म्याग्दी/बेनी नगरपालिका–४ सिंगामा दैनिक १२ सय लिटर दुध संकलन तथा विक्री हुने गरेको छ । यहाँका दुई वटा कृषि सहकारीले आफ्ना कृषकहरुले उत्पादन गरेको दुध खरिद गरेर बजारीकरण गरेर कृषकलाई उत्साहित बनाएका छन् । बेनी नगरपालिका ४ को बास्कुना कृषि सहकारी र शुभकामना कृषि सहकारीले गाई भैंसीको दुध संकलन र बजारीकरण गरेर कृषकहरुलाई स्वदेशमै मेहनत गरेमा आम्दानी गर्न सकिने रहेछ भन्ने धारणा विकास गराएका छन् ।
सहकारीको अगुवाइमा कृषकहरुको दूध संकलन तथा विक्री हुने हुँदा कृषकले आर्थिक उपार्जनका लागि टाढा जान पर्छ भन्ने मान्यतालाई पनि गलत सावित गरिदिएको छ । बेनी नगरपालिका ४ सिंगामा २०६४ सालमा स्थापना भएको शुभकामना कृषि सहकारीले चालु आर्थिक वर्षको हाल सम्म झण्डै ९२ हजार लिटर दुध संकलन गरेर बिक्री गरेको सहकारीका दुग्ध व्यवस्थापन समितिका संयोजक कोपिलाल पौडेलले जानकारी दिए ।
उनका अनुसार सहकारीले गत आर्थिक वर्षमा ७८ जना शेयर सदस्य कृषकहरुबाट एक लाख ४८ हजार पाँच सय ९५ लिटर दूध संकलन गरेर विक्री गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा ७२ जना कृषकहरुबाट कुल एक लाख तीन हजार नौ सय ७५ लिटर दूध संकलन गरेर विक्री गरेको थियो ।
हाल सहकारीका सदस्य रहेका ८४ जना कृषकहरुले पालेको गाईभैंसीको दुध नियमित रुपमा संकलन गरेर सदरमुकाम बेनी तथा स्थानीय बजारमै पनि बिक्री गर्ने गरेको छ । सहकारीको संकलन केन्द्रमा दुध ल्याउने कृषकहरुले हरेक महिनाको १० गते सम्ममा आफ्नो खाता मार्फत नै रकम भुक्तानी पाउने गरेका पौडेलको भनाई छ ।

सहकारीले हरेक दिन बिहान र बेलुका ५ बजे देखि संस्थाको कार्यालयमै दूध संकलन गर्ने र बेनी नगरपालिका–४ सिंगा तथा बेनी नगरपालिका–७ र ८ बेनी बजारका साथै जलजला गाउँपालिका–३ पर्वत बेनी सम्ममा विक्री वितरण गर्दै आएको दुग्ध संकलन कर्मचारी डण्डपाणी पौडेलको भनाई छ । विहान ५ बजे देखि नै सिंगामा दूध संकलन गरेर ७ बजे संकलन केन्द्रबाट बजार तर्फ पठाइने र साढे ८ बजे सम्म दुध प्रयोगकर्ताको भान्सा सम्म पु¥याउने प्रयास गरिरहेको छ ।
कोपिलाल पौडेल दूग्ध संयोजकको रुपमा सहकारीको दूध व्यवस्थापनको काम हेर्न थाले पछि कृषकहरुलाई आवश्यक पर्ने गाई तथा भैसी खरिदका लागि सहकारीले नै ऋण दिने समेत गरेको कृषक नर्मता पौडेलको भनाई छ । शुभकामना कृषि सहकारी संस्था लिमिटेडले गाईभैंसी खरिदका लागि ४२ लाखभन्दा बढी ऋण लगानी गरेको छ ।
साना किसान बैंक मार्फत अनुदानमा ल्याएको रकम ९ प्रतिशत र सहकारीको आफ्नो रकम १२ प्रतिशत सम्म ब्याजदरमा लगानी गर्ने गरेको सहकारीका अध्यक्ष गोविन्द पौडेलले बताए । ३२ जना कृषकले गाईभैंसी खरिदका लागि सहकारीबाट ऋण लगेको उनको भनाई छ । छ वटा भैसीहरु खरिद गर्दा सहकारीबाटै ऋण लिएको र हाल उक्त ऋण तिरि सकेको कृषक नर्मताको भनाई छ ।
त्यस्तै अर्को बास्कुना कृषि सहकारी संस्था लिमिटेडले पनि कृषकले पालेका गाईभैंसीको दुध संकलन गरेर पोखरामा रहेको सुजल डेरी उद्योगमा पठाउने गरेको छ । गएको असोज महिना देखि दुध संकलन गर्न थालेको सहकारीले हरेक दिन आठ सय लिटर दुध संकलन गर्ने गरेको छ । सिंगामा संकलन भएको दुध सुजल डेरि उद्योगको गाडीले पोखरा लिएर जाने गरेको संस्थाका अध्यक्ष तिलक गुरुङले जानकारी दिए ।
बेनी नगरपालिका वडा नं. ४ को समन्वयमा सुजल डेरी उद्योग सँग भएको सम्झौता बमोजीम दुध पोखरा पठाउने गरिएको वडा अध्यक्ष अणबहादुर खड्काको भनाई छ । स्थानीय तहको अग्रसरतामा शुरु भएको दुध संकलनले सकारात्मक प्रभाव पारेको र आफूले पनि गाईभैंसी पालेको र जनताको कामबाट फुर्सद मिल्दा आफ्नो कृषि कर्ममा लाग्ने गरेको उनको भनाई छ । सुजल डेरी उद्योगले हरेक १५ दिनमा दुधको रकम कृषकलाई भुक्तानी गर्ने गरेको छ । उद्योगले सहकारी संस्थाको खातामा जम्मा गरिदिए पछि सहकारीबाट कृषकहरुले रकम बुझ्ने गरेका छन् ।
कृषकले उत्पादन गरेर सहकारीमा ल्याएपछि उक्त दुधलाई पोखरा स्थीत सुजल डेरीमा पढाउने भएकाले गुणस्तरीय दुध उत्पादन गरेको खण्डमा बजारीकरणलाई समस्या नहुने देखिएको हो । समावेशी संकलन केन्द्र भएको कारणले पनि कृषकहरुको उत्साह बढेको सहकारीका सचिव खड्ग पुनको भनाई छ ।
बिहानै उठेर छ वटा गाईको हेरचाह गरेपछि गाई दुहेर अनि सहकारी सम्म पुगाउने कामले आफूलाई व्यस्त बनाउने गरेको कृषक होमबहादुर बुढाले सुनाए । कतिपय कृषकहरुले मोटरसाइकल, गाडी, तथा ट्याक्टरमै राखेर संकलन केन्द्र सम्म ल्याउने भए पनि धेरै कृषकहरुले हातमा झुण्ड्याएर तथा पिठ्युँमा बोकेरै ल्याउने गरेका छन् ।
असोज महिना देखि दुध संकलन गर्न थालेको बास्कुना कृषि सहकारीले हाल सम्म एक लाख २ हजार लिटर दुध सुजल डेरी पोखरालाई पठाएको छ । सहकारीले उक्त परिणाममा दुध पठाउँदा डेरी मार्फत करिब ६५ लाख रुपियाँ सहकारीमार्फत कृषकले पाएका छन् । सहकारीले छ महिनाको अवधिमा दुधबाटै ६५ लाख रुपियाँ आफ्ना कृषकलाई उपलब्ध गराएको हो ।





