पोखरा/ १४औं राष्ट्रिय हेमजा आलु महोत्सव यही चैत २७ गतेदेखि आगामी बैशाख ५ गतेसम्म हुने भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नारासाथ महोत्सव हुन लागेको हो । आयोजक विष्णु पादुका क्लब पोखरा–२५ हेमजाले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी गराएको हो ।
क्लबका अध्यक्ष एवं महोत्सव मुल आयोजक कमिटिका अध्यक्ष बसन्तकुमार श्रेष्ठले हेमजालाई समग्र रुपमा आर्थिक तथा सामाजिक उत्पादनका लागि कृषि, पर्यटन, सांस्कृतिक, व्यापार, खेलकुद, धार्मिक तथा अन्य क्षेत्रको रुपमा विकास गर्दै कृषि क्षेत्रको रुपमा परिचित गराउने उद्देश्यले महोत्सवको आयोजना गरिदै आएको बताए । यसैगरी हेमजालाई व्यवसायिक कृषि पर्यटनको रुपमा देश विदेशमा चिनाउने, सामाजिक एकताका साथै कृषकलाई कृषि व्यवसायमा आकर्षित गराउने महोत्सवको लक्ष्य छ । साथै आधुनिक कृषि व्यवसायबाट यस क्षेत्रलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने, राष्ट्रको एउटा सक्षम, सबल र योग्य ठाउँको रुपमा विकास गरी राज्यको आर्थिक वृद्धिमा अग्रसर गराउँदै कृषि राजधानीको रुपमा हेमजालाई स्थापित गराउने लक्ष्य पनि रहेको उनले सुनाए ।
महोत्सवमा हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत प्रदर्शन तथा प्रचारप्रसार गर्ने, क्लब भवन निर्माणका साथै तरकारी सङ्कलन तथा विक्रि वितरण केन्द्र निर्माण गर्ने, विष्णुपादुका वहुउद्देश्यीय भवन निर्माण सम्पन्न गर्ने उद्देश्य महोत्सवको छ ।
आलुको पहाड निर्माण, आलुको विभिन्न परिकारहरु बनाउने, किसानका लागि माटो, वोट विरुवा, परिक्षण तथा रोग निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, चर्चित कलाकारहरुको प्रस्तुती, कृषि झाँकी प्रतियोगिता, विभिन्न कृषि उपज विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी महोत्सवका आकर्षण रहने छन् ।
सामुन्द्रिक सतह देखि १०८९ मिटरको उचाईमा अवस्थित हेमजामा २०७८ को जनगणना अनुसार ३५१७ घरसंख्या छन । २२ हजार ५३२ जनसंख्या छ । हेमजाको कुल क्षेत्रफल १३ हजार ५०० हेक्टर रहेको छ भने ५४० हेक्टरमा आलु खेती गरिन्छ । २००० घरपरिवार कृषिमा आधारित छन् भने १०५० कृषकले व्यवसायिक आलु खेती गर्ने क्लब अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार प्रतिरोपनी औसत उत्पादन लागत १८५९७.४७ रुपैयाँ र उत्पादन ७९५. २८ के.जी. रहेको छ । आलुसंगै काउली, गोलभेंडा, च्याऊ, धान, बन्दा साथै अन्य कृषिजन्य उत्पादनहरु हेमजाका मुख्य कृषि उपजहरु हुन् ।
पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष मोती तिम्सिनाले हेमजाको २२ प्रतिशत जग्गा कृषियोग्य रहेको बताए । उक्त जग्गाको संरक्षण आवस्यक रहेको भन्दै उनले आलु महोत्सवलाई महानगरको नीति तथा कार्यक्रममा समावेश गरिएको जनाए । ‘महोत्सव हेमजाको मात्र नभई समग्र पोखराको हो’, उनले भने, ‘यसले कृषि पर्यटन हब बनाउन मद्धत गरेको छ ।’अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव दीपक थापा र स्वागत सचिव विपिन पौडेलले गरेका थिए ।





