सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सहकारी पिडित जैसी नै सहकारी ठगीको आरोपमा पक्राउ

सहकारी पिडित जैसी नै सहकारी ठगीको आरोपमा पक्राउ

कृष्ण जैसीले धनुस सहकारीको रु. ८२ लाख रकम अपचलन गरेको आरोप छ ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०८२, सोमबार

पोखरा / आफुलाई सहकारी पिडित भएको बताउँदै आएका पोखराको सूर्यदर्शन सहकारी संस्थाका पीडित कृष्ण जैसी आफै सहकारी ठगीको आरोपमा पक्राउ परेका छन् । जैसी यहाँको धनुस सहकारी संस्था ठगी आरोपमा पक्राउ परेका हुन् ।

उनले सहकारीको रु. ८२ लाख रकम अपचलन गरेको आरोप छ । प्रहरीले उनलाई पक्राउ गरे पनि यसको पुष्टि भने गरेको छैन । स्रोतका अनुसार, उनलाई अनुसन्धानका लागि म्याद थप हुन बाँकी छ ।

जैसीले चुनावी प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की ३ की उम्मेदवार विना गुरुङलाई आफु सहकारी पिडित भएको भन्दै आफ्नो बच्चाको स्कुलको विल बुझाएर चर्चा पाएका थिए । उनले रास्वपा सभापति रवि लामिछानेले सहकारीको पैसा अपचलन गरेर पीडितले फिर्ता नपाएको गुनासो गर्दै रकम फिर्ताका लागि दबाब दिएका थिए ।

धनुस सहकारीको रु. १२ करोड ५६ लाख अपचलन भएको वित्तीय विश्लेषण प्रतिवेदनले देखाएको छ । त्यसमा १३ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रदेश सहकारी रजिस्ट्रार भेषराज रिजालका अनुसार, प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीलाई पठाइएको छ । सहकारीको रकम हिनामिना गर्नेमा पदाधिकारी र व्यवस्थापकहरूको मुख्य भूमिका देखिएको छ । यसमा साबिक साइनो सहकारीतर्फका सञ्चालकहरू बढी दोषी देखिएका छन् ।

इन्जिनियर असीम बराल र सिर्जना गुरुङले मिलेमतोमा रु. ३ करोड १७ लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ । उनीहरूले सहकारीमा नभएका व्यक्तिहरूको कृत्रिम नाम राखेर रकम निकालेको स्रोतको दाबी छ ।

‘असीम बराल र सिर्जना गुरुङले सबैभन्दा बढी रकम हिनामिना गरेका छन् । उनीहरूको मात्रै रु. ३ करोड १७ लाख हिनामिना देखिएको छ,’ स्रोतले भन्यो, ‘हाल सिर्जना गुरुङ अमेरिका, असीम बराल इन्जिनियर चाहिँ फ्रान्सतिर पलायन भइसकेका छन् ।’

जैसीले आर्टिफिसियल बचतकर्ताहरू जम्मा गरेर मिटर ब्याजको लेनदेनमा रकम परिचालन गरेको आरोप छ । सहकारीका दुई व्यवस्थापकहरू विराज सुवेदी र जगत पौडेलले पनि ठुलो रकम हिनामिना गरेका छन्।

विराजले रु. २ करोड २५ लाख र जगतले रु.१ करोड २५ लाख रुपैयाँ व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको देखिएको छ । प्रहरीले प्रतिवादीहरू खोजी तीव्र पारेको जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->