सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

१४ महिलाले चुनाव जित्दा गण्डकीमा रास्वपाकी एक्ली सांसद गुरुङ

१४ महिलाले चुनाव जित्दा गण्डकीमा रास्वपाकी एक्ली सांसद गुरुङ

गण्डकीमा अन्य महिला उम्मेदवार नहुँदा र त्यसैमाथि गुरुङ समुदायको मतसमेत निर्णायक हुने स्थिति देखेर बिनालाई रास्वपाबाट टिकट दिइएको थियो ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८२, बुधबार

पोखरा/फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १४ जना महिला उम्मेदवारहरू प्रत्यक्ष निर्वाचित भएका छन् । निर्वाचित हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३ र नेपाली कांग्रेसबाट १ जना रहेका छन् । कांग्रेसको तर्फबाट दैलेखमा बासना थापा निर्वाचित भएकी हुन् ।

यसैगरी कोशी प्रदेशबाट रास्वपाका ४ महिला निर्वाचित भए । झापा १ मा २९ वर्षकी निशा डाँगी, झापा २ मा निवर्तमान उपसभामुख इन्दिरा रानामगर विजयी भए । यसैगरी रास्वपाबाटै मोरङ ५ मा ४२ वर्षीया आशा झा, मोरङ ६ मा ३१ वर्षकी उम्मेदवार रूबिना आचार्यले जिते ।

यसैगरी मधेस प्रदेशबाट रास्वपाका ३ महिला उम्मेदवार विजयी भए । सप्तरी १ बाटपुष्पाकुमारी चौधरी, सर्लाही १ बाट नितिमा भण्डारी कार्की र महोत्तरी ४ बाट गौरीकुमारी विजयी भएका हुन् । त्यस्तै बागमती प्रदेशमा धादिङबाट ३६ वर्षकी आशिका तामाङ विजयी भएकी छिन्। काठमाडौं १ बाट ३० वर्षकी रन्जु दर्शना न्यौपाने, ललितपुर ३ बाट ३६ वर्षकी डा. तोसिमा कार्की र चितवन ३ बाट ३० वर्षकी सोबिता गौतम विजयी भए ।

गण्डकी प्रदेशबाट एक र सुदूरपश्चिम प्रदेशबाट एक गरी २ जना महिला निर्वाचित भएका छन् । सुदुरपश्चिममको कैलाली १ बाट कोमल ज्ञवाली विजयी भएकी छन् ।

गण्डकीको कास्की ३ बाट बिना गुरूङ विजयी भइन्। उनी रास्वपा कास्कीको कोषाध्यक्ष छिन्। सामाजिक क्षेत्रमा क्रियाशील उनी पोखरामा विभिन्न व्यवसाय सञ्चालन गर्छिन् । गण्डकीमा अन्य महिला उम्मेदवार नहुँदा र त्यसैमाथि गुरुङ समुदायको मतसमेत निर्णायक हुने स्थिति देखेर बिनालाई रास्वपाबाट टिकट दिइएको थियो । बिनाको पारिवारिक पृष्ठभूमि आर्थिक हिसाबले पनि सम्पन्न थियो । उनी महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेकी थिइन् । सञ्जीवनी सिस्टर्स एसोसिएसन नामको संस्था खालेर संस्थापक अध्यक्षको रुपमा काम गरिरहेकी बिनाको नेतृत्वले सयौं महिलाहरुलाई सहयोग गर्ने, विभिन्न तालिम र सशक्तीकरण गर्ने काम गरिरहेको थियो । तमुधिं नेपालको केन्द्रीय सदस्य, लायन्स क्लब, सिर्जना संसार कोसेली घर, तमु सांस्कृतिक प्रतिष्ठानलगायत संस्था, कोपिला नेपालजस्ता संस्थाको नेतृत्व तथा आवद्धतामार्फत काम गरिरहेकी बिना यसअघि कुनैपनि राजनीतिक पार्टी र त्यसको कुनै पनि संगठनमा आवद्ध थिइनन् । गण्डकीका १८ मध्ये १५ सिट रास्वपाले जितेको छ । दुई क्षेत्रमा कांग्रेस र म्याग्दीबाट महावीर पुनले स्वतन्त्र जितेका छन् ।

बिनाले मतादाताको विश्वासलाई कहिल्यै मर्न नदिने प्रतिबद्धता जनाउँदै सुशासन र विकासका पक्षमा, नवयुवा र जेनजी आन्दोलनका सहिद, घाइतेका भावना बुझेर काम गर्ने बताइन् ।

नेपालको संसदमा प्रत्यक्ष जित्ने महिलाहरू
२०१५ मा नेपालमा पहिलो पटक संसदीय निर्वाचन भयो । त्यसबेला १०९ निर्वाचन क्षेत्रमा विभाजन गरेर भएका निर्वाचनमा ७ जना महिला उम्मेदवार रहेकामा द्वारिकादेवी ठकुरानी मात्र डडेलधुरा निर्वाचन क्षेत्र नम्बर ६६ बाट विजयी भएकी थिइन् ।

राजा महेन्द्रले शासन सत्ता हातमा लिएपछि सुरु भएको पञ्चायती व्यवस्थामा २०१९ देखि २०४३ सालसम्मको राष्ट्रिय पञ्चायतमा २१ जना सदस्य भएका थिए । २०४६ सालको परिवर्तनपछि भएका निर्वाचनमा २०४८ सालदेखि ५१ सालसम्म कांग्रेसका ५ र एमालेका ३ गरी ८ जना महिला प्रतिनिधि सभामा थिए । साहना प्रधान, विद्या भण्डारी, शैलजा आचार्य, उमा अधिकारी, थममाया थापा, मैयाँदेवी श्रेष्ठ र लीला कोइराला सांसद भएका थिए ।

२०५१ सालदेखि २०५५ सम्मको प्रतिनिधि सभामा कांग्रेसका ४ र एमालेका ३ गरी ७ जना महिला सांसद भएका थिए । कमला पन्त, मीना पाण्डे, लीला श्रेष्ठ (सुब्बा), लीला कोइराला, विद्यादेवी भण्डारी, शैलजा आचार्य र साहना प्राधान सांसद भए । २०५६ सालदेखि २०५९ सालसम्म प्रतिनिधि सभामा १२ जना महिला निर्वाचित भएका थिए । उनीहरुमा ६ जना एमालेबाट, ५ जना कांग्रेस र एक जना राप्रपाबाट सांसद भएका थिए । अष्टलक्ष्मी शाक्य, उर्मिला अर्याल, कमला पन्त, काशी पौडेल, कुन्ता शर्मा, चित्रलेखा यादव, तिर्थता गौतम, रेणुकुमारी यादव, विद्यादेवी भण्डारी, सावित्री बोगटी (पाठक), सुशिला नेपाल र सुशिला स्वाँर सांसद भएका थिए ।

२०६३ मा तत्कालिन विद्रोही माओवादीका प्रतिनिधि समेटेर ३३० सदस्यीय व्यवस्थापिका संसद गठन गरिएकोमा सबै दलबाट ५७ जना महिला समेटिएका थिए । संसदमा पहिलो पटक १७ प्रतिशत महिला संसदमा पुगेका थिए ।

२०६४ सालमा ६०१ सदस्यीय संविधान सभको चुनाव भयो। जसमा निर्वाचनबाट ३० जना, समानुपातिक प्रणालीबाट १६१ जना र मन्त्रिपरिषदबाट मनोनित ६ जना गरी १९७ जना महिला सहभागी थिए । अर्थात् कुल सदस्य संख्याको ३२ दशमलव ७८ प्रतिशत महिला संसदमा पुगेका थिए ।

२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा १० जना महिला निर्वाचित भए । समानुपातिक तर्फबाट १५९ र मन्त्रिपरिषदबाट ४ जना गरी १७६ महिला संविधानसभामा पुगे । २०७४ सालमा भएको निर्वाचनमा प्रत्यक्ष निर्वाचित ६ जना र समानुपातिक प्रणालीबाट ८४ महिला सांसद भए ।
२०७९ सालको निर्वाचनमा ९ महिला प्रत्यक्ष निर्वाचित भएका थिए। समानुपातिक तर्फबाट ८३ महिला चुनिएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->