पोखरा/पोखराको लेकसाइडमा यही चैत ११ गते बुधबारबाट आयोजना हुने ‘वाडा अटो शो’ को तयारी पूरा भएको छ । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसन (वाडा) प्रदर्शनीको आयोजक हो ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा वाडा अध्यक्ष दीपेन्द्र कोइरालाले बताए अनुसार पोखराको लेकसाइड, बाराही खेल मैदानमा हुने शो चैत १५ गतेसम्म चल्नेछ । अटो शोमा १६ वटा ब्राण्डका ४ पाङग्रे, ६ वटा ब्राण्डका लाइट कर्मशियल, १० वटा ब्राण्डका २ पाङग्रे, एउटा हेभी कमर्शियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एशोसेरिजहरु तथा वित्तीय संस्थाहरुका २० वटा स्टलहरु रहने कोइरालाले जानकारी दिए ।
पुराना गाडीहरु अटो शोको विशेष आकर्षण रहने बताइएको छ । रोबोटिक्सहरु पनि प्रदर्शन गरिनेछ । अटोमोबाइल क्षेत्रमा भएका अत्याधुनिक प्रविधि विकास एवं नव परिवर्तनसँग आम सर्वसाधारणलाई साक्षात्कार गराउन रोबोटहरु प्रर्दशनमा राखिने एशोशिएसनका वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठले बताए । श्रेष्ठका अनुसार युनी ट्रि जि वान ह्युमानोइड रोबोट, युनीट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरु प्रर्दशनमा राखिने छ ।प्रख्यात ब्राण्डका सवारी साधनहरु अटो शोमा रहने एशोशिएसनका उपाध्यक्ष निरन केसीले जानकारी दिए ।
केन्द्रमा रहेका अटो व्यवसायीलाई एउटै छाना मुनि भेला गराई सहज व्यावसायिक वातावरण निर्माण गर्नुकासाथै आन्तरिक पर्यटनमा टेवा पु¥याउने अटो शोको उद्देश्य रहेको अध्यक्ष कोइरालाको भनाइ छ ।





