पोखरा /गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा अन्तर्गतका निलम्बित लेखा अधिकृत (आठौँ तह) झलक शर्मा पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा २ करोड ५८ लाख ६४ हजार ३२४ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध सोमबार उक्त रकम विगो, कैद र जरीवाना तथा स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबी गर्दै साेमबार मुद्दा दायर गरेको हो । पौडेलले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति तहगत रुपमा विभिन्न माध्यमबाट शुद्धीकरण गरेको भन्दै अख्तियारले पौडेलपत्नी हुमाकुमारी उपाध्याय तथा आफन्तहरू जमुनाकुमारी रोका क्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेलविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
हुमाकुमारीलाई २ करोड २३ लाख, जमुनाकुमारीलाई १ करोड ६३ लाख ६ हजार तथा हरिप्रसाद र शान्ति दराईविरुद्ध एकमुष्ट १ करोड ३८ लाख बिगो कायम गरी मुख्य प्रतिवादीलाई हुने सजायको आधा मागदाबी गरी अख्तियारले मुद्दा दायर गरेको हो ।
पौडेलविरुद्ध अख्तियारले गत असारमा ६ करोड २६ लाख ९३ हजार १ सय २९ रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्धापछि पौडेल निलम्बनमा परेका थिए ।
पौडेलले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिमध्ये निज र निजको श्रीमती हुमाकुमारी उपाध्यायको नाममा बैंक तथा सहकारी संस्थामा मुद्दती निक्षेप तथा निक्षेप खातामा रहेको रकम २ करोड ५१ लाख ३४ हजार ४६२ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको देखिएको, पौडेलले आफूले गैरकानुनी सम्पत्तिको स्रोत लुकाउने, छल्ने उद्देश्यले सम्पत्तिको स्रोत पुष्टि गर्ने प्रयोजनका लागि कुनै पनि ऋण सापटी नलिई ऋण सापटी लिएको र सोही बमोजिम कागजात तयार गरी विभिन्न व्यक्तिहरूलाई ऋण सापटी फिर्ता गरेको भनी बैंक तथा वित्तीय संस्थाबाट कारोबार गरेको देखिए पनि निजले फिर्ता गरेको भनी दाबी गरेको विभिन्न तहको कारोबारहरूको जालोमार्फत सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, कारोवार लुकाउने, छल्ने, बदल्ने समेतका कार्य गरे÷गराएको हुँदा पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।





