सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

म्याग्दीमा आर्थिक गणनाको तयारी

म्याग्दीमा आर्थिक गणनाको तयारी


  • अमृत बास्कुने
  • चैत्र १८ २०८२, बुधबार

म्याग्दी/जिल्लामा आउँदो वैशाख २ गतेदेखि आर्थिक गणना सुरु हुने भएको छ ।

जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गरेर मंगलबार बेनीबजारमा आयोजना गरिएको जिल्लास्तरीय अन्तरक्रिया तथा सचेतना गोष्ठीमा आउँदो २ गतेदेखि आर्थिक गणना गरिने जानकारी गराईएको हो ।

उक्त गणनामा आर्थिक क्रियाकलाप हुने सबै प्रकारका ब्यवसाय तथा सेवाहरूको आधारभूत विवरणहरू संकलन गरी विश्लेषणसहित प्रकाशन गरिने भएकाले सबै पक्षको सहयोग आवश्यक रहेको बताइएको थियो ।

आर्थिक गणना विषयक अन्तरक्रियामा म्याग्दीका राजनीतिक दलका प्रमुखहरु, जनप्रतिनिधि, सरकारी निकायका प्रमुख, उद्योगी तथा ब्यापारी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा आर्थिक गणनाले अर्थतन्त्रलाई व्यवस्थापन गर्न सहज बनाउने विश्वास म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले ब्यक्त गरेका थिए ।

आर्थिक गणना अधिकारी घनश्याम सापकोटाले कार्यक्रम सञ्चालन गर्दै उद्देश्य माथि प्रकाश पार्दै गणना विधि र प्रक्रियाका बारेमा जानकारी गराएका थिए । आर्थिक गणनाले अर्थतन्त्रलाई सघाउने भएकाले सबै सरोकारवालाहरुले बास्तविक विवरण उपलब्ध गराउन आवश्यक रहने बताइएको थियो ।

पहिलो आर्थिक गणना २०७५ पछि अहिलेको अवस्थासम्म आर्थिक गतिविधिमा भएको प्रगति, चुनौतिहरुको समेत पहिचान हुने र समस्या भए समाधानमा समेत सहज बनाउने विश्वास गरिएको प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले बताए । जिल्ला समन्वय अधिकारी निलकण्ठ शर्माले गणनाले राज्यको वास्तविक गार्हस्थ उत्पादन पत्ता लगाउन सघाउने बताए ।

हिमाली जिल्ला म्याग्दीमा १९ जना गणक र ३ जना सुपरभाइजरले जिल्लाभर १५ खण्डमा विभाजित प्रश्नावलीबाट तथ्याङक संकलन गर्नेछन् ।

आर्थिक गणना २०७५ मा लिइएको तथ्यांकमा म्याग्दीमा ५ हजार ६३ दर्ता भएका फर्म तथा प्रतिष्ठानमा १६ हजार ६ सय ५२ जना संलग्न रहेको थियो । आर्थिक गणनाले व्यवसाय, कृषि उत्पादन, आय तथा व्यय र आंशिक तथा दिर्घकालिन रोजगारीका बारेमा हालको अवस्थालाई तथ्यांकले देखाउने छ । आर्थिक गणनाले पछिल्लो तथ्यांक देखिने र त्यसले आगामी योजना बनाएर अगाडी बढ्न राज्यलाई सहज हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->