बागलुङ/युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले बागलुङमा नेपाली खाना बनाउने तालिम शुरु भएको छ । एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा युवाहरुलाई लक्षित गरेर यो तालिम शुरु गरिएको हो । तालिम १५ दिनसम्म चल्नेछ ।
तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले अब पोखरा, काठमाण्डौंका होटलमा जस्तै यहाँका होटलमा पनि स्तरीय खाना बनाउने जनशक्ती बढाउनुपर्ने बताए । उनले त्यसका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा होटल संघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले होटलहरु भवनले मात्र स्तरीय नभइ दक्ष जनशक्ती, उनीहरुले दिने सेवा लगायतले स्तरीय बन्ने भन्दै त्यसका लागि दिगो रुपमा बस्ने, काम गरिदिने जनशक्ती अभाव भएको बताए । एकीकृत सेवा कार्यालयले पहिलो पटक यस्तो तालिम राखेर युवालाई दक्ष बनाउन लागेकोमा उनले धन्यवाद दिए ।
कार्यक्रममा कार्यालयका प्रमुख शिव शर्माले अबको जमानामा भवन कस्तो छ ? कसको होटल भनेर नभइ गुणस्तरीय खाना कसले बनाउँछ ? भन्ने खोजेर मात्र खाना खान जाने बताए । त्यस बाहेक होटलमा सेतो तन्ना राख्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने जस्ता स–साना कुरा सिकाएर नेपाली परिकारका खाना बनाउन लगाइने बताए ।
कार्यालयले यो वर्ष विनियोजन गरेको ५ लाख रुपैयाँको बजेटबाट विभिन्न सीपमुलक कार्यक्रम संचालन गर्दैछ । त्यसबाट नेपाली खाना बनाउने तालिममा २० जना प्रशिक्षार्थीका लागि १ लाख ६२ हजार रुपैयाँ विनियोजन भएको समेत उनले जानकारी दिए । तालिममा इला कम्फर्ट र पर्व होटलका सेफले तालिम दिनेछन् ।
त्यस बाहेक कार्यालयले व्युटिसियन सहितका तालिम पनि संचालन गर्न लागेको छ । उद्यमी बढाउने, स्वरोजगार मूलक तालिम संचालन गर्ने जस्ता क्रियाकलापले युवा पलायन पनि रोक्ने भएकोले नगरपालिका र होटल संघको अनुरोधमा कार्यालयले यो कार्यक्रम बनाएको थियो । कार्यालयका प्रमुख शिव शर्माको अध्यक्षता, श्याम थापाको संचालन र विष्णुनाथ शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





