पोखरा/फागुन २१ को चुनावअघि गंगा छन्त्यालले घोषणा थियो, ‘म अपांगता, गरिबी र सामाजिक तिरस्कारसँग जुध्दै हुर्केकी महिला हुँ । जीवनले मलाई एउटा सत्य सिकायो — कमजोरी व्यक्तिमा होइन, प्रणालीमा हुन्छ । समावेशी, न्यायपूर्ण र अवसरमुखी समाज निर्माण गर्ने मेरो ध्येय हो । जहाँ अपांगता भएका व्यक्तिहरुले सम्मानपूर्वक बाँच्न पाउन्,रोजगारी र अवसर सिर्जना होस् । सीमान्तकृत समुदायका आदिवासी/जनजाति, दलित, मधेसी, मुस्लिम, यौनिक तथा अल्पसंख्यक समुदायको आवाज संसदको केन्द्रमा पुगोस् ।’
त्यो दिन आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचिमा रहेकी गंगाको नाम निर्वाचन आयोगमा पुगेसँगै माननीय बन्ने टुंगो लागेको छ ।
बागलुङको सामान्य परिवारमा जन्मेकी गंगालाई सानैमा पोलियोले छोयो । पोलियोको कारण खुट्टा लुलो भएपछि १ घण्टा टाढाको स्कुल जान सक्ने कुरै भएन ।बेनी मामाघर बसेर ६ कक्षासम्म पढिन । तर, हियाउने र वचन लाउनेहरुले अति गरे । उनले आमालाई दुखेसोसहित चिठी लेखिन् । आमाको मनमा छोरीले पढोस् भन्ने थियो । आमाकै करबलमा उनको परिवार काठमाडौं स¥यो । चिया पसल गर्दै बा आमाले उनलाई जोरपाटीको खगेन्द्र नवजीवन केन्द्र पठाए । एसएलसीपछि जागिर खोज्न हिँडिन् तर अपाङ्गता बाधक बन्यो । चारपांग्रे स्कुटर लिएर पठाओ चालक बन्न अघि सरिन् तर चारपाङ्ग्रे स्कुटरमा मान्छे चढ्न नमान्ने । दुःखको मेलोले छाडेन । त्यही उपक्रममा अपाङ्गको क्षेत्रमा काम गर्ने संस्थाको सहयोगमा सिलाइ कटाइ सिकिन् ।जीवनले नयाँ मोड लियो । त्यही संस्थाले मेसिन दियो । सिलाइको काम थालिन् । सहयोगी हात थपिए । उनले चाहिँ सिन्धुपाल्चोकका प्रेमी कुशल तामाङको हात समाइन् । सिलाइ केन्द्र गार्मेण्टमा बदलियो । अरूलाई रोजगारी दिनसक्ने भइन् । आफुजस्तै अपाङ्गलाई रोजगारी दिँदै गर्दा उनले समाजसेवामा हात लम्काइन् । अपाङ्गहरुको अधिकारको पैरवी गर्ने उनी ह्विलचियरमा बास्केटबल खेल्छिन्÷दौडन्छिन् ।
पारा ओलम्पिकमा भाग लिएकी गंगाले उद्यमी महिलाको परिचय पाएकी छिन् । उनको मिहिनेतलाई धेरै संघ संस्थाले सम्मान पनि गरेका छन् । अधिकारको क्षेत्रमा काम गर्दागर्दै अभियन्ता बनेकी गंगा रास्वपासँग जोडिन पुगिन् । परिवर्तनको खोजीमा रास्वपा रोजेकी उनी बागलुङ र म्याग्दीमा बसोबास गर्ने अल्पसंख्यक छन्त्याल जातिको प्रतिनिधित्व गर्दै संसद पुगेकी छन ।
गण्डकी प्रदेशका १८ मध्ये १६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको रास्वपाले १५ठाउँमा जितेको छ भने म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनलाई सघाएको थियो । तीमध्ये प्रत्यक्षतर्फ कास्की ३ बाट बिना गुरुङमात्र उम्मेदवार थिइन् । उनी भारी मतले विजयी भएकी छन् भने रास्वपाबाट गण्डकीको प्रतिनिधित्व गर्ने गंगा अर्की महिला बनेकी छ्न् ।





