पोखरा/तनहुँको पर्यटकीय गाउँ बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवम् गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा सो मार्ट हुन लागेको हो ।
गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आगामी वैशाख १८ र १९ गते मार्ट गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए ।
पोखरा पर्यटन परिषद्, होमस्टे महासंघ नेपाल, गण्डकी प्रदेशलगायत पर्यटन सम्बद्ध संघसंस्थासँगको सहकार्यमा हुने मार्टमा गण्डकी प्रदेशका सामुदायिक घरबास (होमस्टे), पर्यटकीय कृषि फार्म (फार्म स्टे) सहित विभिन्न ३० वटा होमस्टे कक्षहरू रहने उनले जानकारी दिए ।
यसअघि मार्टका तीन वटा संस्करण पोखरामा गरिएकामा यस पटक भने बन्दीपुरमा गर्न लागिएको हो । मार्टमार्फत भिजिट मधेस २०८३, पोखरा भ्रमण वर्ष समेतलाई समेट्न खोजिएको उनको भनाइ छ ।





