शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

उद्योग वाणिज्य महासंघ गण्डकीमा नरेश

उद्योग वाणिज्य महासंघ गण्डकीमा नरेश

सिंगो टिम नै सर्वसम्मत


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०८२, बुधबार

पोखरा/नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष नरेश कँडेल निर्विरोध बनेका छन् । अध्यक्षका अर्का प्रत्यासी स्याङ्जा उद्योग वािणज्य संघका पूर्वअध्यक्ष तथा महासंघ गण्डकीका हालका कोषाध्यक्ष नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि नरेश सर्वसम्मत अध्यक्ष बनेका हुन् । महासंघको चौथो महाधिवेशनको यही चैत २० गते हुँदैछ । नरेश बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् । पत्रकार महासंघ बागलुङको पूर्वअध्यक्षसमेत रहेका नरेशसँगै सिंगो कार्यसमिति नै सर्वसम्मत बनेको छ ।

उम्मेदवारी दर्ताको बेलामा नै एसोसियटतर्फको उपाध्यक्षका निम्ति वर्तमान उपाध्यक्ष सूर्यबहादुर भुजेल र बस्तुगततर्फ हरिकुमार श्रेष्ठको मात्र उम्मेदवारी परेपछि दुबै पदमा उनीहरु निर्विरोध निर्वाचित भइसकेका थिए । सूर्यबहादुर पर्यटन व्यवसायी हुनु भने हरिप्रसाद शुक्लागण्डकीका संस्थापक अध्यक्षसमेत हुन् ।

यता, जिल्ला नगरतर्फको उपाध्यक्षमा लमजुङमा मृगेन्द्र घिमिरे सर्वसम्मत बनेका छन् । सो पदमा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले पनि आकांक्षा राखेका थिए । कोषाध्यक्ष पदका निम्ति पनि लेखनाथ उद्योग वाणिज्य संघका तर्फबाट राजेन्द्र ओझा र पर्वत उद्योग वाणिज्य संघको तर्फबाट गोपी अधिकारीले उम्मेदवारी दिएका थिए ।

३ वटा पदमा चुनाव हुने भएपछि सहमतिको प्रयास सुरु भएको थियो । सोमबार गण्डकीमा रहेका जिल्ला नगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र पदाधिकारीको भेला आयोजना गरिएको थियो । सो भेलामा निजी क्षेत्रका प्रतिनिधिहरुले प्रतिस्पर्धा हैन,सहकार्य गर्नुपर्ने आवाज उठेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष संजिबबहादुर कोइरालाका अनुसार यसरी भेला भएका पूर्वपदाधिकारीहरुले लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेश थापाको नेतृत्वमा पूर्वपदाधिकारी मञ्च गठन गरेका थिए । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघकासमेत पूर्वकेन्द्रीय सदस्य दामु अधिकारीसहित सो समितिमा यस क्षेत्रमा रहेका उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र पदाधिकारीहरु सदस्यको रुपमा रहेका छन् ।

सोही समितिले नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीमा पनि सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने धारणा राखेपछि उम्मेदवार बनेकाहरुले सो फोरमले गरेको निर्णय मान्य हुने भन्दै आफूले उम्मेदवारी फिर्ता लिएको हस्ताक्षरसहित पत्र बुझाएका थिए । त्यसलगत्तै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका वर्तमान अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा बसेको बैठकले योपटक अध्यक्ष पद साविकको धौलागिरीलाई दिनुपर्ने भन्दै नरेशको नाममा सहमति जुटाएको थियो । गण्डकी अञ्चलले यसअघि नै संस्थापक अध्यक्ष पाइसकेको र वर्तमान अध्यक्ष कान्छो जिल्ला नवलपुरका रहेकाले योपटक बागलुङलाई नेतृत्व दिने र स्याङ्जाको दाबीलाई अर्कोपटक कुनै न कुनै रुपमा संवोधन गरिने बताइएको थियो । कोषाध्यक्षको प्रत्यासी रहेको पर्वतले यसअघि नै पदाधिकारी पाइसकेकोले लेखनाथका पूर्ववरिष्ठ उपाध्यक्षलाई सो पद दिनुपर्ने तर्क गरिएपछि जिल्ला–नगरको उपाध्यक्ष र कोषाध्यक्ष एउटै उद्योग वाणिज्य संघलाई नदिएर फरकलाई दिनुपर्छ भन्ने मत बलियो हुँदा लमजुङका मृगेन्द्र उपाध्यक्ष चयन भए ।

बैठकले सो निर्णय गरे पनि भित्री कुरा चाहिँ अर्कै भएको महासंघ गण्डकीका एक सदस्यको दाबी छ । खासमा नरेश सर्वसम्मत हुनुमा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र गण्डकीका संस्थापक अध्यक्ष संजिवबहादुर कोइरालाको ठूलो हात रहेको छ । चन्द्र ढकालको पहिलो रोजाइमा गृहजिल्ला बागलुङका नरेश हुँदा अब महासंघको नेतृत्व लिन आँटेका पोखराका अञ्जन श्रेष्ठले चाहिँ यो प्रक्रियामा हात नहालेको स्रोतको भनाइ छ । यद्यपि, प्रतिस्पर्धामा उत्रने क्रममा अञ्जनको आशिर्वादको लागि पहल चाहिँ गरिएको थियो । महासंघ गण्डकीमा संस्थापक अध्यक्ष संजिबबहादुर कोइरालाको प्रभाव बलियो छ । एसोसियट र बस्तुगत सदस्यहरुसहित जिल्ला नगरमा पनि बलियो पकड बनाएका संजिवले नै बागलुङका नरेशको पक्ष लिएपछि चुनावी परिणाम स्वतः नरेशको पोल्टामा जाने भएकाले पनि सहमति जुटेको पनि स्रोतको भनाइ छ ।

जिल्ला नगरतर्फ विमलप्रसाद रिमाल, रामकुमार श्रेष्ठ, दीपकप्रसाद सापकोटा, ठाकुर बी पौडेल र भिमाद हस्तबहादुर खड्काले उम्मेदवारी दर्ता गराएकोमा सबै निर्विरोध बने । उता, एसोसियट सदस्यमा रामचन्द्र रेग्मी स्वतः विजयी हुँदा वर्तमान सदस्य काशी गुरुङले चाहिँ उम्मेदवारी फिर्ता लिइन् । दुई सदस्य चाहिने एसोसियटमा एक पद खाली भएको छ भने बस्तुगत सदस्यमा हीरामणि पण्डित र चन्द्रकिशोर गौतम विजयी बनेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीमा जिल्ला नगरतर्फ २३,एसोसियटमा ५५ र बस्तुगततर्फ ६ जना सदस्य छन् । महासंघ गण्डकीको अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य रहने व्यवस्था छ । महासंघ प्रादेशिक संरचनामा गएपछि यो नै निजी क्षेत्रको प्रदेशमा सबैभन्दा ठूलो संगठन मानिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->