लमजुङ/ जिल्लाको क्व्होलासोथार गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिकसम्म सम्पन्न विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारिताबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहीबीच प्रत्यक्ष अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाले सञ्चालन गरेका योजना, कार्यक्रम, बजेट कार्यान्वयन तथा सेवा प्रवाहबारे प्रमुख प्रशासकीय अधिकृत वाग्लेले जानकारी गराएका थिए । उनले नीति तथा कार्यक्रम र दोस्रो चौमासिकसम्मको प्रगति विवरण प्रस्तुत गर्दै सेवा सुधारका प्रयासबारे जानकारी गराएका थिए ।
कार्यक्रममा सेवाग्राहीले आयोजनाको गुणस्तर, ढुंगा गिटी बालुवाको व्यवस्थापन, शिक्षक अभाव, योजनामा बजेट अपुगलगायत विषयमा गुनासो गरेका थिए । यस्तै, विकास निर्माण, सेवा प्रवाह, पारदर्शिता तथा पहुँचका विषयमा जिज्ञासा राखेका थिए । सम्बन्धित जिम्मेवार पदाधिकारीहरुले ती जिज्ञासाको प्रत्यक्ष जवाफ दिएका थिए । गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ र प्रमुख प्रशासकीय अधिकृत वाग्लेले सेवाग्राहीका गुनासालाई सम्बोधन गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष गमीमाया गुरुङले न्यायिक समितिले गर्दै आएका कार्यबारे जानकारी गराउँदै नागरिकका गुनासा समाधानमा प्रतिबद्ध रहेको बताइन् । कार्यक्रममा वडा नं. २ का अध्यक्ष खुशीमान गुरुङ, वडा नं. ३ का अध्यक्ष आसबीर गुरुङ, वडा नं. ५ का अध्यक्ष गीतबहादुर गुरुङ, वडा नं. ७ का अध्यक्ष लक्षुमन गुरुङ, वडा नं. ८ का अध्यक्ष सन्तोष घले, वडा नं. ९ का अध्यक्ष हुमराज गुरुङ, कार्यपालिका सदस्यहरु केशकुमारी गुरुङ, हेमन्ता गुरुङ, पुष्पा सुनार साथै वडा सदस्यहरुको उपस्थिति थियो ।
कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका गाउँपालिका सभापति पसबहादुर गुरुङले मन्तव्य राख्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेस वडा समिति सभापति मनबहादुर गुरुङ, नेकपा एमाले वडा कमिटी अध्यक्ष लालबहादुर क्षेत्री, आमा समूह अध्यक्ष मीना गुरुङलगायतको समेत उपस्थिति थियो ।
गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गमीमाया गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सहजीकरण लमजुङ मिडिया हाउसका तर्फबाट पत्रकार आशबहादुर गुरुङ र अनुज अधिकारीले गरेका थिए ।





