मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

आज झन्डै दुई तिहाईको बालेन सरकार

आज झन्डै दुई तिहाईको बालेन सरकार


  • ढोरपाटन संवाददाता
  • चैत्र १३ २०८२, शुक्रबार

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । उनले आजै पद तथा गोपनीयताको शपथग्रहण गर्ने तयारी छ । प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट निर्वाचित ३६ वर्षीय शाहले झन्डै दुईतिहाइ बहुमतको सरकारमा नेतृत्व गर्न लागेका हुन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ८२ सांसद रहेको रास्वपाले शाहलाई बिहीबार संसदीय दलको नेता चयन गरेको थियो । संविधानको धारा ७६ (१) मा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने’ र ‘निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने’ व्यवस्था छ । यसरी नियुक्त प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्दैन ।

राष्ट्रपति कार्यालयका अनुसार शपथका लागि निर्धारित समयभन्दा केही अगाडि राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नेछन् । प्रधानमन्त्रीका रूपमा शाहको शपथ कार्यक्रमका लागि राष्ट्रपति कार्यालयले अतिथिलाई निम्तो पठाइसकेको छ । रास्वपाले प्रधानमन्त्रीका रूपमा शाहको शपथ शुक्रबार दिउँसो १२ः३४ बजेका लागि साइत जुरेको जानकारी राष्ट्रपति कार्यालयलाई पठाएको छ । शपथग्रहण कार्यक्रममा ‘७ वटा शंखबाट शंखनाद, १०८ बटुकबाट स्वस्ति शान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठ’ को व्यवस्था गराउन आग्रह गरिएको छ । शपथग्रहणपछि शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा करिब २ः१५ बजे पदभार ग्रहण गर्ने तय भएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा गरेको दुई महिनामै शाह मुलुककै कार्यकारी प्रमुख बन्न लागेका हुन् । २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर मेयर बनेका उनले गत १३ पुसमा रास्वपासँग एकताको सहमति गरेका थिए । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनले झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->