म्याग्दी/ टिमुर उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको बेनी नगरपालिका–९ तोरीपानीमा छोप बनाउने तथा प्याकेजिङसम्बन्धी तालिम सम्पन्न भएको छ । गुणस्तरीय खाना बनाउनका लागि टिमुरको छोप तथा प्याकेजिङ तालिम आयोजना गरिएको थियो ।
संरक्षक कृषि सहकारी संस्थाद्वारा आयोजित तालिम मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू र तिनका संरक्षकलाई आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लिड्स नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममार्फत तोरीपानी क्षेत्रमा प्रशस्त मात्रामा उत्पादन हुने टिमुरलाई प्रशोधन गरेर उपभोक्ताको भान्सासम्म पुराउन सहयोग मिल्ने अपेक्षा गरिएको छ । स्थानीय महिलालाई घरमै बसेर टिमुरको छोप तयार गर्ने, सुकाउने तथा प्याकेजिङ गर्ने तरिकाबारे व्यवहारिक प्रशिक्षण दिइएको लिड्स नेपाल म्याग्दीकी संयोजक निशा महतले जानकारी दिइन । उनका अनुसार तालिमले विशेष गरी मानसिक बिरामी तथा उनीहरूका संरक्षकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
संस्थाले ग्रामीण क्षेत्रका विभिन्न गाउँ–बस्तीमा आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको संयोजक महतले बताइन् । विद्यालयमा अध्ययनरत विपन्न तथा दलित विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम पनि निरन्तर सञ्चालन भइरहेको बताउँदै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
तालिमका प्रशिक्षक विष्णु गर्बुजा मगरले सहभागी कृषकलाई टिमुर छनोट गर्ने तरिका, सफाइ गर्ने विधि, सुकाउने प्रक्रिया, प्रशोधन गर्ने तरिका, गुणस्तर कायम गर्ने उपाय तथा आकर्षक प्याकेजिङका बारेमा सहजीकरण गरेकी थिइन् । प्रशोधित टिमुरलाई ब्रान्डिङ गरी बजारमा कसरी बिक्री वितरण गर्न सकिन्छ भन्ने विषयमा पनि व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।
त्यसैगरी संरक्षक कृषि सहकारी संस्थाका संयोजक शिवकुमार खत्रीले कृषि तथा आयआर्जन कार्यक्रम अन्तर्गत स्थानीय कृषकलाई विभिन्न सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिए । उनका अनुसार मिनी टिलर वितरण, तरकारी खेतीका लागि बीउबिजन, टनेल निर्माण सामग्री उपलब्ध गराउने तथा समुदायमै कुटानी–पिसानी मिल स्थापना गर्ने जस्ता कार्यक्रम सञ्चालन गरिएको छ । बेनी नगरपालिका–९ र १० अन्तर्गत पर्ने तोरीपानीसँगै डावा, काफलबोट, धुपिबोट, ढोलठान, नेप्टेचौर र गिठिनी क्षेत्र टिमुर खेतीका लागि उपयुक्त मानिन्छन् ।





