पोखरा/नेपाली नयाँ वर्षको अवसरमा पोखराको फेवातालमा २१ औं संस्करणको फेवा महोत्सव चैत २९ देखी हुने भएको छ । होटल संघ पोखराको आयोजनामा हुँदै आइरहेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखराको खहरेचोकदेखि सहिदचोक बिचको सडमा महोत्सव सञ्चालन हुनेछ । पर्यटन, संस्कृति र खानालाई महत्व दिएर महोत्सवको आयोजना गर्न लागिएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताएका छन् ।
महोत्सवबारेमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुवेदीले पोखरामा पर्यटकहरुको बसाइ लम्बाउनका लागि महोत्सवले भूमिका खेल्ने बताए । ‘पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको र पोखरासम्म जोड्ने पृथ्वीराजमार्गको स्तरोन्नती पनि करिब सकिएकाले पोखरा आउने पाहुनालाई अहिले सहज छ’ सुवेदीले भने, ‘यस पटक पोखरामा अधिक पर्यटक आउने हामीले अपेक्षा गरेका छौं ।’
मध्यपूर्वमा जारी तनावका कारण युरोपतर्फबाट पर्यटक आउन कम भएपनि युद्धको अन्त्य भइ पर्यटनमा सकरात्मक प्रधाव पर्ने विश्वास आफुहरुले लिएको उनले बताए ।
आगामी २९ गतेदेखी बैशाख १ गतेसम्म हुने महोत्सव सडकमै हुनेछ । महोत्सवलाई आकर्षण बनाउनका लागि परम्परागत पञ्चेबाजा प्रतियोगिता, पर्यटक दौडको समेत आयोजना गरिएको छ । महोत्सवलाई सम्पन्न गर्नका लागि विभिन्न २० वटा उपसमिति गठन गरिएको होटल संघले जनाएको छ ।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि, सह प्रायोजकमा म्याक्स टाइगर र एक्सट्रिम इनर्जी ड्रिंक रहेको छ । प्रायोजकहरुमा अन्नपूर्ण केवलकार लिमिटेड, इसेवा, युनाइटेड वाइनरी प्रालि रहेको छ ।
महोत्सवको अवसरमा होटल संघमा आबद्ध होटलहरुले २५ प्रतिशत छुट पाउनेछन् भने इसेवाबाट होटल बुक गरेमा १० प्रतिशत क्यासब्याक पाउनेछन् । महोत्सवमा सांस्कृतिक कार्यक्रमसंगै, विभिन्न परिकारका खानाका स्वाद र मनोरञ्जनात्मक गतिविधिहरुको अवलोकन गर्न सकिनेछ ।





