पोखरा/प्रतिनिनिधिसभाको चुनाव सकिएलगत्तै नेपालका उद्योगी/व्यापारीलाई चुनाव लागेको छ । यही चैत २९ र ३० गते उद्योगी/व्यापारीहरुको संस्था नेपाल उद्योग वाणिज्य महासंघको ६० औं साधारण सभा तथा चुनावी कार्यक्रम हुने निर्णय भएसँगै उनीहरुलाई चुनावले छोएको हो ।
महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले साधारण सभा र निर्वाचनको कार्यक्रम टुंगो लगाएसँगै हालका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई विस्थापन गर्दै नयाँ नेतृत्व चयनको गर्मागर्मी बढेको हो ।
महासंघको विधान अनुसार यो पटक वरिष्ठ उपाध्यक्ष रहेका पोखरेली घराना लक्ष्मी हाउसका अञ्जन श्रेष्ठ स्वतः वरिष्ठ उपाध्यक्षमा मनोनित हुनेछन् । महासंघको विधान अनुसार आउँदो कार्यकालदेखि चाहिँ अध्यक्षमा प्रत्यक्ष चुनाव हुनेछ । तर, अहिले भने उपाध्यक्षसहित अन्य पदमा मात्र चुनाव हुनेछ ।
यस्तै सातवटै प्रदेशमा संरचना रहेको महासंघको चुनावअघि ती प्रदेशमा पनि नयाँ नेतृत्व चयन गरिने महासंघले जारी गरेको सूचनामा उल्लेख छ । महासंघको प्रदेशतर्फको चुनाव चैत २५ गतेभित्र सम्पन्न गरिसक्ने गरि परिपत्र जारी गरिएको छ ।
३ लाख शु्ल्क तोकिएको उपाध्यक्ष पदको लागि हालका उपाध्यक्ष हेमराज ढकालले प्यानलसहित उम्मेदवारी दर्ता गरिसकेका छन् भने अर्का उपाध्यक्ष सुरकृष्ण श्रेष्ठ पनि प्यानल नै बनाएर मैदानमा उत्रने तयारीमा छन् ।
चुनावको रन्कोले गण्डकी प्रदेशलाई बढी छोएको छ । हालका अध्यक्ष चन्द्रप्रसाद र अब हुने अध्यक्ष अञ्जन श्रेष्ठ दुबै यही प्रदेशका भएकाले पनि उनीहरुको आशिर्वादले केन्द्रीय सदस्यको चाहना राख्नेहरु यहाँ सक्रिय बनेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश सदस्यका अनुसार अहिले गण्डकीबाटै झण्डै १ दर्जनजतिले केन्द्रीय सदस्य बन्ने आकांक्षा देखाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सञ्जिवबहादुर कोइराला स्वयं उपाध्यक्षको दौडमा छन् ।





