शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘कर तिर्नेलाई राज्यले लगानी बढाउनुपर्छ’

‘कर तिर्नेलाई राज्यले लगानी बढाउनुपर्छ’

‘राज्यले करका दायरा फराकिलो बनाउनुपर्छ, त्यसका लागि व्यवसायीले सहयोग गर्छन्’


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०८२, आइतबार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

बागलुङ/दोश्रो आर्थिक गणनाले देशको कुल गार्हस्थ उत्पादनको अवस्था पत्ता लगाउने सरोकारवालाले विश्वास व्यक्त गरेका छन् । सरकारले ल्याएको आर्थिक गणना २०८२ ले नयाँ सरकारको विकास खाकालाई सहयोग पुग्ने र राज्यको वास्तविक धरालत पत्ता लगाई विकासका सूचक पुरा गर्न चाल्नुपर्ने कदमबारे दिशानिर्देश गर्ने उनीहरुले बताए ।

जिल्लास्थित तथ्यांक कार्यालयमा आर्थिक गणना सचिवालय स्थापना गरेर शुरु भएको कामलाई सरोकारवालाले सकारात्मक सन्देशको रुपमा लिएको बताए । कार्यालयले ३१ जना नयाँ गणक र ५ जना सुपरभाइजर राखेर आर्थिक गणना थालेको छ । यो गणनामा व्यवसाय र प्रतिष्ठान मात्र नभइ कृषि उत्पादनको तथ्यांक समावेश गर्न उनीहरुको सुझाव छ ।

शनिबार कार्यालयले गरेको सरोकारवाला निकायबीचको अन्तरक्रियामा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन शाक्यले नयाँ नीति र वास्तविक आर्थिक अवस्था पत्ता लागेपछि नै विकास गर्न सकिने बताए । राज्यले अधिकतम कर संकलन गर्नुपर्नेमा उनले जोड दिए । ‘राज्यले करका दायरा फराकिलो बनाउनुपर्छ, त्यसका लागि व्यवसायीले सहयोग गर्छन्’ उनले भने, ‘राज्यले पनि कर उठाएको स्थानमा लगानी बढाउनु पर्छ ।’ कर तिर्ने व्यवसायीलाई हतोत्साही बनाउने काम गर्न नहुने उनले सुझाव दिए ।

कार्यालयले भने हाल गर्न लागेको गणनामा आएको प्रश्नोत्तर र तथ्यांकलाई करमा नजोड्ने दाबी गरेको छ । व्यवसायीले भने करकै लागि यो गणना गरिएको टिप्पणी गरेका छन् । बागलुङका लागि आर्थिक गणना अधिकारी चन्द्रकान्त सुवेदीले राज्यको वास्तविक गार्हस्थ उत्पादन पत्ता लगाउन यो काम गरिएको बताए । उनले करका लागि आफ्नो सम्पत्ति सार्वजनिक गर्ने र कर तिर्ने अधिकार भने व्यवसायीको आफ्नै विषय भएको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले देशको अर्थतन्त्रलाई समुन्नत बनाएर आत्मनिर्भर बनाउने राज्यकै कर्तव्य भएको बताए । उनले यो अभियानमा सबैले साथ दिएर यथार्थ बिवरण पत्ता लगाउन सहयोग गर्न आग्रह गरे । यथार्थ विवरण प्राप्त नहुँदा योजना, बजेट र आन्तरिक उत्पादनको काममा लगानी खेर गएको उनले बताए ।

प्रजिअ अधिकारीको अध्यक्षता, कार्यालयका नारायण पौडेलको संचालन र आर्थिक गणना अधिकारी चन्द्रकान्त सुवेदीको स्वागत तथा प्रस्तुतीकरणमा सम्पन्न कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट रास्वपा बागलुङ नगरका सभापति रामप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अबिरल’ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आगामी बैसाख २ देखि असार ७ गतेसम्म आर्थिक तथ्यांक संकलन गरिने सुवेदीले बताए । व्यवसायिक प्रतिष्ठानको उत्पादन, आयात र निर्यातको यर्थाथ बिवरण तयार गरी यो गणनाले कुल ग्रार्हस्थ उत्पादनको तथ्यांक निकाल्ने छ । २०७५ मा पहिलो पटक थालिएको गणनाको यो दोश्रो संस्करण हो । गणनाले विशेषगरी व्यवसाय, कृषि उत्पादन, आय तथा व्यय र आंशिक तथा दिर्घकालिन रोजगारीको अवस्थालाई यो तथ्यांकले देखाउने छ ।

२०७५ सालमा लिइएको तथ्यांकमा बागलुङमा ८ हजार ९ सय दर्ता भएका फर्म तथा प्रतिष्ठानको मात्र गणना भएको थियो । त्यतिबेला झण्डै ५० प्रतिशत व्यवसायहरु दर्ता नभएकोले पुरा तथ्यांक नआएको बताइएको थियो ।

स्थानीय सरकार आएपछि सोही बर्षदेखि साना ठूला व्यवसाय दर्ताको क्रम चलेकोले अहिले भने यो तथ्यांक बिस्तारै यथार्थ नजिक आउने उनले बताए । हरेक दश वर्षमा राष्ट्रिय जनगणना हुने गरेकोमा आर्थिक गणना भने पाँच÷पाँच वर्षमा लिने सरकारी नीति छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->