछि २०५१ म एमालेका गोविन्द अधिकारीले जिते । कँडेल र अधिकारीको निधन भैसकेको छ । २०५६ मा कांग्रेसका टंक कँडेल, २०६४ मा एमालेका रामजी प्रसाद शर्मा, २०७० मा कांग्रेसका हरिबहादुर खड्का, २०७१ को उपनिर्वाचनमा कांग्रेसकै चम्पा खड्का, २०७४ मा एमालेका सूर्य पाठक र २०७९ मा राजमोका चित्रबहादुर केसीले निर्वाचन जितेका थिए । तत्कालिन समयमा ३ क्षेत्र रहेको बागलुङ संघियता पछि २ क्षेत्र बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->