
पोखरा/ पोखराको लेकसाइडमा विनादर्ता सञ्चालित ‘ग्लेमर ग्लो स्पा एन्ड ब्युटी केयर’ लाई जिल्ला प्रशासन कार्यालय कास्कीले २० हजार रुपैयाँ जरिवाना गरेको छ । प्रशासनले विहीबार साँझ गरेको रात्रिकालिन बजार अनुगमनका क्रममा पोखरा–६ स्थित उक्त केयरलाई कारबाही गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त स्पाले केयरको नामको बोर्ड राखेर व्यवसाय सञ्चालन गरिरहेको भए पनि नियमानुसार व्यवसाय दर्ता नगरेको र बिल विजक समेत प्रयोग नगरेको पाइएपछि कारबाही गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी शिब लम्सालका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रावधान अनुसार उक्त स्पालाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो । स्थानीय प्रशासन र सुरक्षा निकायका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले बिहीबार साँझ पोखराका मुख्य बजार क्षेत्र लेकसाइड, पृथ्वीचोक, चिप्लेढुंगासमेतका स्थानमा सञ्चालित विभिन्न स्पा, मसाज सेन्टर, डान्सबार र दोहोरी साँझहरुमा स्थलगत अनुगमन गरेको थियो । रात्रिकालीन व्यवसायलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन ‘रात्रिकालीन तथा पूर्ण समयमा होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०८०’ स्वीकृत भई कार्यान्वयनमा रहेको प्रशासनले जनाएको छ । सोही मापदण्ड पालना भए वा नभएको बारे प्रशासनले सक्रियता देखाएको हो ।
रात्रिकालीन व्यवसायलाई सुरक्षित र मर्यादित बनाउन प्रशासनले अनुगमनलाई निरन्तरता दिने बताएको छ ।





