सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्राकृतिक उपचारको केन्द्र बन्दै म्याग्दीको सिंगा तातोपानी कुण्ड, बिरामीको चाप ह्वात्तै बढ्यो

प्राकृतिक उपचारको केन्द्र बन्दै म्याग्दीको सिंगा तातोपानी कुण्ड, बिरामीको चाप ह्वात्तै बढ्यो


  • ढाेरपाटन संवाददाता
  • चैत्र २ २०८२, सोमबार

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिकास्थित सिंगा तातोपानी कुण्ड पछिल्लो समय प्राकृतिक चिकित्साको भरपर्दो गन्तव्य बनेको छ। विरेनुनको गन्ध आउने र ५० डिग्री सेल्सियस तापक्रमको प्राकृतिक तातोपानीमा शरीर डुबाएर उपचार गराउन अहिले देशका ७७ वटै जिल्ला र विदेशबाट समेत बिरामीहरूको ओइरो लागेको छ।

अस्पतालको औषधि र लामो समयको उपचारबाट निको नभएका ग्यास्ट्रिक, बाथ, छाला सम्बन्धी समस्या, ढाड दुख्ने र पुराना चोटपटक निको हुने जनविश्वासका कारण यहाँ आउनेहरूको संख्या वार्षिक २० हजार नाघिसकेको छ। कपिलवस्तुका रामलाल चालिसे र चितवनकी चमेली घर्ती क्षेत्री जस्ता धेरै व्यक्तिहरू विगत १० वर्षदेखि नियमित रूपमा यहाँ आउने गरेका छन्। तातोपानीमा डुबेपछि ग्यास्ट्रिक र हाडजोर्नीको समस्या निको भएको उनीहरूको अनुभव छ।

अस्पताल जाँदा हुने मोटो खर्च र समयको बचत हुने भएकाले पनि सर्वसाधारणको आकर्षण बढेको हो। हाल कुण्डमा दैनिक एक हजार दुई सय जनाभन्दा बढीले स्नान गरिरहेका छन्। असोजदेखि वैशाखसम्म स्नानका लागि उपयुक्त सिजन मानिने भए पनि चुनावका कारण केही समय घटेको चाप अहिले पुनः बढेको छ।

कुण्ड व्यवस्थापन समितिले महिला र पुरुषका लागि छुट्टाछुट्टै समय तालिका निर्धारण गरेको छ। एक पटकमा २५० जनासम्मले स्नान गर्न मिल्ने गरी पोखरीको व्यवस्थापन गरिएको छ भने एकान्तमा नुहाउन चाहनेका लागि छुट्टै पोखरीको समेत सुविधा छ।  १० दिनसम्म स्नान गर्नका लागि प्रतिव्यक्ति ३ सय ५० रुपैयाँ शुल्क तोकिएको छ। संकलित पर्यटकीय शुल्कको निश्चित हिस्सा सरकार र बेनी नगरपालिकालाई करको रूपमा बुझाउने गरिएको छ। गत वर्ष मात्रै नेपालका ६६ जिल्लाका साथै कोरिया, युक्रेन, रसिया र भारत लगायतका देशबाट पर्यटकहरू यहाँ आएका थिए।

पर्यटक र बिरामीको बढ्दो चापसँगै स्थानीय होटल र होमस्टेहरू पनि भरिभराउ भएका छन्। तातोपानी क्षेत्रमा रहेका करिब २० वटा साना(ठुला होटलहरूमा पाहुना अटाउन मुस्किल परेको छ। कतिपय पाहुनाहरूले कोठा र ग्यास भाडामा लिएर आफैँ पकाएर खाने व्यवस्था समेत मिलाएका छन्। तातोपानीको स्नानसँगै म्याग्दी नदीको असला माछाको परिकार यहाँको मुख्य आकर्षण बनेको छ।  प्राकृतिक रूपमै निको हुने आशामा टाढा(टाढाबाट मानिसहरू आउनुले सिंगा तातोपानी कुण्डलाई म्याग्दीको मात्र नभई देशकै महत्त्वपूर्ण पर्यटकीय र स्वास्थ्य केन्द्रको रूपमा स्थापित गरेको छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->