म्याग्दी/बेनी क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले ग्लोबल मनी विकको अवसरमा विभिन्न स्थानमा पुगेर वित्तीय साक्षरता कार्यक्रम गरेका छन् ।
कुमारी बैंकले सदरमुकाम बेनीबजारको न्यु वेष्ट प्वाइन्ट आवासीय माविका विद्यार्थीलाई लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गरेको छ । बैंकको बेनी शाखा प्रबन्धक मिलनकुमार श्रेष्ठले विद्यार्थीलाई कुमारी बैंकको सेवा, बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे जानकारी गराएका थिए ।
डिजिटल वित्तीय सेवाको बढ्दो प्रयोग, वित्तीय प्रभावदाताको प्रभाव, विद्यार्थीलाई सही वित्तीय जानकारी आवश्यकता रहेकाले वित्तिय साक्षरता कार्यक्रमलाई प्राथमिकता दिएको प्रबन्धक श्रेष्ठको भनाई छ ।
वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण बैंकको बागलुङ शाखाका प्रवन्धक नारायण थापा, तथा बेनी शाखा प्रबन्धक मिलन कुमार श्रेष्ठले गरेका थिए ।
यसैगरी नेपाल बैंक लि. बेनी शाखाले म्याग्दी बहुमुखी क्याम्पसको शिक्षा शास्त्र संकायका विद्यार्थीहरुलाई वित्तीय साक्षरता गरेको छ । बैंकका शाखा प्रबन्धक बाबुराम खरेलले सानो उमेरदेखि नै आर्थिक अनुशासन र बचतको बानी बसाल्न सके भविष्यको आर्थिक स्थायित्वका लागि महत्वपूर्ण आधार तयार हुने बताएका थिए ।
डिजिटल बैंकिङ सेवाको प्रयोग तथा महत्व, वित्तीय ठगी, अनलाइन कारोबार गर्दा अपनाउनुपर्ने सावधानी तथा बिमा, विद्यार्थीको बचतमा ध्यान दिनुपर्ने तथा लगानी गर्दा हुने जोखिम र लागतबारे प्रशिक्षण फलदायी रहेको सहभागि विद्यार्थी भनाई छ ।
ग्लोबल मनी विक विश्वभर बालबालिका र युवामा वित्तीय ज्ञान र सीप विकास गराउने उद्देश्यले प्रत्येक वर्ष मनाइने अन्तर्राष्ट्रिय अभियानमा सबैको सहभागिता आवश्यक रहने क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताए ।
ज्योति विकास बैंकले माउण्ट एभरेष्ट आवासिय माविमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई पैसा कमाउने मात्र नभएर कसरी बचत गर्ने भन्ने बारेमा सचेत गराइएको थियो । बैंकका बेनी शाखा प्रवन्धक दिपेन्द्र शर्माले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत वित्तीय साक्षरता अभिबृद्धि कार्यक्रम गरिएको बताए ।
गरिमा विकास बैंकले म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीलाई खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवा सुविधा, डिजिटल सेवा, लगानी, अतिरिक्त बैंकीङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी सचेतना गराइएको थियो ।
बेनी शाखा प्रबन्धक ओमप्रकाश पौडेलले सञ्चालन गरेको कार्यक्रममा बैंकका बेनी, बाबियाचौर, दरवाङ र पोखरेबगर शाखाले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरेको बैंकका क्षेत्रीय प्रबन्धक कमलप्रसाद ढुंगानाले बताए ।
यसैबीच प्राइम कमर्सियल बैंक बेनीले बेनी नगरपालिका–९ मा रहेका गलेश्वर आदर्श माध्यमिक विद्यालयमा वित्तीय साक्षरता गरेको छ । बैंकले विद्यार्थीलाई वित्तीय संस्थासम्म पहुँच पु¥याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्र्तगत वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकका प्रतिनिधि नविना केसीले जानकारी दिइन् ।
यस्तै बैंकर्स एसोसियसन म्याग्दीले गलेश्वर मावि तोरीपानीमा गरेको वित्तीय साक्षरतामा कमाउनेभन्दा खर्च गर्ने संस्कारलाई न्यूनिकरण गर्न सकेमा मात्रै कमाएको सार्थकता हुने जनाएको छ । एसोसियसनका अध्यक्ष नारायण सापकोटाले अनलाइन खरिदतर्फ आकर्षित हुँदा बचत गर्ने संस्कार हराउँदै जान सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रमका अवसरमा विद्यालयलाई १० थान भित्तेघडी समेत प्रदान गरिएको थियो ।





