पोखरा/ पोखराको लेकसाइडस्थित टेम्पल ट्री रिसोर्ट प्रा.लि. स्थापनाको १५ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा रिसोर्टले विभिन्न सामाजिक कार्य गर्दै वार्षिक उत्सव मनायो । आइतबार बिहान लेकसाइडको स्ट्रिट नम्बर ६ वरपर सरसफाई तथा डष्टविन वितरण गरेको थियो । त्यसैगरी मानव सेवा आश्रम, हेम्जामा खाद्य सामग्री वितरण गरेको थियो ।
दिवसका अवसरमा रिसोर्ट परिसरमै आयोजित समारोहमा रिसोर्टमा कार्यरत उत्कृष्ट कर्मचारी सम्मान तथा आपसमा शुभकामना आदान–प्रदान गरियो । रिसोर्टमा लगातार १५ वर्षसम्म काम गर्दै आएका ऋषिराज गिरीलाई दीर्घसेवा कर्मचारीको सम्मान प्रदान गरियो । त्यसैगरी १० वर्ष देखि निरन्तर रुपमा काम गर्दै आएका रमेश गुरुङ तथा यो वर्षको सर्वोत्कृष्ट कर्मचारीको रुपमा युरोज श्रेष्ठलाई पनि सम्मान गरियो । समारोहमा रिसोर्टका निर्देशक बिमल नहर्की, निर्देशक रन्जनकृष्ण कायस्थको पनि सहभागिता रहेको थियो ।
समारोहमा बोल्दै रिसोर्टका अध्यक्ष बसन्त गौतमले टेम्पल ट्री स्थापनाकालदेखि हालसम्मका सङ्घर्ष तथा सफलताका क्षणहरू स्मरण गरे । नेपालको पर्यटन उद्योगमा विगत केही वर्ष यता विभिन्न खालका आरोह अवरोह आइरहेको बताउँदै यतिबेला पनि अन्तर्राष्ट्रिय युद्धका कारण पर्यटन क्षेत्रमा फेरि समस्या आउन सक्ने उनले बताए । यो बेला उपलब्ध पर्यटकहरूलाई उत्कृष्ट सेवा दिँदै उहाँहरूको मन जित्नुपर्ने गौतमको भनाई थियो ।
रिसोर्टका निर्देशक प्रेमकृष्ण श्रेष्ठले रिसोर्टमा कार्यरत दक्ष तथा इमान्दार, लगनशील कर्मचारीकै कारण टेम्पल ट्री आज पोखराको प्रतिष्ठित रिसोर्टका रुपमा स्थापित हुन सफल भएको जनाए । सफलताको पछाडि रिसोर्टका साझेदारहरुको धैर्यता तथा व्याकबोण्डका रूपमा रहेका कर्मचारी भएको उनको भनाइ थियो । समारोहमा रिसोर्टका अपरेसन म्यानेजर सुमित भण्डारीले स्वागत मन्तव्य तथा एच.आर. म्यानेजर रामकृष्ण कडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।समारोहमा रिसोर्टमा कार्यरत कर्मचारीहरूले विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।





