बागलुङ/प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशिल खड्का यसअघि कांग्रेस निकट थिए । प्रदेश प्रतिनिधि समेत बनेका खड्काले यो पटक पार्टी फेरेर संसदको यात्रामा पुगे ।
तीन वर्षअघि रास्वपाका नेता स्वर्णिम वाग्लेसँग नजिक बनेका खड्काले यो पटक टिकट पाएर विरासतमा रहेका दललाई फराकिलो मतले पराजित गरेर बागलुङमा स्थापित भए । राजमोको किल्ला, कम्युनिष्ट गढ र कांग्रेसको जनमतलाई उनले परास्त गरे ।
बिबिसीले गरेको अध्ययनमा १ सय प्रभावशाली महिलामा अघिल्लो वर्ष छनौट भएकी बागलुङकी शिलसिला आचार्यसँगको ओभ्नी भेन्चर्समार्फत खड्काले हिमाल सफाइ लगायतका अभियानमा जोडिएर यसअघि केही नाम कमाइसकेका थिए । यो पटक संसद जित्ने मात्र नभइ भोलीका दिनमा पनि वातावरण र आइटीको क्षेत्रमा रोजगारी सिर्जना गर्न सक्नेमा उनी विश्वस्त छन् ।
कोरोना महामारीमा शुरु गरेको फोहोर व्यवस्थापन अभियानमा आचार्यका पति समेत रहेका खड्काले आर्थिक पाटो हेरेका थिए । बागलुङ १ बाट निर्वाचित खड्काले अर्थशाष्त्रमा स्नातकोत्तर गरेका छन् । उनले अब संसदमा कानून बनाउने अभियानसहित हरित वातावरण र रोजगारीको लागि काम गर्ने बताए । ५ वर्षअघि स्थापित ओभ्नी भेन्चर्समार्फत उदाएका सुशिलले नियमित रुपमा आफ्नो कामलाई पनि गति दिने बताएका छन् ।
सडकमा फालिएका प्लाष्टिक बोतल र अन्य नकुहिने सामानको रिसाइकल गर्ने काममा लागेर रोजगार सिर्जना र वातावरण सफाइमा काम गरेकी आचार्यको यो अभियानलाई नै प्रभावकारी बनाउन खड्काले साथ दिने बताए । विभिन्न कम्पनीका उद्यमीसँग मिलेर देशका सबै सहरबाट सयौं टन फोहोर संकलन गरेर व्यवस्थापन गर्ने लक्ष्य ओम्नी भेन्चर्सको छ । वार्षिक ५ हजार टन फोहोर रिसाइकल गर्ने गरेका खड्का दम्पत्ति अब राज्यको निकायमा समेत पुगेकाले युवा पुस्तामा जोडिएर अगाडि बढ्ने प्रतिवद्दता समेत जनाएका छन् ।
३९ वर्षिय खड्का र ३८ वर्षिय आचार्यको यो जोडीले संसदको यात्रालाई मात्र सिमित नबनाइ अब आम नागरिकको रोजगारीमा काम गर्ने लक्ष्य बनाएका छन् । ‘युवाहरु नेपालमै बस्ने, मासिक ४० हजार कमाउने अभियानमा सयौंलाई जोड्न सकिन्छ’ खड्का भन्छन्, ‘संसद सदस्यको रुपमा राज्यको नीति बनाउने, युवाहरु स्वदेशमै बस्ने बनाउने हो ।’
खड्काले बागलुङ १ बाट रास्वपाको उमेदवार बनेर २० हजार ९ सय २७ मतले विजयी भए । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका भीमबहादुर श्रीष रानाले ११ हजार ९ सय ८४ मत ल्याए । खड्काले श्रीषलाई ८ हजार ९ सय ८३ मतान्तरले पछि पारेका थिए ।
बागलुङ नगरपालिका वडा नं. ३ गुठी घर भएका खड्काले बिद्यालय तहको पढाइ बेनी र बागलुङमा पढे । स्नातक र स्नातकोत्तर तह अमेरिकामा पढेका हुन् । राजनीतिक रुपमा उनी र उनको परिवार कांग्रेस निकट हो । रास्वपा नेता स्वर्णिम वाग्लेसंगै खड्का पनि रास्वपा प्रवेश गरी उनकै सचिवालयमा समेत काम गरेका थिए ।
प्लाष्टिकजन्य वस्तुको उपयोगिताको क्षेत्रमा कार्यरत र वातावरणको क्षेत्रमा क्रियाशिल भएकै बेला उनले टिकट पाएका थिए । २०७९ को निर्वाचनमा कांग्रेस घोषणापत्रमा वातावरण संरक्षणको विषय लेखनमा शिलसिलाले साथ दिएपछि उनीहरु वाग्लेसँग निकट थिए । अझैपनि वातावरण संरक्षणको क्षेत्रमा पुनः क्रियाशिल, सुशासनको पाटोमा काम गर्ने र युवालाई वातावरण र आइटी क्षेत्रमा रोजगार बनाउने लक्ष्यमा क्यालेन्डर बनाएर जाने खड्काको योजना छ । उनले भनसुनको राजनीति भने नगर्ने बताएका छन् ।





