बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती


  • ढाेरपाटन संवाददाता
  • चैत्र १६ २०८२, सोमबार

मुस्ताङ/ मुस्ताङको थासाङ गाउँपालिकामा निर्माणाधीन औलेते–धम्पु) प्रिस्टेज पुल निर्माणमा ढिलासुस्ती देखिएको छ । थासाङ गाउँपालिका–३ लेतेस्थित कालीगण्डकी नदी पारी ओझेलमा परेका दुर्गम गाउँहरु जोड्ने उक्त मोटरेबल पुल निर्माण कम्पनीको चरम ढिलासुस्ती र बेवास्ताका कारण पटकपटक अलपत्र परेको हो ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको अख्तियारीमा परेको कालीगण्डकी नदीमा निर्माणाधीन प्रिस्टेज मोटरेबल पुल निर्माणमा चरम ढिलासुस्ती देखिएको हो । यहाँ निर्माणाधीन पुलको विसं २०७६ फागुन २९ गते निर्माण कम्पनी देव एण्ड सायर कन्ट्रक्सनसँग ५ करोड ५ लाख लागतमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि २०७८ साल भदौ २८ गते अर्थात् डेढ वर्षमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएका थियो । एक स्पानको ३५ मिटर लम्बाइ रहने गरी कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल फुटपाथसहित ७ दशमलव ९ मिटर चौडा रहने गरी ठेक्का सम्झौता भएको थियो ।

सुरुवाती ठेक्का सम्झौता सकिएर हालसम्म चार पटकसम्म म्याद थप भइसकेको उक्त पुलको पछिल्लो म्याद थप गरिएको सम्पन्न अवधि २०८३ असार ३१ गतेसम्म कायम भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जीता गिरीले जानकारी दिए । प्रमुख गिरीका अनुसाल (लेते–धम्पु) मोटरेबल पुलको पछिल्लो भौतिक प्रगति ३३. १३ प्रतिशत र भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ । हालसम्म निर्माण कम्पनीले पुल निर्माणको काम गरेवापत एक करोड ६३ लाख ६२ हजार रुपैयाँ भुक्तानी लगेको कार्यालय प्रमुख गिरीले बताए ।

कालीगण्डकी नदीमा निर्माणाधीन पुल निर्माणका लागि राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमार्ग र मुख्य राजमार्ग सडकदेखि कालीगण्डकी पारी दुईतर्फी आरसीसी फाउण्डेशन र एबुटमेन्टसहित क्याप ढलानको संरचना तयार भइसकेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ । पुल निर्माणका लागि स्ल्याप ढलान, एप्रोज रोड र पुल फिनिसिङलगायत काम बाँकी रहेको प्रमुख गिरीले बताए । लामो समय अवधिदेखि पटक(पटक अलपत्र पर्दै आइरहेको पुल निर्माणको काम गत हप्तादेखि सुरु भएको पूर्वाधार विकास कार्यालयले बताएको छ ।

वर्खायाममा कालीगण्डकी नदीको सतह उच्च हुने भएकाले जतिसक्दो चाँडो पुलको स्ल्याब ढलानका लागि निर्माण कम्पनीलाई सचेत गराइएको प्रमुख गिरीले बनाए । पुल निर्माणका लागि सम्वन्धित कम्पनीले उपकरण र जनशक्ति कार्यस्थलमा परिचालित गरी अलपत्र पुलको काम सुरु गरिसकेको प्रमुख गिरीको भनाइ छ । पुल निर्माणको अलपत्र काम पुनः सञ्चालन भएसँगै त्यस क्षेत्रका स्थानीय नागरिक उत्साहित भएका छन् । थासाङको दुर्गम कालीगण्डकी पारी रहेका गाउँहरू पुल नहुँदा निकै समस्यामा पर्दै आएका छन् । त्यस क्षेत्रका स्थानीय किसानले उत्पादन गरेको कृषि उपज पुल नहुँदा बजारीकरणमा निकै समस्या पर्ने गरेको छ ।

लेते–धम्पु पुल निर्माण सम्पन्न भएमा कालीगण्डकी पारिका आधा दर्जन बस्तीका स्थानीय कृषकले उत्पादन गर्ने कृषि उपजको सहज बजारकरण गर्न सजिलो हुने स्थानीय नवीन शेरचनले जानकारी दिए । छ वर्ष बितिसक्दा पुल सम्पन्न हुन नसक्नु दुर्भाग्य भएको र अब विकास पूर्वाधारका काममा ढिलासुस्ती गर्न नहुने शेरचनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->