पोखरा/नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि भावी अध्यक्ष अन्जन श्रेष्ठको टिम घोषणा भएको छ । अञ्जन पोखरेली घराना लक्ष्मी हाउसका निर्देशक हुन् ।
सोमबार काठमाडौँमा घोषणासभा गर्दै ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि टिम घोषणा भएको हो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष बन्दै छन् । तर, अब आउने कार्यसमितिमा आफू बलियो हुने गरी उनले टिम बनाएका हुन् । श्रेष्ठ प्यानलमा वस्तुगत संघबाट उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएटको तर्फबाट उपाध्यक्षमा प्रबलजंग पाण्डे र जिल्ला नगर तर्फबाट उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्माले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
महासंघको ६०औं वार्षिक साधारणसभा आगामी चैत २९ र ३० गते हुँदैछ । यसअघि उपाध्यक्ष हेमराज ढकालले आगामी निर्वाचनपछि वरिष्ठ उपाध्यक्षको उम्मेदवारीसहित टिम घोषणा गरिसकेका छन्। ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छन् । हाल उनी एसोसिएट उपाध्यक्ष नै छिन् ।
त्यस्तै, ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया, कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।





