बागलुङ/गलकोट र ताराखोलाको सिमानामा पर्ने पर्यटकीय घुम्टे लेक ‘गुराँसको पहाड’को रूपमा परिचित छ । वैज्ञानिक अध्ययन नभए पनि घुम्टे लेकमा दर्जन प्रजातिका गुराँस भएको अनुमान गरिन्छ । वनमा सडक विस्तार तथा फँडानीले गुराँस मासिँदै गएपछि यसको संरक्षणमा उत्सव हुँदै आएको छ ।
समुद्री सतहदेखि १० हजार ३ सय ९३ फिटको उचाइमा रहेको घुम्टे लेक प्राकृतिक, धार्मिक र जैविक विविधताले महत्त्वपूर्ण मानिन्छ । घुम्टे लेकमा पूर्वाधार बनेपछि पर्यटकीय चहलपहल पनि बाक्लिन थालेको छ । यही पहाडको प्रचारप्रसार, पर्यटकीय विकास तथा प्रवद्र्धन गर्न १४ औं लालीगुराँस उत्सव हुने भएको छ ।
गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजना, गलकोट पण्डित समाज गलकोट एवम् १४ औं लालिगुराँस उत्सव तथा विश्व शान्ति यज्ञ समिति गलकोटको सह–आयोजनामा आगामी चैत्र ३० देखि वैशाख १ गतेसम्म लालिगुराँस उत्सव तथा चौँथो विश्व शान्ति कार्यक्रम हुने भएको हो ।
कार्यक्रमअन्तर्गत चैत्र ३० गते एकादशीका दिन पूर्वाङ्ग पूजा, रुद्री पाठ, साँझ भजन किर्तन, सन्ध्या आरती, सूर्यास्त अवलोकन, वैशाख १ गते नित्य पूजा, संक्रान्ति द्धोष पूजा, नवग्रह शान्ति पूजा, लक्ष्यवर्ती बत्ती प्रज्वलन र पौवा उद्घाटन गरिने घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले बताए ।
पाँच पाण्डवहरू घुम्दै आउँदा ५ वर्षीय बालकले तपस्या गरेकाले सोही समयदेखि घुम्टेमा धार्मिक मेला लाग्ने गरेको र विभिन्न तपस्वीहरूले त्यहाँ तपस्या गरेको धार्मिक विश्वास रहेको गलकोट–७ का वडाध्यक्ष राजबहादुर थापाले बताए ।
पछिल्लो समय प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्था राख्ने पर्यटकको रोजाइमा घुम्टे लेक पर्न थालेको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अनुसार, वर्षेनी हजारौं पर्यटकले घुम्टे लेक चढ्ने गरेका छन् । घुम्टे चढ्न सहज पदमार्ग र पूर्वाधार बनेपछि पर्यटकको संख्या बढ्दै गएको हो । घुम्टेको धुरीमा अवस्थित सिद्ध र भैरवको मन्दिरले धार्मिक पर्यटनलाई थप बढवा दिएको अध्यक्ष बस्नेत बताउँछन् ।
पदयात्रामा रमाउने पर्यटकका लागि पनि घुम्टे आकर्षक गन्तव्य हो । घुम्टे लेक चुमेपछि गलकोट नगरपालिका वडा नं. ११ रिघाका सञ्जु श्रीसले सिद्ध र भैरवको दर्शनसँगै प्रकृतिमा रमाउँदा आनन्द महसुस भएको बताए ।
केन्द्रले घुम्टे चढ्न रिचौर, टेउवा हुँदै जाने पदमार्ग बनाएपछि पर्यटकलाई थप सहज भएको छ । पदमार्ग, मन्दिरको स्तरोन्नति लगायतका पूर्वाधारका काममा हालसम्म १ करोडभन्दा बढीको काम भएको केन्द्रले जनाएको छ । पर्यटन मन्त्रालय र स्थानीयको जनश्रमदानमा पदमार्गको काम भएको अध्यक्ष बस्नेतले बताए ।
प्राकृतिक सुन्दरता, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसको घना जंगल घुम्टेका सौन्दर्य हुन् । वसन्त ऋतुमा फुल्ने लालीगुराँस हेर्नका लागि पनि पर्यटक घुम्टे चढ्ने गरेको अध्यक्ष बस्नेतको भनाई छ । सिद्धेश्वरको गुफा, राम्चे ओडार, गोठथरी, बुलाहा बाबाको आश्रम, भीमसेन लौरी, दमाहा ढुंगा, दहपानी, टोड्केपानी, पैराका सोतो शालीग्राम घुम्टेका पर्यटकीय आकर्षण हुन् ।





