शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरला नाका संचालन गण्डकीको विकासको आधार : ढकाल

कोरला नाका संचालन गण्डकीको विकासको आधार : ढकाल


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०८२, शनिबार

बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरला नाका संचालन गण्डकी प्रदेशको विकासको पहिलो ढोका भएको बताएका छन् । उनले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको खाका कोरिएकोले अब कोरलाबाट आयात निर्यातको काम थाल्दा गण्डकी प्रदेश समृद्द बन्न बताए ।

उनले यो वास्तविकताको अध्ययन गरेर नेपाली पत्रकारिताले उजागर गर्न सुझाव पनि दिए । नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको ‘बागलुङ मिडिया मेला २०८२’ को अवसरमा आयोजित ‘बागलुङको भविष्यः कृषि उद्यम की पर्यटन’ शिर्षकको बहसमा उनले पत्रकारिताले देखाएको क्षेत्रमा राज्यले उचित नीति बनाएर विकास गर्न सकिने बताए । कतिपय विषय उठेको, तर ठोस रुपमा राज्यको ध्यान जाने गरी आवाज आइनसकेकोले समृद्द गण्डकीका लागि पत्रकारिताले संयुक्त आवाज उठाउनुपर्ने बताए ।

पत्रकारिताले देशको बिकासका संभावना देखाइदिनुपर्ने पनि उनको भनाइ छ । त्यसमा उद्योगी व्वसायीले लगानी गर्ने वातावरण राज्यको भएको उनको धारणा छ । उद्योगीले लगानी बढाउन खोजेपनि स्थानीयको चासो र राज्यको सुरक्षा ग्यारेन्टी आवस्यक भएको उनले बताए । उनले व्यवसायीको मात्र लगानी खोज्नेभन्दा स्थानीयको लगानीमा व्यवसायीले थप गर्ने पद्दती विकास गरेमा ग्रामीण क्षेत्रमा उत्पादन बढ्ने, बजारीकरण गर्न सकिने र युवा पलायन रोकिने बताए ।

मेलामा गिद्देप्रेसदेखि एआईसम्म, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अधिकारकी जिम्मेवारी, न्यु मिडिया नाम पनि दाम पनि जस्ता शिर्षकमा बहस गरिएको थियो । पत्रकार महासंघका पुर्व अध्यक्ष दिल शिरिष, पत्रकार दिलीप पौडेल, प्रकटकुमार शिसिर लगायतले कार्यक्रम सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले अबको पत्रकारिता सामाजिक संजालको विषय लेख्ने नभइ, पत्रकारको समाचार सामाजिक संजालको कन्टेन्ट बन्नुपर्ने बताए । पत्रकारलाई निर्भिक भएर रिर्पोटिङ गर्ने वातावरण चाहिएको उनको भनाइ छ । त्यसका लागि आर्थिक रुपमा सक्षम, सामाजिक रुपमा निर्भिक र परिपक्व पत्रकारिता अबको आवस्यकता उनले औल्याए ।

प्रेस काउन्सिलका सदस्य केशव शरण लामिछानेले पत्रकारिता सत्य तथ्यमा केन्द्रीत बन्नुपर्ने बताए । पत्रकारलाई कारवाही गर्ने भन्दा पुरस्कार दिने अवस्था आउनुपर्ने उनको भनाइ छ । काउन्सिलले नैतिक रुपमा सचेत बनाउने काम मात्र भएको भन्दै पत्रकार कारवाही गर्ने ठाउँमा पुग्न नहुने बताए । त्यसका लागि जिम्मेवार पत्रकारिता आवस्यक भएको बताए ।

पत्रकार बिमल गौतमले पत्रकारिता अब परम्परागत शैलीले टिक्न नसक्ने बताए । समाज डिजिटल युगमा आएकोले पत्रकार पनि डिजिटल माध्यमबाटै चल्न नसके पत्रकार र पत्रकारिता मर्ने उनको दाबी छ । ‘जसरी राजनीति कता जाँदैछ भनेर नबुझ्दा पुराना दलमा सुनामी आयो, समय बुझ्न नसके पत्रकारितामा पनि बाढी आउनेछ ।’ उनले अबको पत्रकारिताको सुनाामी पत्रकारबाटै आउने उनले बताए ।

अर्का पत्रकार एकराज पाठकले भने पत्रकारितालाई दिगो रुपमा संचालन गर्नका लागि खोजी पत्रकारिता, फिल्ड रिर्पोटिङ गर्न सक्नुपर्ने बताए । उनले हरेक पत्रपत्रिकादेखि अन्य संचार माध्यमहरुले डिजिटल विधि पनि उपयोग गर्दा दिगो बन्न सक्ने बताए । ‘कपि पेस्ट, अर्काको समाचार ल्याएर बाइलाइन बनाउने प्रवृत्ति भने अन्त्य गर्न जरुरी छ’ पाठकले भने, ‘आफ्नो धर्म र आफ्नोपन नियमित बनाउन सके पत्रकारितामा ठूलो असर पर्दैन ।’

गण्डकी प्रदेशका सदस्य डिल्लीराम सुवेदीले प्रदेश सरकार लगानी मैत्री नीति बनाउन चाहेको भन्दै त्यसमा पत्रकारिताले पनि आवस्यकता औल्याउनुपर्ने बताए ।

मिडिया मेलामा चर्चित कन्टेन क्रियटर बर्षा बस्नेत, सोलो ट्राभलर सिर्जना सिज्जु, सफ्टवेयर आर्किटिक चिराग थापा र बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले पनि पत्रकारिता विश्वसनीय र अनुसन्धानमुलक बन्नुपर्ने बेला आएको बताए ।

मिडिया मेलामा फोटो पर्दशनी, परम्परागत मिडिया सामाग्री प्रर्दशनी, भित्तेपत्रिका लेखन प्रतियोगिता लगायतका क्रियाकलाप पनि समावेश छन् । मेला गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरेका थिए । शनिबारसम्म चल्ने मेलामा महासंघका पुर्व अध्यष धर्मेन्द्र झा, पत्रकार दिपक सापकोटा, अन्टारटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, गायक बसन्त थापा, अभियानकर्मी आरके अदिप्त गिरी, योजनाविद विजयराज पन्त समेत सहभागि भएको महासंघका अध्यक्ष राम थापाले बताए । मेलामा महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झाले लेखेको मैथिली भाषाको पुस्तक ‘जगन्मुक्ति’ विमोचन समेत गरियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->