मुस्ताङ/ हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा स्याउ तथा ओखर खेती प्रविधि सम्बन्धी अधिकृतस्तरको छ दिने तालिम शुरु भएको छ । कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र सुर्खेतको चालु वर्षको वार्षिक स्वीकृत कार्यक्रमको तेश्रो त्रैमासिक लक्ष्य अनुसारको कार्यक्रम शुरु भएको हो ।
फागुन २७ गते बुधबारदेखि शुरु भएको तालिम चैत २ गते सकिने तालिमका मुख्य प्रशिक्षक पद्मनाथ आत्रेयले जानकारी दिए । कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र सुर्खेतले शीतोष्ण वागवानी विकास केन्द्र मुस्ताङमा कायृक्रमको आयोजना गरेको हो । तालिम प्रत्यक्ष अभ्यास सहित गर्नुपर्ने भएकोले मार्फालाई उचित स्थानका रुपमा छनौट गरी तालिम आयोजना गरिएको तालिमका संयोजक कृषि प्रशार अधिकृत रमेश खड्काले जानकारी दिए ।
तालिममा जुम्ला, मुगु, कालिकोट, हुम्ला, डोल्पाका कृषि विकास कार्यालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुर्खेतका अधिकृतहरुको सहभागिता रहेको छ ।
त्यसैगरी ओखर तथा स्याउ खेती गरिरहेका व्यवसायीहरुलाई व्यवसायीक स्याउ तथा ओखर खेती प्रविधि सम्बन्धी तालिम पनि मार्फामा सञ्चालनमा रहेको छ । उक्त तालिममा हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, रुकुम पश्चिमका गरी १२ जना अगुवा कृषक उद्यमीको सहभागिता रहेको तालिमका संयोजक पारस गिरीले बताए ।





