पोखरा/ पोखरा महानगरपालिका–९ मा कार्यालय रहेको धनुष बचत तथा ऋण सहकारीको १२ करोड ५६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले थप २ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सहकारीका सचिव विराज सुवेदी र व्यवस्थापक जगत पौडेल रहेका छन् । सहकारीका ऋण उपसमितिका सदस्य कृष्णप्रसाद जैसी पनि पक्राउ सोमबार नै पक्राउ परेका थिए ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले दिएको प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो । प्रतिवेदन अनुसार सचिव सुवेदीले २ करोड २५ लाख र व्यवस्थापक पौडेलले १ करोड २५ लाख रुपैयाँ अपचलन गरेका छन् । यस्तै जैसीले कृत्रिम खाता खडा गरी ८२ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ ।
कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले पक्राउ परेकाहरूमाथि अनुसन्धान सुरु गरिएको बताए । सहकारी रजिस्ट्रारको कार्यालयले धनुष सहकारीमा भएको अपचलनमा १३ जनाको संलग्नता देखाएको छ । कार्यालयले आइतबार प्रारम्भिक प्रतिवेदन प्रहरीलाई बुझाएको थियो ।
१५ महिनाअघि गरिएको छानबिनमा १९ करोड १८ लाख रुपैयाँ अनियमितता भएको भेटिएको थियो । त्यसपछि केही हिसाब मिलान भए पनि हाल १२ करोड ५६ लाख रुपैयाँ बिगो कायम भएको छ । सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रा। भेषराज रिजालले लामो समय दिँदा पनि हिसाब मिलान गर्न नसकेपछि व्यक्तिपिच्छे बिगो किटान गरी प्रहरीमा पठाएको बताए ।
पक्राउ परेका जैसी सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडित पनि हुन् । उनीसहितको जाहेरीका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन छ ।





