सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सहकारीका बचतकर्ता पैसा फिर्ता माग्न नगरपालिकामा

सहकारीका बचतकर्ता पैसा फिर्ता माग्न नगरपालिकामा

कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्यहरु ४६ जनाले संयुक्त रुपमा बेनी नगरपालिकामा पुगेर आफूहरुको बचत फिर्ताका लागि सहजीकरण गरिदिन दबाब दिएका हुन् ।


  • अमृत बास्कुने
  • चैत्र ४ २०८२, बुधबार

म्याग्दी/बेनी नगरपालिका ७ मा संगम चोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुले बचत फिर्ताको सहजीकरणका लागि नगरपालिकामा दवाव दिएका छन् । सहकारी संस्थाले भने आफूहरुले प्रयास गरी रहेको र ७ महिनाको अवधिमा झण्डै १० करोड फिर्ता गरेको जनाएको छ ।

कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्यहरु ४६ जनाले संयुक्त रुपमा बेनी नगरपालिकामा पुगेर आफूहरुको बचत फिर्ताका लागि सहजीकरण गरिदिनका लागि मंगलबार दवाव दिएका हुन् । सहकारीका कुल २४२ जना शेयर सदस्यमध्येबाट पुगेका ४५ सदस्यहरुको दवाव पछि नगरपालिकाले सहजीकरण बैठक गरेको थियो । बैठकमा संस्थाका अध्यक्ष राजेश शाक्य,बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, सहकारी शाखा प्रमुख प्रभा शर्मा तथा शेयर सदस्यहरु बीचको छलफल पछिमा जति सक्यो चाँडो बचत फिर्ता गर्ने सहमती भएको सहकारीका बचतकर्ता सन्दीप भण्डारीले बताए ।

उनले बेनी नगरपालिकाको नगर कार्यपालिकाको निर्णय अनुसार फागुन मसान्तभित्र रकम फिर्ता गरिसक्नु पर्ने भनिएको भए पनि सो अनुसार नभएको हुनाले नगरपालिकामा शेयर सदस्यहरुले दवाव दिएका हुन् ।

२०८२ साउन २५ गते बेनी नगरपालिकाको प्रमुख सुरत केसीको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको बैठकले समय सिमा तोकेरै बचत फिर्ता गर्नका लागि निर्देशन दिएको थियो । कार्यपालिकाले २०८२ मंसिर मसान्त भित्रमा सहकारी संस्थामा एक लाख भन्दा कम रकम बचत भएका ३०८ जनाको ४० लाख ५० हजार पाँच सय ३१ रुपियाँ फिर्ता गर्नु पर्ने गरी निर्देशन दिएको थियो ।

त्यसैगरी फागुन मसान्तभित्रमा एक लाख भन्दा बढी पाँच लाख भन्दा कम बचत भएका एक सय ६७ जनाको ४ करोड ११ लाख ९३ हजार ९ सय ७० रुपियाँ फिर्ता गरी सक्नु पर्ने निर्देशन दिएको थियो । २०८२ साउन २५ सम्मको अवस्थामा ३७ करोड ४८ लाख ६४ हजार ८ सय ८२ रुपियाँ फिर्ता गर्नुपर्ने रकम मध्ये फागुन मसान्त सम्ममा बीस करोड रुपियाँ सम्म घटाउनुपर्ने कार्यपालिकाले निर्णय गरेको थियो ।

बेनी नगरपालिकाको सहकारी शाखा प्रमुख प्रभा शर्माका अनुसार २०८२ पुस ८ गते सम्मको रिपोर्ट अनुसार बचतकर्ताले पाउन ३२ करोड ६७ हजार ७ सय ४५ बाँकी रहेको सहकारीले दिएको प्रतिबेदनमा उल्लेख छ । शर्माले भन्नुभयो साउन देखि पुस सम्मको अवधिमा ५ करोड ४७ लाख ७९ हजार एक सय ३४ रुपियाँको हिसाब मिलान गरेको देखिन्छ । पछिल्लो बिवरण माग गरी रहेको भए पनि अहिले सम्म उपलब्ध नभएको र यो हप्ताको अन्तिम सम्ममा आउने भनेर सहकारीले जानकारी गराएको उनले बताए । ‘पछिल्लो तीन महिनाको रिपोर्ट आइ सकेको छैन, पहिलाको तुलनामा फिर्ता गरेको देखिएको छ तर पछिल्लो रिपोर्ट आएपछि मात्र सन्तोषजनक भए÷नभएको भन्न सकिन्छ,’ उनले भने ।

सहकारीका अध्यक्ष राजेश शाक्यले संस्थालाई बेनी नगरपालिकाले दिएको निर्देशन अनुरुप आफूहरुले प्रयास गरी रहेको बताए । ‘नगरपालिकाले दिएको निर्देशनको नजिक पुगेका छौं,’उनले भने,‘ठ्याक्कै अंक याद नभए पनि अब फिर्ता गर्न करिब २७ करोड बाँकी छ ।’ अध्यक्ष शाक्यका अनुसार जग्गा बिक्री गरेर बचत फिर्ता गर्ने भनिए पनि जग्गा बिक्री नहुँदा यो अभियानमा अवरोध आएको हो ।

सहकारीमा समस्या आएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले च.नं. ७२४ को मिति २०८० असोज १५ गतेको पत्र र च.नं. १७३५ मिति २०८० माघ १७ गतेको पत्रबाट बचतकर्ताको रकम फिर्ताको सुनिश्चितताका लागि सहजीकरण गर्ने सर्तमा अध्यक्ष शाक्य र परिवारको नाममा रहेको जग्गा रोक्का राखेको थियो । त्यस्तै महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०।०८१ को प्रतिबेदनमा पनि सहकारी सहकारीलाई समस्याग्रस्त घोषणा गरी कानून बमोजिम समस्या समाधान गर्नुपर्ने सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->