पोखरा / पोखराको धनुष बचत तथा ऋण सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका कृष्णप्रसाद जैसीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दासँग जोडिएको भन्दै पोखराकै अर्को सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले ध्यानाकर्षण भएको जनाएको छ ।
सूर्यदर्शनले आज एक विज्ञप्तिमार्फत रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति जैसी मात्र नभएको जनाएको हो । सूर्यदर्शन सहकारीको मुद्दा प्रकरणमा पहिलो मुद्दाका जाहेरवाला र पूरक तथा थप मुद्दाका जाहेरवालाहरू फरक–फरक व्यक्तिका नाममा दर्ता गरिएको भन्दै सूर्यदर्शनले हरेक मुद्दाका मिति पनि फरक फरक रहेको उल्लेख गरेको छ । विज्ञप्तिमा ‘कृष्णप्रसाद जैसीको जाहेरीमा रवि लामिछानेको मुद्दाको सुरूआत गरिएको होइन,’ विज्ञप्तिमा छ ।
धनुष सहकारीको १२ करोड ५६ लाख रुपैयाँ अपचलन गरेको अभियोगमा आइतबार पक्राउ परेका जैसी सूर्यदर्शन सहकारीका पीडितका रूपमा परिचित थिए । जीबी राईसहित ७ जनाविरूद्ध सुरूआती जाहेरी उनको नामबाट परे पनि लामिछानेविरूद्धको पुरक जाहेरी भने गोविन्दप्रसाद अधिकारीको नाममा रहेको सूर्यदर्शन सहकारी सञ्चालक समिति अध्यक्ष किरण श्रेष्ठले बताए । श्रेष्ठ यसअघि सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक थिए । सहकारीको गत मंसिरमा भएको विशेष साधारणसभाले उनलाई अध्यक्ष चुनेको थियो ।
जैसी धनुष सहकारीको ऋण उपसमितिमा रहँदा कृत्रिम खाता सिर्जना गरी ८२ लाख रुपैयाँ अपचलन गरेको वित्तीय विश्लेषण प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा कास्की प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो । सूर्यदर्शन सहकारीले जैसी केवल एक पीडित बचतकर्ता र सामान्य जाहेरवाला मात्र भएको जिकिर गर्दै धनुष सहकारीको प्रकरणलाई सूर्यदर्शनसँग जोडेर विषयवस्तु मोड्न खोजिएको भन्दै आपत्ति जनाएको छ। धनुष सहकारी ठगी प्रकरणमा जैसीसहित १३ जनालाई प्रतिवादी बनाइएको छ भने अन्य ४ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।






