म्याग्दी / बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२ /८३ मा १० वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, स्वास्थ्य, कृषि, सिँचाइ, भवन, खेलकुद पूर्वाधार निर्माणसम्बन्धी रु छ करोड २२ लाख बजेट विनियोजन भएका आठ वटा योजना सञ्चालन र दुई वटा ठेक्का सम्झौताको चरणमा रहेका छन् ।
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले एक करोड ८० लाख बजेट विनियोजन भएको बेनी–पुलाचौर–टोड्के सडक योजनाको २० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । यो बेनी नपाले चालु आवमा सञ्चालन गरेको सबैभन्दा बढी बजेट विनियोजन भएको आयोजना हो । ‘रिभर एज इन्जिनियरिङ एन्ड बिल्डर्स’ प्रालिले एक करोड २१ लाख ५१ हजार २०० मा ठेक्का सम्झौता गरेको बेनी–पुलाचौर–टोड्के सडक योजनामार्फत बेनी नगरपालिका–५ पुलाचौर क्षेत्रमा सडक विस्तार, नाली, पर्खाल निर्माण र ढलान गर्ने लक्ष्य रहेको छ ।
त्यसैगरी एक करोड ६५ लाख बजेट विनियोजन भएको बेनी–महारानीथान–छाप–डाँडाखेत सडक स्तरोन्नति योजनाको ४० प्रतिशत भौतिक प्रगति भएको छ । शङ्कर निर्माण सेवाले एक करोड १३ लाख दुई हजार ४४५ मा ठेक्का सम्झौता गरेको आयोजनामार्फत बेनपा–६ र ७ मा पर्ने अग्निखेत क्षेत्रमा सडक स्तरोन्नतिको काम भइरहेको छ ।
६६ लाख बजेट विनियोजन भएको र ‘रिभर एज इन्जिनियरिङ एन्ड बिल्डर्स’ प्रालिले रु ४८ लाख ७४ हजार २७७ मा ठेक्का सम्झौता गरेको बेनपा–९ को गलेश्वर बजार सौन्दर्यकरण परियोजनाको ४५ प्रतिशत भौतिक प्रगति भएको छ । लिमिसा कन्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले रु ४२ लाख ४५ हजार ४५५ मा ठेक्का सम्झौता गरेको बेनपा–८ कालीपुलको कृषि बजार भवन निर्माण योजनाको प्रारम्भिक चरणको काम सुरु भएको छ ।
४० लाख बजेट विनियोजन भएको बेनी खुलामञ्च खेलमैदान स्तरोन्नति योजनाको रु २७ लाख ३० हजार ७२९ मा ठेक्का सम्झौता गरेको न्यू बानियाँ निर्माण सेवा र रु २० लाख बजेट विनियोजन भई रु १५ लाख ४३ हजार ९६७ मा बानियाँ निर्माण सेवाले ठेक्का लिएको गुरुङकोटदेखि सिमधारा–पैयारुख सडक स्तरोन्नति योजना सुरु भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।
सोमरस निर्माण सेवाले ठेक्का लिएको बेनी नगरपालिका–६ र १० को वडा कार्यालय भवन निर्माणसम्बन्धी छुट्टाछुट्टै योजना पनि निर्माण सुरु भएको छ । १५ लाख बजेट विनियोजन भएको ६ नम्बर वडाको भवन बनाउन १३ लाख ८२ हजार २२४ र रु १२ लाख बजेटको १० नं वडाको सभाहल बनाउन १० लाख ९४ हजार ८४८ मा ठेक्का सम्झौता भएको छ ।
४० लाख बजेट विनियोजन भएको बालम–थामडाँडा–बास्कुना सिँचाइ र रु २४ लाख बजेट विनियोजन भएको डडुवा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माणसम्बन्धी योजना ठेक्का सम्झौताको चरणमा रहेको नगरपालिकाका सूचना अधिकारीसमेत रहेका प्रशासकीय अधिकृत युवराज थापाले बताए ।
दश वटा वडा रहेका बेनी नगरपालिकाले बजेट विनियोजन गरेका वडास्तरीय ३४६ वटा योजनामध्ये फागुन मसान्तसम्म २४२ वटा सम्झौता भएकामा १०५ वटा सम्पन्न भएका छन् । एक सय चार वटा योजना सम्झौताको चरणमा रहेका छन् । बर्खा सुरु नहुँदै नगरस्तरीय गौरवका र वडास्तरीय सबै योजना सम्पन्न गर्ने लक्ष्यसहित उपभोक्ता समिति र निर्माण व्यवसायीलाई परिचालन गरिएको नगरप्रमुख सुरत केसीले बताए ।
बेनी नगरपालिकाले पूर्वाधार आयोजनाहरूका लागि यस वर्ष १२ करोड ९२ लाख ४२ हजार बजेट विनियोजन गरेकामा आवको आठ महिनामा एक करोड ९० लाख ८७ हजार अथवा १४.७७ प्रतिशत खर्च गरेको छ । पाँच लाखसम्म बजेटका योजना वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको छ । योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन र प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन् । ‘कोर कटिङ’ विधिबाट उपकरणको सहायतामा ढलान र कालोपत्र भएको सडकको गुणस्तर परीक्षण गरिएको उनले बताइन् ।





